site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पल्टनमा नगएका कार्की
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

२०७२ असारको पहिलो साता । एफएमको रेकर्डिङ स्टुडियो । भित्र थियौँ, वरिष्ठ चलचित्रकर्मी, साहित्यकार तथा लोकसंस्कृतिका मर्मज्ञ चेतन कार्की, म र रेकर्डिस्ट मनोज धमला ।

वैशाख १२ को परकम्पले छोडेको थिएन । कुन बेला झट्का हान्ने हो, भन्न सकिन्थेन । त्यसैले स्टुडियोको ढोका ढप्काएर मात्रै ‘नेपथ्य’ रेकर्ड गर्दै थियौँ ।

“अठत्तर वर्षको कथा एक घण्टाको कार्यक्रममा समेट्न सजिलो छैन...।” रेडियो कार्यक्रम ‘नेपथ्य’का लागि कुराकानी सुरु गर्नासाथै चेतन कार्कीले भने । अनि, सुरु भयो उनको धाराप्रवाह अभिव्यक्ति !

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्कीका अनुसार १९९५ साल कार्तिक २२ गते जन्मेका उनको बाल्यकालको पौने चार वर्ष स्याङ्जाको वँहाटारी, आरुखर्कमा बित्यो । उनका पिताजी ब्रिटिस इन्डियाको गोर्खा राइफल्समा जागिरे थिए ।

कार्की भनेका थिए, “तत्कालीन परिवेशमा त्यो गाउँ लाहुरेमय थियो । लाहुरे नभएको घरलाई अवज्ञाको दृष्टिबाट हेरिन्थ्यो । ‘जुन घरमा लाहुरे छैन त्यो घर पनि घर हो !’ भन्ने चलन त्यस बेलामा अधिक थियो । केटाहरू पल्टनमा जानैपर्थ्यो । छोरीको बिहे गर्नुपर्दा पनि आमा, बा वा नातेदारहरूले ‘केटाको इलिम के ?’ भनेर सोध्थे । केटो सेक्सन अफिसर छ भने वास्ता गर्दैनथे । उपसचिव छ भने पनि ‘त्यस्ता सचिव त हाम्रा गाउँमा पनि छन्’ भनेर टेर्दैनथे । केटो फौजमा छ वा लाहुरे छ भने ‘ब्रिटिसमा छ कि इन्डियामा ?’ भन्ने प्रश्न गर्थे । कोही नभेटे मात्रै नेपाली पल्टनमा काम गर्नेलाई स्वीकारिन्थ्यो ।”

Royal Enfield Island Ad

तर, चेतन कार्की पल्टनमा जागिर खान गएनन् । उनी साहित्य, कला, संस्कृतिमा रमाउन चाहन्थे । त्यसैले उनी देहरादूनबाट काठमाडौं आए ।

६ वर्षअघि चेतन कार्कीसँग कार्यक्रम नेपथ्यमा गरिएको त्यो लामो कुराकानी रोचक थियो । करिब सवा घण्टासम्म चेतन कार्कीले आफूले अनुभव गरेका अनगिन्ती कथा–व्यथा सुनाएका थिए ।

यहाँ एउटा प्रसंग मात्रै : पोखरामा फिसरिज अफिसर हुँदाको ।
०००
कतै जागिर जुरेन ! न त्रिचन्द्र कलेजमा । न रेडियो नेपालमा । न त प्रहरीमा । तर, जागिर त खानु नै थियो ।

देहरादूनबाट हिन्दी साहित्यमा मास्टर्स गरेर नेपाल फकिएका चेतन कार्कीले आफ्ना आत्मीय शेखर मानन्धरमार्फत कृषि विभागले पोखराका लागि फिसरिज अफिसर माग गरेको थाहा पाए ।

गोरखापत्रमा प्रकाशित विज्ञापनमा छनोटको प्रक्रिया अन्तर्वार्ता भन्ने उल्लेख थियो । कार्कीले बायोलोजी लिएर बीएससी गरेकाले ‘यो जागिर उनका लागि ठिक हुने’ शेखर मानन्धरले सुझाए ।
उनले जागिरका लागि कृषि विभागमा गएर निवेदन हाले ।

दुई दिनपछि सम्पर्क मितिमा कृषि विभाग जाँदा त्यहाँका एकजना कर्मचारीले ‘आज लिखित जाँच लिने’ भन्दै बोर्डमा धमाधम प्रश्नहरू लेख्दै रहेछन् ।

यो देखेर चेतन चर्किए, ‘यो फटहा नै फटाहाको देश हो कि क्या हो ! छनोट प्रक्रियामा अन्तर्वार्ता भन्ने अनि लिखित जाँच लिने !’

