site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपतिमा घाटे बाहुनसँग एक साँझ...,  आखिर मर्ने हो सबै, पोल्ने यहीँ हो

काठमाडौँ । घुँडासम्म सेतो धोती बेरेको, माथि कालो टिसर्ट । चिउँडोमा मास्क । पशुपति घाट सेवा लेखेको ज्याकेट लगाएका ज्येष्ठ नागरिक । यो दृश्य हो, पशुपति आर्यघाटको । चिता नम्बर २ मा शव जलाउन व्यस्त छन्, विदुर अर्याल ।

निषेधाज्ञाले पूरै मुलुक ठप्पजस्तै भए पनि आर्यघाटका सबै चितामा शव जलिरहेका छन् । रातको ८ बजे पनि नयाँ शव आउने क्रम जारी छ ।

कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाएकाको शव विद्युतीय शवदाहगृहमा जलाउने गरिएको थियो । तर, मृतकको संख्या बढ्न थालेपछि वाग्मती किनारमा पनि शव जलाउन सुरु गरियो ।

उनी बेला–बेलामा बाँसले अगाडि जलिरहेको चितामा घोचिरहन्छन् । मिडियासँग खासै बोल्न रुचाउँदैनन् ।

६४ वर्षे विदुर करिब ३८ वर्षदेखि आर्यघाटमा शव पोल्ने घाटे बाहुनको काम गरिरहेका छन् । ६ वर्षको उमेरमा बुवा बितेपछि उनलाई आमाले हुर्काइन् । नवप्रकाश (अहिलेको तरुण मावि)मा ८ कक्षासम्म पढे ।

तत्कालीन सचिवले सो विद्यालयलाई १० कक्षासम्म बनाएर एसएलसी दिने व्यवस्था मिलाए । “तालमेल मिलाएर १० जनालाई एसएलसी दिन लगाए । तर, सबै फेल,” उनले हाँस्दै भने, “त्यसपछि बोर्ड नै खारेज भयो ।”

त्यसपछि उनी युवक स्कुलमा भर्ना भए । युवक विद्यालय टाढा पर्थ्यो । विद्यार्थीहरु गाँजा र चुरोट तान्थे । बल्ल–बल्ल गाविसको सिफारिसमा छात्रवृत्तिमा पढ्न पाएका उनीसँग फुर्मासी गर्ने खर्च हुन्थेन । फेरि, बालाजुका रैथाने उनी तरुणमा घरबाट खाना खाएर पढ्न जान सजिलो हुन्थ्यो । तर, युवकमा त्यो सम्भव भएन । अन्ततः तीन महिनापछि विद्यालय छाडे ।

पढाइ छाडेर १५ वर्षको कलिलो उमेरमा बालाजु औद्योगिक क्षेत्रमा काठ खारखानामा काठमा रङ लगाउने काम गर्न थाले । अरुले निर्देशन दिएको मन नपराउने उनको सुपरभाइजरसँगै ठाकठुक परिरहन्थ्यो । रिसको झोकमा काठले सुपरभाइजरको घुँडामा हानेर भागेको उनी अझै सम्झिन्छन् ।

काठखानामा साढे दुई वर्ष काम गरे । पाँच रुपैयाँ ज्यालाबाट काम सुरु गरेका उनले पछि महिनाको १५ रुपैयाँ कमाउँथे ।

पछि नेपाली सेनामा सिपाहीमा जागिरे भए । तर, त्यहाँ पनि हवल्दारसँग झगडा परिरहन्थ्यो । तलब पनि महिनामा ७५ रुपैयाँ मात्र । वैवाहिक जीवनमा प्रवेश गरिसकेका विदुरलाई परिवार पाल्न त्यति पैसाले पुग्दैनथ्यो । उनी भन्छन्, “छोरी बिरामी हुँदा औषधिमुलो गर्न पैसा नपुगेपछि त्यस्ता जागिर के खाने ? फेरि, हवल्दार झगडा गरिरहने, मेरो प्रमोसनको फाइल अड्काइराखेछ ।” साढे चार वर्षपछि उनले त्यो पनि छोडे ।

विदुर गफको सुरमा पनि आफ्नो काम गर्न भुल्दैनन् । चितामा बेला–बेलामा गई काठको धुलोजस्तो हालिरहन्छन् । यो पनि चाहिन्छ र ? भनेर पंक्तिकारले प्रश्न गर्दा उनले भने, “आजकालका केटाकेटीलाई केही थाहा छैन । यो सालधूप हो । सालको खोटोबाट बन्छ । यसले आगो दन्काउन मद्दत गर्छ । औषधिले गालेको रुग्न शरीर सजिलै जल्दैन । त्यसैले सालधूप हालिरहनुपर्छ ।”

विदुर चिता मात्र जलाउँदैनन्, पुरोहित नहुँदा दागबत्ती दिने चितामा संस्कृत मन्त्र पढ्ने काम पनि उनी गर्छन् । अहिलेसम्म कति लास जलाए, उनलाई थाहा छैन । “कहिले दिनमा तीनवटा हुन्छ भने कहिले तीन दिनमा एउटा पनि हुन्न,” उनले भने ।

चितामा जलाइरहेको शव देखिन्छ भनेर परालले छोपिन्छ । चिलाउनेलगायत सस्ता काठबाट जलाइन्छ । चिता जलेपछि सफा गरेर बाहुनले पिण्ड दिन्छन् ।

उनका अनुसार सयभन्दा बढी मलामी आउँछन् । कोही नाइके बन्न आउँछन्, कोही यसो गर, उसो गर भन्छन् । “कोही जाँड खाएर ओई बाहुन, तैँले के गरिस् ? भन्दै झगडा गर्न तम्सिन्छन् । कोसँग बोल्ने ? बल्नुपर्ने मान्छे र दाउरा हो,” दनदनी बलिरहेको चितातर्फ हेर्दै उनले भने ।

उनले शव जलाउने जागिर पत्नीको कारणले पाएका थिए । पत्नी पशुपति क्षेत्रको बारेमा जानकार थिइन् । सेनाबाट बाहिरिएपछि भौँतारिँदै दिनभरि घाट वरिपरि हेरेर बस्थे, उनी ।

उति बेला घाटवारि काजकिरियाको लागि चाहिने सामानका पसल हुन्थे । उनले पनि घाटे बाहुनको रूपमा काम गर्न थाले । तीन दशकभन्दा लामो समयदेखि यो काम गरिरहेका उनलाई कहिलेसम्म गर्ने भन्ने थाहा छैन । घाटे बाहुनको जागिरमा पेन्सन पाक्दैन । न त मासिक तलब नै हुन्छ । पछिल्लो समय भने प्रतिचिता जलाएको दुई हजार रुपैयाँ पाउँछन्, उनी  ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव जलाउने जिम्मा नेपाली सेनाको हो, उनले गर्नु पर्दैन । परिवारले अब यो काम नगर्नु भने पनि उनी छोड्ने पक्षमा छैनन् । निषेधाज्ञा भए पनि आर्यघाटमा मलामीको भीड नै लागेको उनी बताउँछन् । न सामाजिक दूरीको ख्याल गरिएको छ न त मास्कको अनिवार्य प्रयोग ।

घाटमा कहिले दिउँसो त कहिले रातीको डिउटी पर्छ । खानाको व्यवस्था आफैँ गर्नुपर्छ । हप्तामा तीन रात बिताउनुपर्छ । एउटा चिता पूरा बल्न तीन घण्टा लाग्छ । समयमै खाना खान नपाउनु उनको लागि ठूलो समस्या होइन ।

पंक्तिकार पुग्दा उनी चिता नम्बर–२ उर्फ श्री ३ चितामा लास पोल्दै थिए । उनले सूर्यघाटतर्फ देखाउँदै भने, “बरु, राणाको बुद्धि थियो, ऊ त्यो श्री ५ एक नम्बरको चिता र यो श्री ३ । तलको सर्वसाधारणलाई । तर, नेताले केही बाँकी राखेनन् । डा. सुरेन्द्र केसीले भनेकै छन्, कुर्सी भए पुग्छ यिनीहरुलाई ।” वर्तमान राजनीतिप्रति उनले कटाक्ष गरे ।

बेला–बेलामा उनी काठ थप्छन् । बाँसले घोच्छन् । आगो बाल्न सालधूप चितामा छर्किरहन्छन् ।

राजा वीरेन्द्रको वंशनाश भएको दिन उनी डिउटीमै थिए । तर, लास जलाउन मनले मानेन, यत्तिकै पशुपति वरिपरि रुमलिएको उनी सुनाउँछन् । त्यो बेला राजपरिवारको शव १८ जनाले जलाउँदा प्रत्येकले १९/१९ हजार रुपैयाँ बाँडेर लिएको उनले सुनाए । रानी, राजकुमारीले लगाएका गरगहना सबै आर्यघाटमा फुकालिएको र त्यही सबैले बाँडीचुँडी लिएका थिए । प्रचण्डको छोरा र छोरीको चिता उनले जलाएका थिए ।

एउटा चिता जल्न करिब ३०० केजी काठ चाहिने उनी बताउँछन् । अहिले काठ टिम्बर कम्पनीबाट ल्याउने गरिन्छ ।

उनका अनुसार ०५४ सालदेखि मात्र घाटे बाहुनलाई पशुपति विकास कोषले ज्यालादारीमा राख्न सुरु गरेको थियो । अहिले २६ जना घाटे बाहुन छन् ।

उनलाई ठेकेदारले कति कमायो भनेर नसोध्ने तर श्रमिकले कति तलब पाउँछन् भनेर सोध्ने पत्रकार ठिक लाग्दैन । फुर्सदमा बाइकमा बाहिर जिल्ला घुम्न मन पराउँछन् । गत वर्ष लकडाउन खुलेपछि उनी तराई घुम्न गएका थिए ।

पहिलो लास जलाएको उनी स्मरण गर्न चाहँदैनन् । उनी खासै भावुक हुँदैनन् । “भावुक भएर के हुन्छ ? आखिर मर्ने हो सबै, यहीँ पोल्ने हो,” उनले भने ।

८८ वर्षको उमेरमा प्राण त्यागेकी आफ्नी आमाको चिता पनि उनले त्यहीँ जलाएका थिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro