काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा पूर्वाधार निर्माण र ढुवानीमा लगाइएको प्रतिबन्ध हटाएर शुक्रबारदेखि सञ्चालन गर्न दिएर विकास निर्माणलाई प्राथमिकता दिएका छन् । १९ गते उपत्यकाका तीन ओटै जिल्ला प्रशासन कार्यालयले कोरोना महामारी नियन्त्रण बाहिर गएको निष्कर्ष निकाल्दै पूर्वाधार निर्माण र सवारी ढुवानीमा रोक लगाएका थिए । प्रशासनले एकसाता उपत्यकाको निषेधाज्ञामा खाद्यान्न पसलसहित पुर्वाधार विकासका काम पनि ठप्प पारेको थियो ।
नेपाल निर्माण व्यवसायी महासंघले उच्च सतर्कता अपनाएर कडा निषेधाज्ञाकैबीच साना परियोजनाको कामलाई निरन्तरता दिएपनि प्रभावित बनेको जनाएको छ । प्रशासनको कडा निषेधाज्ञाले ती साना परियोजना पनि प्रभावित भएका थिए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार दोस्रो लहरको कोरोना महामारीका कारण दुईसयभन्दा बढी योजनाहरू ठप्प भएका थिए । ‘‘अब प्रशासनले निर्माण व्यवसायलाई निरन्तरता दिन सहजीकरण गरिदिएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर काम अगाडि बढाउनछौँ,” उनले भने ।
सडक डिभिजन कार्यालय र काठमाडौं अन्तर्गतका निर्माणाधीन डेढ सय भन्दा धेरै योजनाहरू कडा निषेधाज्ञाकाबीच प्रभावित बनेका थिए । सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार जैशाख १६ गतेदेखिको निषेधाज्ञाकाबीच सडक कालोपत्रे, फुटपाथ निर्माण, रोड मार्किङ, सडक विस्तार मर्मत सम्भारका काम हुँदै आएका थिए । पछिल्लो साताको कडा निषेधाज्ञाकाबीच सबै ठप्प भएका थिए । यस्ता साना परियोजना पनि प्रभावित बन्न पुगे ।
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपाली प्रशासनले गत सातादेखि पूर्वाधार निर्माण कार्य ठप्प पार्दा र ढुवानी सामग्री ओसारप्रसारमा रोक लगाएकाले प्रभावित भएको बताए । उनले चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने भनिएका योजनाको काम प्रभावित भएको जानकारी दिए ।
‘‘प्रशासनको कडा निषेधाज्ञाबीच प्रायःजसो निर्माण भइरहेका योजनाहरू रोकिएका थिए । गत साताका कडा निषेधाज्ञाअघि सडक रङरोगन, जेब्राक्रसिङ लगायतका काम गरेका थियौँ । पछिल्लो साताको कडा निषेधाज्ञामा भने ती काम पनि रोकिएका थिए,” नेपालीले भने, ‘‘रोड मार्किङ, फुटपाथ निर्माण लगायतका काम गरिरहेका थियौँ । सडक डिभिजन कार्यालय अन्तर्गतका डेढ अर्ब रुपैयाँ भन्दा बढी निर्माणाधीन योजनाहरू रोकिएका थिए । अब चरणबद्ध रूपमा स्वास्थ्य मापदण्ड अपनाएर यी योजनाहरू अघि बढाउँछाैँ ।”
नयाँ बानेश्वरमा आकाशेपुल
निषेधाज्ञा कै बीच नयाँ बानेश्वरमा आकाशेपुलको काम अन्तिम चरणमा पुगेको छ । विगत तीन वर्षदेखि अलपत्र उक्त पुल जेठ महिनाभित्र तयार हुनेगरी काम भइरहेको प्रमुख नेपालीको भनाइ छ । निषेधाज्ञाकैबीच सडकमा सवारी चाप कम भएको बेलामा पुलको काम गर्न सहज भएकाले पुल निर्माणले तीव्र गति लिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर आजदेखि पुर्वाधार निर्माणका काम गर्न दिइएको छ । गत साताको कडा निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी प्रभावित पुर्वाधार निर्माणका योजना अघि बढाउने निष्कर्षमा पुगेको उनले जानकारी दिए ।
‘‘आजदेखि पूर्वाधार निर्माण व्यवसायीले कामदार राखेर काम अगाडि बढाउन पाउने छन् । जेठ १४ गतेदेखि पुर्वाधार निर्माण र ढुवानीका सामग्रीमा रोक लगाएका थियौँ । आजदेखि उपत्यकामा लागु भएको निषेधाज्ञामा भने मोडालिटी परिवर्तन गरी सहजीकरण गरेका छौँ,” प्रजिअ पराजुलीले भने, ‘‘स्वास्थ्य मापदण्ड पालना गरेर पुर्वाधार निर्माणका योजना अगाडि बढाउन सकिनेछ । पूर्वाधार निर्माणमा चाहिने ढुवानीका लागि भने बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्मको समय छुट्याइएको छ ।”
अनावश्यक निजी तथा सार्वजनिक सवारी साधनमा भने पहिलेकै अनुसार कडाइ गरिने प्रशासनले जनाएको छ ।