site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीर अस्पतालका १७० बेड प्रयोगविहीन 
तस्बिर : फेसबुकबाट ।

काठमाडौं । वीर अस्पतालको नवनिर्मित भवनमा सरकारले अक्सिजन व्यवस्थापन भए तत्कालै सञ्चालन गर्ने तयारी गरेको छ । अक्सिजन अभावले सरकार अहिलेसम्म सञ्चालन गर्ने आँट गरिरहेको छैन । 

अस्पताल व्यवस्थापनले अक्सिजन अभावका कारण नयाँ बेड सञ्चालन गर्न नसकिने जनाएको छ । गएको वैशाख २० गते सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो ।

कोरोना विशेष अस्पताल र अन्य सबैखाले अस्पतालमा भेन्टिलेटर, आईसीयू र बेड भरिएपछि वीर अस्पतालको नयाँ भवनलाई अस्पताल बनाउने निर्णय सरकारले गरेको थियो ।

तर, सरकारले निर्णय गरेको दुई साता बितिसके पनि अहिलेसम्म नयाँ भवनमा रहेका बेड प्रयोगविहीन छन् । काठमाडौंका अन्य अस्पतालमा बेड नपाएर बिरामीको बाहिरै उपचार भइरहँदा वीरको नयाँ भवनका १७० बेड प्रयोगविहीन बनेका हुन् ।

बेड अभावकै कारण बिरामीले उपचार नपाई अकालमा ज्यान गुमाएका खबर निरन्तर आइरहेका छन् ।

वीर अस्पतालसँग करिब ५०० बेड छन् । हाल १८१ बेड मात्रै कोरोना संक्रमितको उपचारका लागि प्रयोग भइरहेका छन् । अक्सिजन अभावले थप बिरामीको उपचार गर्न नसकिएको अस्पतालको भनाइ छ ।

वीर अस्पतालकी निमित्त कार्यकारी निर्देशक डा. शान्ता सापकोटाका अनुसार अक्सिजन पर्याप्त नभएसम्म बेड सञ्चालनमा ल्याउन सकिँदैन । ‘‘बिरामीलाई अस्पताल भर्ना गर्नासाथ उपचार गर्न पर्याप्त अक्सिजन चाहिन्छ,” उनले भनिन्, “अक्सिजनविना उपचार सम्भव छैन । सरकारले अक्सिजनको व्यवस्था गरिदिए हामी तुरुन्तै अस्पतालका नयाँ बेड सञ्चालनमा ल्याउन सक्छौँ ।”

उनका अनुसार बिरामीको चाप बढे पनि नयाँ बिरामी भर्ना नलिई अहिले उपचाररत बिरामीलाई मात्रै उपचार गर्ने निष्कर्षमा अस्पताल पुगको छ । ‘‘वीर अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ । उक्त अक्सिजन प्लान्टको उत्पादन पहिल्यै भर्ना भएका बिरामीको उपचारका लागि मात्रै पुग्छ,” उनले भनिन्, ‘‘१५० सिलिन्डर बराबरको अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । यो सबै अक्सिजन पुरानै बिरामीका लागि ठिक्क छ । अझै अस्पताललाई दैनिक करिब १५० सिलिन्डर अक्सिजन आवश्यक पर्छ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अक्सिजन आपूर्तिमा अहिले कुनै समस्या नभएको जनाएको छ ।

काठमाडौं उपत्यकामा केही साताअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोटा सिस्टम लागु गर्दै अक्सिजन व्यवस्थापन थालेको थियो । त्यति बेला उपत्यकाका सबैजसो अस्पतालमा अक्सिजन अभाव चर्किएको थियो । कोटा सिस्टमले पनि नपुग्ने भन्दै केही अस्पतालले सरकारसँग असन्तुष्टि जनाएका थिए ।

उपत्यकाका नेपाल मेडिकल कलेज, मेडिकेयर, मेडिसिटी, ओम, नेपाल–भारत मैत्री, दीर्घायु, हेल्पिङ ह्यान्ड्स अस्पतालले सार्वजनिक विज्ञप्ति जारी गरेर थप संक्रमित भर्ना लिएका थिएनन् । कतिपय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै उपचाररत संक्रमितलाई पनि डिस्चार्ज हुन भनेका थिए ।

अहिले अक्सिजन व्यवस्थापनको जिम्मा विभागीय स्वास्थ्य मन्त्रालयले लिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अक्सिजनको बहानामा अस्पतालले बेड खाली राख्न नपाउने बताउँछन् ।

‘‘कोरोना संक्रमित बिरामीको उपचारमा वीर अस्पताल अग्रपंक्तिमा देखिनुपर्ने हो । तर, अस्पताल ठिकविपरीत प्रतिक्रियामा देखिएको छ,” उनले भने, ‘‘योपल्ट वीर अस्पतालबाट सहयोग पाइएन । वीर अस्पतालको नयाँ र पुरानो भवन गरी करिब ९०० जना बिरामी राखेर उपचार गर्न सकिन्छ । तर, बेड खाली राखेर सरकारलाई नै असहयोग गरिरहेको छ ।”

स्वास्थ्य मन्त्रालयअन्तर्गतकै वीर अस्पताल र मन्त्रालयबीच महाविपद्मा तालमेल छैन, एकार्कालाई दोषारोपण गरिरहेका छन् । यसको प्रत्यक्ष मार भने कोरोना संक्रमितले खेपिरहेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro