site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका अस्पतालमा घट्यो संक्रमितको चाप
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोना संक्रमितको चाप चरणबद्ध रुपमा घट्दै गएको छ । क्षमताभन्दा बढी संक्रमितको उपचार गर्दै आएका अस्पतालहरुका शय्या खाली हुन थालेका हुन् ।

काठमाडौंका अधिकांश अस्पतालहरु तीन साताअघि संक्रमितले भरिभराउ थिए । अहिले चरणबद्ध रुपमा सामान्य अवस्थामा फर्किएको अस्पताल व्यवस्थापक र स्थानीय तहले जनाएका छन् ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागका अनुसार अक्सिजनको चरम अभावले गएको वैशाख २८ गतेदेखि अस्पतालहरु उपचार गर्न नसक्ने अवस्थामा पुगेका थिए । विस्तारै स्थानीय तहले आइसोलेसनको व्यवस्था, अस्पताललाई सहयोग, परीक्षणको दायरा बढाउँदा र खोपको पहल गरिँदा सहज हुँदै आएको छ ।

KFC Island Ad
NIC Asia

काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार अहिले अस्पतालहरुमा संक्रमितको संख्या चरणबद्ध रुपमा घट्दै आएको छ । विभागको तथ्यांकानुसार विभिन्न कोभिड अस्पतालहरुमा जम्मा ४२६ जना मात्रै उपचाररत छन् । २५ एचडीयू, २८६ अक्सिजनसहित र २६३ साधारण गरी काठमाडौं महानगरको सञ्जालमा ५७४ आइसोलेसन बेड सञ्चालनमा छन् । संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरु थाम्नै नसक्ने अवस्थामा पुगेका थिए ।

प्रमुख कुँवर अहिले नेपाल सरकार, स्थानीय तह, प्रशासन, अस्पताल संक्रमण रोक्न लागिपरेकाले संक्रमणदर घट्दै गएको बताउँछन् । ‘‘अहिले काठमाडौंका कोभिड अस्पताल थप संक्रमितको भर्ना लिन सक्ने अवस्थामा पुगेका छन् । तीन साताअघि काठमाडौंका अस्पतालहरुमा बाहिरै उपचार गर्नुपर्ने अवस्था थियो । अहिले त्यस्तो अवस्था छैन,” प्रमुख कुँवरले भने, ‘‘काठमाडौं महानगरसँगै संघीय संसद्, प्रदेशसभा सदस्य तथा सहगोगी र दाताहरुको सहयोगबाट वडाहरुले संयुक्त तथा एकल व्यवस्थापनमा कोभिड परीक्षण, आइसोलेसन सेन्टर, कोभिड विशेष अस्पताल सञ्चालनमा आएका छन् । यसले काठमाडौंका अस्पतालहरुको संक्रमितको चाप घटाउन मद्दत गरिरहेको छ ।”

Royal Enfield Island Ad

महानगरपालिकालाई विभिन्न विदेशी नगरपालिका, दातृनिकाय संघ–संस्थाहरुले सहयोग गर्दै आएका छन् । अक्सिजनको चरम अभाव भएको भन्दै केही साताअघि निजी र सरकारी अस्पतालहरुले समेत थप संक्रमित भर्ना लिन नसकिने अवस्थामा पुगेको भन्दै पत्राचार गरेका थिए । त्यसपछि उपत्यका मेयर फोरमको ध्यान अक्सिजन उत्पादनमा गएको थियो ।

अक्सिजनको चरम अभावका कारण उत्पन्न असहज अवस्थालाई सहज बनाउन काठमाडौं महानगरले ३०९ बेडको आइसोलेसन र विशेष अस्पताल सञ्चालनमा ल्यायो । महानगरपालिकाको आर्थिक सहयोगमा सामाखुसीस्थित राधास्वामी सत्संग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ बेडको कोभिड–१९ आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्चालनमा ल्याइएको छ ।

