काठमाडौं । ‘‘निषेधाज्ञामा संक्रमणको जोखिम मोलेर गाडा नगुडाए गाँस चुडिन्छ,” ३७ वर्षिय राधिका भुजेलको यो जवाफपछि प्रहरीले एक पटकलाई सम्झाइ बुझाइ गरेर पठाइदियो । त्यसबेलादेखि दिउँसो र साँझ प्रहरीलाई छलेर उनी भित्री सडकका घरघरमा तरकारी पुर्याउँछिन् ।
आइतबार साँझको सयम । निषेधाज्ञाकैबीच बौद्ध जोरपाटीका भित्री सडकमा गाडामा तरकारी बेच्दै हिँडेकी महिला । अनुहार उदास र हतारिएका जस्ता देखिन्थ्यो । केही बेरमा केही मानिसहरू गाडामा तरकारी किन्न जम्मा भए ।
बौद्ध पिपलबोटमा बस्ने दोलखाकी राधिका बिहान पाँचै बजे उठ्छिन् । कालिमाटी तरकारी बजारसम्म हिँडेर जान लामो पर्ने भएकाले तरकारीको खोजीमा मुलपानी पुग्छिन् । हरियो सागसब्जी र तरकारी खरिद गर्छिन् । रित्तो ठेलागाडामा तरकारी लिएर बौद्धचोक तिर लाग्छिन् ।
उनलाई मुलपानीदेखि तरकारी लिएर बौद्ध चोक पुग्न करिब डेढ घण्टा लाग्छ । उनले तरकारी बेचेरै गुजारा चलाएको १० वर्ष भयो । पहिले–पहिले डोकोमा तरकारी ल्याएर बेच्ने उनले ठेला गाडा किनेर तरकारी बेच्न थालेको करिब २ वर्ष भयो ।
उनको काँधमा छोराछोरीको शिक्षा खर्चसहित लकडाउनको घरखर्च जुटाउने जिम्मेवारी छ । राधिका भन्छिन्, ‘‘कडा निषेधाज्ञाकैबीच महामारीको जोखिम मोलेर तरकारी बेच्न निस्कनु पर्छ । दैनिक पाँच ६ सयजति कमाउँछु । यसबाट पनि घरखर्च चलाउँन धौधौ पर्छ । बिहानको समयमा मात्रै तरकारी बेचेर सबै बिक्दैन । त्यसैले प्रहरीलाई छलेर दिउँसो र साँझ भित्री सडकमा तरकारीको गाडा गुडाउँदै हिड्ने गरेकी छु । आजको तरकारी भोलि बिहानसम्म ओइलाएर बिग्रिन थाल्छ ।”
यसअघि राधिकाका श्रीमान दैनिक ज्याला मजदुरीको काम गर्थे । निषेधाज्ञाले उनको रोजगारी गुम्यो । रोजगारी गुमेयता उनी घरमै छोराछोरीलाई हेरेर बस्छन् । राधिकाका श्रीमानको ढाड दुख्ने समस्या छ । त्यसैले पनि राधिकालाई निषेधाज्ञामा थप जिम्मेवारी थपिएको छ ।
१०वर्षअघि राधिका कामको खोजीमा काठमाडौंका सहर बजार डुल्ने गर्थिन् । तर राधिकाले कतै काम पाइनन् । पढेलेखेका लाखौँ युवायुवतीहरू बेरोजगार भएको देखेकी उनले आफू त झन् पढ्दै नपढेकाले काम नपाउनुलाई स्वभाविक मान्दै चित्त बुझाइन् ।
पछि घर खर्च जुटाउने र दैनिक गुजारा चलाउन तरकारी व्यापार गर्ने अवसर जुट्यो । त्यसैले उनी विगत १० वर्षदेखि यही पेसामा आवद्ध छिन् । एउटै चोकमा बसेर तरकारी बेचिरहँदा निषेधाज्ञा उल्लङघन गरेको भन्दै प्रहरीले धपाउन थालेपछि उनी भित्री सडकका चोक–चोकमा तरकारी पुर्याउँछिन् । राधिकाका एक छोरा र एक छोरी छन् । उनीहरूको शिक्षादिक्षा र पालनपोषण तरकारी बेचेकै रुपैयाँले धानिरहेको उनको भनाइ छ ।
