काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । उपत्यकामा कोरोना संक्रमणदर घटाउन एक साता निषेधाज्ञा कायमै राख्ने तयारी भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै एकसाता निषेधाज्ञा लम्ब्याउने तयारी भएको बताउँछन् । ‘‘अहिले तत्काल निषेधाज्ञा खोल्ने परिस्थिति छैन । अझै पनि उपत्यकाको संक्रमणदर घटेको छैन । अब थपिने एक साताको निषेधाज्ञा झन कडा हुनेछ,” प्रजिअ पराजुलीले भने, ‘‘विहान तरकारी पसलहरुमा बढी भिडभाड देखिएको छ । यसलाई निषेधाज्ञामा कसरी व्यवस्थापन गरेर लैजाने भन्ने गृहकार्य गरिरहेका छाँैँ । विहान १० बजेसम्म खोलिएका खाद्यन्न पसलहरुमा कसरी भिडभाड कम गरी संक्रमण दर घटाउने भन्नेतिर प्रशासनको ध्यान गएको छ ।”
प्रजिअ पराजुलीका अनुसार बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालयहरुमा पनि अहिले भइरहेको उपस्थितिलाई न्यून गर्ने भन्नेबारे प्रशासनमा छलफल भइरहेको छ । ‘‘अब एकसाता लम्बिने निषेधाज्ञामा कसरी कडाइ गरेर संक्रमण दर रोक्ने भन्नेबारे छलफल हुनेछ । यसबारे विषयमा गृह मन्त्रालयमा छलफल हुनेछ,” प्रजिअ पराजुलीले भने, ‘‘त्यसपछि कति जनशक्तिको उपस्थितिमा यस्ता कार्यालयहरु सञ्चालन गर्ने भन्नेबारे उपत्यकाका तीनओटै जिल्ला प्रशासनले निर्णय गर्नेछन् । यतिमात्रै होइन अहिले त कोरोना संक्रमण तथा रोकथाम गर्न अध्यादेश पनि जारी भएको छ । अध्यादेश बमोजिम संक्रामक रोग नियन्त्रण गर्न भएका पहलकदमहरुलाई थप कडा पारिनेछ ।”
प्रजिअ पराजुलीका अनुसार अध्यादेशले कारबाही र जरिवानाको दायरा पनि बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार अहिले संक्रमितको उपचारको लागि उपचार सामग्रीको सहज आपूर्ति भइरहेको बेलामा निषेधाज्ञा थप्न जरुरी रहेको छ । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत पछिल्लो समय उपत्यकाको संक्रमणदर केहि घटेको देखिएको बताउँछन् । उनी संक्रमणदर घट्नुपर्नेजति नघटेकाले एक साता निषेधाज्ञा लम्ब्याउने गृहकार्यमा जुटेको बताउँछन् ।
‘‘काठमाडौं उपत्यकाको संक्रमणदर निषेधाज्ञामा कडाइ गरे बमोजिम घटेको छैन । यसैले पनि निषेधाज्ञा जारी राख्नुपर्ने अवस्था छ,” उनले भने, ‘‘जनस्तरबाट निषेधाज्ञाको पालना गरी अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किने हो भने संक्रमणदर छिट्टै घट्छ । विषेशगरी विहानको समयमा तरकारी किनबेच गर्दा बढी भिडभाड देखिएको छ । र, पछिल्लो समय सडकमा सवारी चाप पनि बढेको छ । विहानको भिडभाव, सवारी चाप र अनावश्यक भिडभाड कसरी व्यवस्थापन गरी संक्रमणदर घटाउने भनि तयारी थालेका छौँ । जनसंख्याको उच्च चाप भएको उपत्यकामा निषेधाज्ञामा अझ कडाइ गरिने योजना बनाएका छौँ ।”
यसअघि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा फितलो भएकाले राजधानीको संक्रमणदर नघटेको र निषेधाज्ञा कडाइ गर्न भन्दै सूचना जारी गरेको थियो ।
यसअघि तरकारी तथा खाद्यन्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए । काठमाडौं उपत्यकाको निषेधाज्ञाको समयावधी जेठ १३ गते सकिँदैछ ।