महानगरले नरदेवी आयुर्वेद अस्पतालमा एचडीयूसहित ५० बेडको आइसोलेसन र छत्रपाटी निःशुल्क चिकित्सालयमा एचडीयू, आईसीयू र भेन्टिलेटरसहित ३५ बेडको कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा ल्याइसकेको छ ।

संक्रमितको संख्या बढेका बेलामा उपत्यका मेयर फोरमले अक्सिजन उपलब्ध, आइसोलेसन सेन्टर र आकस्मिक सेवा प्रदान गर्न माग गरेको थियो । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेअनुसारको स्वास्थ्य सामग्री स्थानीय तहलाई उपलब्ध गराउन सकेन ।

त्यसपछि मेयर फोरमले आफ्नै लागत र विभिन्न दातृनिकाय, अस्पतालहरुको सहयोगमा संक्रमण रोकथाम र संक्रमितको उपचार गर्न लागि प¥यो । आफैँ स्थानीय तहको लागतमा अक्सिजन प्लान्ट निर्माण गर्नतिर लम्कियो ।

शारदा सेकेन्डरी स्कुल, तिलगंगा, रत्नराज्य स्कुल, बानेश्वर, जैन भवन र अग्रवाल भवन कमलपोखरी, राधास्वामी आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, निःशुल्क कोभिड आइसोलेसन, गौशाला, क्याम्पेन कलेज, गहनापोखरी, वडा नम्बर–३० आइसोलेसन सेन्टर, बुद्धमाइ हस्पिटल, टेकु, कोभिड आइसोलेसन सेन्टर, गोर्खा अस्पताल, आनन्दकुटी विद्यापीठ, स्वयम्भू, शान्ति निकुञ्ज, भीमसेनस्थान, नरदेवी आयुर्वेदिक अस्पताल, नरदेवी टेवहाल, संकटामा चरणबद्ध रुपमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्यायो ।

यीमध्ये राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर र नरदेवी आयुर्वेदिक अस्पतालका आइसोलेसन महानगरको सहयोगमा सञ्चालन भएका हुन् । यी आइसोलेसनका अतिरिक्त महानगरले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विशेष कोभिड अस्पतालका रुपमा सञ्चालन गरिसकेको छ ।

टेकु अस्पताललगायत उपत्यकाका अधिकांश अस्पतालहरुमा संक्रमितको चाप  झन्डै आधाभन्दा कम भएको छ । टेकु अस्पतालका अनुसार अहिले करिब ७५ जना संक्रमितको उपचार भइरहेको छ । उपत्यकामा संक्रमण उच्च विन्दुमा पुग्दा टेकु अस्पतालमा एकसाथ १३० जना बढी संक्रमितको उपचार भएको थियो । टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार तीन हप्ताअगाडि वार्ड पनि आईसीयू जस्ता भएका थिए । इमरजेन्सी वार्डमा ६० भन्दा बढी जनाको उपचार गरिन्थ्यो । अहिले इमरजेन्सी वार्डमा दुई–तीनजना संक्रमित छन् ।

“अहिले अस्पताल भर्ना हुने संक्रमितको संख्या निकै कम भएको छ,” उनले भने, ‘‘अहिले दैनिक १० जनाभन्दा कम बिरामी भर्ना भइरहेका छन् । पहिले बिरामीलाई २० लिटरको हाराहारीमा अक्सिजन दिनुपर्थ्यो भने अहिले दुई–चार लिटर दिए पुग्छ ।”

यस्तै, वार्डमा रहेका कतिपय बिरामीलाई त अक्सिजन नै दिनु नपरेको अस्पतालको भनाइ छ । पछिल्लो अवस्थामा उपत्यकाका अधिकांश अस्पतालहरुमा संक्रमितको चाप घट्दै गएको छ । अक्सिजन लगाउनुपर्ने बिरामीका लागि शय्याहरुको अभाव नभएको अस्पतालहरुले जनाएका छन् ।

भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकाका अस्पतालहरुमा पनि अस्पतालका शय्या खाली हुन थालेका छन् । मध्यपुर थिमि नगरपालिकाका मेयर सुनील प्रजापतिका अनुसार पहिले अक्सिजनको अभावमा संक्रमितको उपचार गर्न हम्मे–हम्मे परेको थियो । ‘‘नगरपालिकाका कर्मचारीहरु रातभर बसेर अक्सिजन व्यवस्थापन गर्ने काम हुँदै आएको थियो । त्यस्तो सास्तीकै बीच हामीले आफैँ अक्सिजन प्लान निर्माण गर्ने निर्यण गर्‍यौँ । सहयोगी दाताहरुलाई सहयोगको गुहार पनि माग्यौँ,” उनले भने ।

अक्सिजन प्लान्ट स्थापना गर्न अहिलेसम्म पाँच करोड रुपैयाँ सहयोग संकलन भएको मेयर प्रजापतिको भनाइ छ । नगरपालिकाले वैशाख १७ गतेदेखि ५० शय्याको आइसोलेसन र २५ शय्याको एचडीयू सञ्चालनमा ल्याएको छ ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले अहिले पहिलेको अवस्था नरहेको जानकारी दिइन् । ‘‘अहिले चरणबद्ध तरिकाले सहजता प्रदान हुँदै आएको छ । अस्पतालको आईसीयूमा ६, भेन्टिलेटरमा दुई, एचडीयूमा १०, जनरल वार्डमा १९ गरी ३७ संक्रमितको उपचार भइरहेको छ । संक्रमितको संख्या बढ्दै जाँदा आकस्मिक कक्षलाई समेत कोभिड वार्डमा रुपान्तरण गरी उपचार गरेका थियौँ,” उनले भनिन, ‘‘हाल १४० जनासम्म संक्रमितलाई भर्ना गरेर उपचार गर्न सकिने क्षमता रहेको छ ।”

ललितपुर महानगरपालिकाले कोरोना महामारीविरुद्ध लड्न उदाहरणीय काम गर्दै हाएको छ । कोरोना प्रभावित नागरिकलाई आर्थिक सहयोग गर्ने भएको छ । कोभिड संक्रमित भई उपचारको क्रममा निधन भएका व्यक्तिका परिवारलाई महानगरले एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

यस्तै, आईसीयू तथा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई ५० हजार र अस्पताल भर्ना भएर कोभिड जितेका प्रत्येकलाई २५ हजार रुपैयाँ दिइने महानगरले जनाएको छ । यसैगरी, प्रत्येक वडामा पीसीआर र एन्टिजेन परीक्षणसमेत गर्ने महानगरले जनाएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार कोरोनाको दोस्रो भेरियन्ट सुरु भएपछिकालाई मात्रै यो सहयोग प्रदान गरिनेछ । ‘‘ललितपुरको सुनाकोठी वडा–२६ मा ५० शय्याको आइसोलेसन छ । ललितपुर महानगरपालिका र नेपाल युथ फाउन्डेसनको सहकार्यमा सञ्चालन भएको छ । संक्रमितको खाना, बन्दोबस्त फाउन्डेसनले नै गरेको छ,” मेयर महर्जनले भने, ‘‘यसको बजेट यति भन्ने हुँदैन, कोरोना कालभरि जति लाग्छ, सबै महानगरले व्यहोर्नेछ । त्यस्तै, वडा नम्बर–४, बागडोलस्थित ज्यापु समाजको भवनमा ११० शय्याको आइसोलेसन बनाइएको छ । यहाँ सुन्दर ढोका साथी समूहले खानाको व्यवस्थापन गरिरहेको छ । उक्त सबै खर्च महानगरले व्यहोर्नेछ ।”

यस्तै, अहिलेको अवस्थामा अस्पतालमा उपचार गर्न सहज भएको महानगरले जनाएको छ ।

हाल काठमाडौं उपत्यकामा २२ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यहाँ दैनिक एक हजारको हाराहारीमा संक्रमित थपिइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro