मुम्बई । अभिनेता सोनु सुद कोरोना महामारी सुरु भएसँगै सहयोगका लागि धेरैले सम्झिने नाम हो । आम श्रमिक जनतादेखि सोनुलाई सहयोगको लागि धेरैले अपिल गरिरहेका छन् ।
यस्तैमा सेनाका एक अधिकारीले पनि अभिनेता सुदसँग सहयोगको अपिल गरेका छन् । सेनाका कमान्डिङ्ग अफिसरले हालै अभिनेतालाई पत्र पठाएर यो महामारीमा मद्दत मागेका छन् ।
जैसलमेरमा खटिएका उक्त इन्फन्ट्री बटालियनका कमान्डिङ्ग अफिसर (सीओ)ले सोनुलाई १३ मे मा सहयोगका लागि अपिल गर्दै चिठ्ठि पठाएका छन् । उनले पत्रमार्फत मिलिट्री स्टेशनका लागि मेडिकल उपकरण किन्नमा सहयोग गरिदिन अफिल गरेका छन् ।
उनले पत्रमा उल्लेख गरेअनुसार जैसलमेरको मिलिट्री स्टेसनमा सेनाले २०० शैय्याको केयर सेन्टर स्थापन गर्न खोजिरहेका छन् । यस्तोमा अस्पतालका लागि आईसीयू बेड, अक्सिजन कन्सन्ट्रेटर, १० जम्बो अक्सिजन सिलिन्डर, एउटा एक्स–रे मेसिन र दुईवटा १५ केभिएका जेनरेटरको आवश्यकता पर्छ । यसकै लागि उनले सोनुसँग मद्दत मागेका हुन् ।
दिल्लीस्थित सैनिक मुख्यालयले सोनुलाई पठाएको यस पत्रको पुष्टि गरेको छ । साथै मुख्यालयले यो पत्र उत्साहमा लेखिएको भन्दै स्पष्टिकरण दिएको छ । जसका कारण सेनाका वरिष्ठ अधिकारीहरु सैनिक अधिकारीको यो कदमप्रति खुशी नभएको नवभारत टाइम्सले उल्लेख गरेको छ ।
यो पत्र सामाजिक सञ्जालमा पनि निकै भाइरल भएको छ । कतिले यसलाई नक्लीको भनिरहेका छन् भने कतिले सक्कली भनिरहेका छन् ।
नवभारत टाइम्स