कार्यक्रम नेपथ्यमा कार्कीले भनेका थिए, “म र शेखर दाइ बाहिर निस्कियौँ । त्यहीँ एकजना मोटो मानिस आए । मैले गे्र–कोट लगाएको देखेर मलाई सिपाही सम्झेछन् । उनले मलाई ‘उता जाऊ’ भने । मैले भनेँ, ‘म फिसरिज अफिसरका लागि आएको । यहाँ त अन्तर्वार्ता मात्रै लिने भनेकोमा यिनीहरू लिखित जाँच पनि लिने कुरा गर्छन् !’ ती मोटा मानिसले ‘लिखित परीक्षा दिन डर लाग्छ कि क्या हो ?’ भने । मैले पनि ‘डरको कुरा होइन । तर, झुटो त बोल्नु भएन नि’ भनेँ । मोटा मानिस भित्र पसे । अनि शेखर दाइले मलाई भने, ‘मान्छे चिन्नु छैन । जे पनि बोल्ने ? यिनी नै हुन्, कृषिका डाइरेक्टर जानकीप्रसाद प्रधान’ ।”

त्यसपछि केही सोचेर चेतन कार्की जाँच दिन भित्र गए । जाँचमा लेख्दै गर्दा पटक–पटक जानकीप्रसाद आएर उनले लेखेको हेर्न खोज्दै थिए । उनी भने आफूले लेखेको छोप्थे । लेख्न सकिएपछि प्रधानले कापी मागे । चेतनले कापी दिए । कापीमा नजर दिँदै प्रधानले घरी चेतनको अनुहार हेर्न थाले । घरी जवाफ लेखिएको कापी ।
खै के सोचे जानकीप्रसादले, चेतनलाई सिधै भनेछन्, ‘तिमी पर्सि अन्तर्वार्तामा आऊ’ ।

तोकिएको समयमा चेतन कार्की अन्तर्वार्ता दिन पुगे । 

चेतनले भनेका थिए, “आफ्नो विषयका प्रश्नहरूको जवाफ त मैले दिएँ । तर, नेपालसम्बन्धी कतिपय प्रश्नमा आफूलाई थाहा नभएको स्पष्ट बताएँ । त्यति बेलै डाइरेक्टरले भने, ‘नेपालमा जागिर खान खोजेर नेपालको बारेमा थाहा छैन भन्ने ?’ अनि, मैले पनि आफू लाहुरेको छोरा भएको बताउँदै देहरादूनदेखि आएको बताएँ ।”

चेतन कार्कीले कृषिका निर्देशकलाई आफूले जागिरका लागि गरेको संघर्षको कुरा सुनाए । त्यसपछि निर्देशकले भनेछन्, ‘यो जागिर पनि नपायौ भने के गर्छौ ?’

चेतन पनि के कम थिए र ! उनले पनि भनेछन्, ‘तपाईँले हुन्न मात्र भन्नुस्, म मेरा सारा सर्टिफिकेटहरू फ्रेममा वरिपरि राखेर ब्रस र पालिस किनेर जुत्तामा पालिस लगाउन बस्छु ।’ 
निर्देशक झन् रन्किएछन्, ‘आँट छ, जुत्ता पालिस गर्ने ?’
कार्कीले पनि ‘जागिर हुन्न मात्रै भन्नुस्’ भनेछन् ।
अन्ततः कार्की अन्तर्वार्ता दिएर निस्किए । पर्सिपल्ट टाँसिएको नतिजामा कार्कीको नाम सबैभन्दा माथि लेखिएको रहेछ । 
त्यसपछि २३ दिनसम्म तालिममा सहभागी भए ।

वि.सं. २०१८ सालको माघमा चेतन कार्की ‘ताल विकास समिति’को हाकिम (फिसरिज अफिसर) भएर पोखरा गए ।

कार्कीले कार्यक्रममा भनेका थिए, “पोखरामा मैले जग्गा अधिग्रहण गर्ने, माछाको पोखरी खनाउने, स्टाफ क्वाटर बनाउनेदेखि कर्मचारी भर्ना गर्नेसम्मका काम गरेँ । त्यसबाहेक मेरो सानैदेखिको रुचि लोकगीतको संरक्षण र सम्वद्र्धनमा गम्भीरतापूर्वक लाग्ने मौका पनि पाएँ । पोखराको वातावरण र जनजीवनले मलाई यति उत्प्रेरित गर्यो कि म लोकसंस्कृतिका क्षेत्रमा निरन्तर लाग्दै गएँ । त्यहीँ मैले लोकगीत, लोकसंस्कृतिका बारेमा केही सिकेँ । केही जानेँ । आज लोकसंस्कृतिका बारेमा मैले जेजति जानेको छु, त्यसको पूरा देन पोखराको हो । पोखराको यो देन मैले सात जन्ममा पनि तिर्न सक्दिनँ । म स्याङ्जामा जन्मे । देहरादूनमा हुर्कें । तर, म फुर्केको पोखरामै हो ।”

