![राधास्वामी भवनमा आइसोलेसन सञ्चालनमा](https://12khari.top/uploads/posts/ifmkakgdakgamo1621606699.jpg)
काठमाडौं । काठमाडौंको सामाखुसीमा आजदेखि राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्चालनमा ल्याइएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सेन्टरको शुभारम्भ गरे ।
०७७ साल कात्तिक १४ गते मन्त्रिपरिषद्ले आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसपछि कोरोनाको संक्रमण घट्दो क्रममा गएकाले आइसोलेसन निर्माणमा ढिलाइ भयो ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि काठमाडौं महानगरपालिकाले ०७८ वैशाख १४ गते राधास्वामी भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा सुरु भएको सेन्टर नेपाली सेनाले सञ्चालन गर्नेछ ।
अहिले ८८ बेड अक्सिजन र ९६ साधारण बेड राखिएको छ । आवश्यकताका आधारमा ९६ बेडलाई पनि अक्सिजनसहितको बनाउँदै लगिने जनाइएको छ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
सेन्टर सञ्चालनका लागि वैशाख ३१ गते वीरेन्द्र सैनिक अस्पतालसँग सम्झौता भएको थियो । सम्झौताबमोजिम काम थाल्न महानगरले पहिलो किस्तास्वरुप दुई करोड रुपैयाँ उपलब्ध गराएको महानगरले जनाएको छ ।