काठमाडौं माकलबारीमा बस्ने सविना तामाङले बौद्ध जोरपाटीका सडक चोकमै तरकारी बेच्छिन् । यसैबाट उनको गुजारा चलेको छ । ८ वर्षअघि विदेशिएका श्रीमान् घर नफर्किएपछि दुई छोरा र एक छोरीको हुर्काउने जिम्मेवारी सविनाको काँधमा आयो । तरकारी व्यापारबाट आफूले दैनिक पाँच सयदेखि एक हजारसम्म कमाउने गरेको उनले बताइन् । माकलबारीमा बजार नपाइएपछि उनले बौद्धचोकमा ल्याएर तरकारी बेच्दै आएकी छन् । सिन्धुपाल्चोककी सविनालाई विदेशमा रहेका श्रीमान सम्पर्कविहीन भएपछि गाउँ फर्किन मन लागेन ।
उनले भनिन, ‘‘छोरो छोरीलाई पढाएर एसएलसी पास गर्नेसम्म त मैले दुख पाउने हो । त्यसपछि छोराछोरीले हेर्लान नि ! अहिले कोरोना महामारीको समय छ । कोरोनाको डर लाग्छ, निषेधाज्ञाको पालना गर्नुपर्छ भन्ने पनि थाहा छ । तर के गर्नु तरकारी बेच्न नसके पेट भोकै हुन्छ । अहिले छोराछोरीलाई पढाउँदै कोठाभाडा तिर्दै ठिक्क छ ।”
उनका छोराछोरी पनि हुर्किदैछन् । जेठी छोरी ९ कक्षामा, अर्की छोरी ७ कक्षामा र छोर ५ कक्षमा पढ्छन् ।
कोरोना कहरका कारण यसै त प्रताडित बनेका दैनिक ज्यालादारी गर्नेहरूलाई निरन्तरको निषेधाज्ञाले रोजगारविहीन बनाएको छ । कतिपय मजदुरले ठेलागाडा ठेला, रिक्सा, साइकल किनेर त्यसमार्फत घर–घरमा तरकारी पु¥याएर गुजारा चलाइरहेका छन् ।
जेठ २० गतेसम्मका लागि कडा निषेधाज्ञा जारी गरिएको छ । खाद्यान्न पसल पनि बन्द छन् । निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाखसम्म जरिबाना र एक वर्ष कैद सजाय गरिने प्रशासनको चेतावनी छ । प्रशासनले यतिखेर नागरिकलाई जथाभाबी बाहिर हिँडडुल गर्न दिएको छैन् । हरियो सागसब्जी लगायतका तरकारी विक्री वितरणका लागि बिहान ९ बजेसम्म खोल्न दिइएको छ ।
त्यही मौकामा ठेला व्यापारीहरू उपभोक्ताको घरघरमा तरकारी पुर्याइरहेका छन् । काठमाडौं उपत्यकामा गतवर्ष राहत वितरण गरिएपनि यसवर्ष भने सरकार मौन देखिएको छ । सरकारले राहत वितरणको सुरसार नगर्दा यसरी दैनिक प्रहरीबाट लुकेर तरकारी बेच्नुपरेको उनीहरूको गुनासो छ ।
राष्ट्रिय योजना आयोगको नेपाल बहुआयामिक गरिबी सूचकांक २०१८ अनुसार सहरी जनसंख्याको ७ र ग्रामीण जनसंख्याको ३३ प्रतिशत मानिस गरिबीको घेराभित्र छन् । निषेधाज्ञा खुलेपछि पनि नेपाल अझ थप गरिबीले पिल्सिने निश्चित छ ।
उपत्यका तीनओटै जिल्ला प्रशासन कार्यालयले जेठ २० गतेदेखि स्वास्थ्य मापदण्डमा कडाइ गरी केही सहज गरिने जनाइसकेका छन् । काठमडौं उपत्यकामा कोरोना संक्रमणदर घट्दै गएको भन्दै अबको निषेधाज्ञामा उपत्यकावासीको जीवनशैलीमा सहजता ल्याउन सकारात्मक रहेको प्रजिअहरूले बताइरहेका छन् ।