गीत–संगीत साहित्यका पारखी चेतन कार्कीले पोखरामै रहँदा पहिलो उपन्यास ‘आत्मा बेचेको छैन’ लेखेर प्रकाशित गरे । उनले पोखरा बस्दा तीनवटा उपन्यास लेखे । पोखरामै उनको संगत भयो प्रसिद्ध कवि भूपि शेरचनसँग । उनले पोखराको हिमाञ्चल नाट्य परिषद्बाट नाटक मञ्चन गरे । लोकगीतको तालिम पनि दिए ।

चेतन कार्की पोखरामा हुँदै उनीभन्दा दुई वर्ष जुनियरलाई तत्कालीन श्री ५ को सरकारले माथिल्लो पदमा बढुवा ग¥यो । जबकि, बढुवाका दाबेदार चेतन कार्की थिए । कार्कीका अनुसार बढुवा हुने कर्मचारीका दाजु तत्कालीन सरकारमा सचिव रहेछन् । चेतनको कोही न कोही !

त्यसपछि चेतन कार्कीले ‘तिमीहरूको जागिर तिमीहरू नै खाऊ’ भन्दै फिसरिज अफिसरको पद त्यागेर हिँडे । त्यतिखेर कृषिमन्त्री राजेश्वर देवकोटा थिए ।

चेतनले भनेका थिए, “म देवकोटाको महाराजगन्जको घरमै पुगेँ । उनलाई राजीनामा बुझाएँ । उनले सोधे, ‘ए कार्की, किन तैँले राजीनामा दिएको ?’ मैले भनेँ, ‘ममाथि अन्याय भयो । मैले घर बिदा पनि नपाउने । प्रोमोसन पनि नपाउने । विदेशमा गएर पढ्न मभन्दा जुनियरहरू गइसके । अरूहरू मास्टर्स र डाक्टर भएर आउने । मलाई भने पोखरा छोड्न नदिने । यस्तो भएपछि त कसरी बस्ने ?’ भन्दै मैले मन्त्री देवकोटालाई ‘सबै कुरा राजीनामा पत्रमा खोलिदिएको छु । पर्सि मैले मेरो राजीनामा स्वीकृत भएको पत्र पाउनुपर्छ’ भनेर हिँडेँ ।”

भोलिपल्ट मन्त्री देवकोटाले तत्कालीन कृषि सचिव कृष्णबम मल्ललाई चेतनले राजीनामा दिएको कुरा बताउँदै ‘राजीनामा स्वीकृत गरेको कागज लिएर आउनु भनेको छ मलाई’ भनेछन् ।

अनि, कृषि सचिवले कार्कीको दाजुको ठेगानामा चिठी पठाएर चेतनलाई भेट्न बोलाए । चेतन सचिव भेट्न गए । त्यसपछि सचिवले चेतन कार्कीलाई खुबै फकाउन खोजेछन् । भनेछन्, ‘जापान जान्छौ कि अमेरिका, तिमीलाई विदेश पढ्न पठाउँछु । एक महिनाभित्रैमा तिमीलाई प्रोमोसन पनि दिलाउँछु ।’

चेतनले सोधेछन्, ‘यो कृपाको कारण के त सचिवज्यू ? मैले प्रोमोसन पाउने बेलामा मलाई प्रोमोसन नदिने, अहिले ममाथि कृपा किन ?’

त्यसपछि सचिवले भनेछन्, ‘कार्कीजी, राजपरिवारमा सबैले तिमीलाई चिन्छन् । भोलि कार्कीले किन राजीनामा दियो भनेर सोधियो भने त हामीलाई जवाफ दिन गाह्रो हुन्छ नि !’

चेतन कार्कीले भनेका थिए, “अनि, मैले सचिवलाई भनेँ, ‘त्यसो भए यो कृपा ममाथि गरिएको होइन । तपाईँको आफ्नो जागिर बचाउन खोजिएको हो । त्यसैले मलाई यो प्रोमोसन चाहिएन । चेतन कार्कीले फिसरिज छोड्यो ! छोड्यो ! छोड्यो !’ अनि, म बाहिरिएँ ।”

यसरी चेतन कार्कीले ६ वर्ष ४ महिनामा ताल विकासको जागिर छोडे ।

फिसरिज अफिसरबाट दिइएको राजीनामा ५ महिनासम्म स्वीकृत भएको थिएन । त्यसबीचमा उनी ठमेल टिमको फुटबल कोच भएर बसे ।

त्यति बेलासम्म उनको सम्पर्क नेपाली फिल्म ‘आमा’, ‘हिजो आज भोलि’का निर्देशक हिरासिंह खत्रीसँग भइसकेको थियो । एक दिन भेटमा हिरासिंहले चेतन कार्कीलाई भनेछन्, ‘तिम्रो कलम चल्दोरहेछ । मेरो फिल्ममा लेखकको काम गर ।’

त्यतिखेर हिरासिंह खत्री फिल्म ‘चेतना’ (पछि नाम परिवर्तन भई ‘हिजो आज भोलि’)को काम सुरु गर्दै थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro