site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के नेपाली बजारमा औषधि अभाव भएकै हो ?
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । पछिल्लो केही दिनयता कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुँदै आएका विभिन्न प्रकारका औषधिहरु बजारमा अभाव भएको खबर आउन थालेका छन् । विशेषगरी संक्रमितको संख्या उच्च रहेका स्थानहरुमा सामान्यदेखि जटिल औषधिहरु समेत अपर्याप्त भएको जानकारी आधिकारिक निकायहरुले नै दिन थालेका छन् ।

कोरोनाकाल र औषधि प्रयोगको अवस्था 
नेपालमा जेठ ४ गते मंलबारसम्म सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ रहेको छ । जसमध्ये अस्पताल तथा विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत संक्रमितको संख्या नौ हजार ४२७ छ । अर्थात् एक लाख सात हजार ८२ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहेका संक्रमितलाई सामान्यतः प्यारासिटामोल र संक्रमितको अवस्था हेरेर भिटामिन तथा जिंक चक्कीलगायत औषधि प्रयोग गर्ने गरिएको छ ।

अस्पतालमा उपचार गराइरहेका संक्रमितका लागि भने रेम्डिसिभिरसँगै स्टेरोइड प्रकारका गरी तीनवटा औषधि सामान्यतः प्रयोग गर्ने गरिएको सिभिल सर्भिस अस्पतालका कोभिड कन्सल्टेन्ट डा. प्रदीप ढकालले बताए ।

KFC Island Ad
NIC Asia

कोभिड संक्रमितको उपचारमा प्रयोग हुने ४५ प्रतिशत औषधि नेपालमै उत्पादन हुने गरेको नेपाल औषधि उत्पादक संघको दाबी छ । औषधि उत्पादनभन्दा दोब्बर बढी माग हुन थालेपछि अपर्याप्त हुने अवस्था आएको संघले जनाएको छ ।

क्षमता कति ?
नेपालमा अहिले २१ वटा कम्पनीले औषधि उत्पादनको काम गरिरहेका छन् । पछिल्लो साता मात्रै बजार मागलाई ध्यानमा राख्दै ४० लाख ट्याब्लेट प्यारासिटामोल उत्पादन गरिएको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताए । कोभिड  संक्रमितका लागि प्रयोग हुने विभिन्न औषधि अन्य समयभन्दा ८ प्रतिशतले उत्पादन बढाइएको उनले जानकारी दिए ।

Royal Enfield Island Ad

“बढ्दो कोभिड संक्रमितको संख्यालाई मध्यनजर गर्दै हामीले प्यारासिटामोल र सामान्य भिटामिनदेखि स्टेरोइड प्रकारका सबै औषधिको उत्पादन बढाएका छौँ । यही दरमा माग भए पनि हामीसँग यी औषधिका  दुई महिना पुग्ने कच्चापदार्थ सञ्चित छ, त्यसैले आतिनुपर्ने अवस्था छैन,” अधिकारीले भने ।

‘औषधि अभाव होइन, ढुवानीमा समस्या’
गएको वैशाख ३० गते नेपाल औषधि व्यवसायी संघ, झापाले जिल्लाका औषधि पसलहरुमा केही जीवनरक्षक र अत्यावश्यक औषधिहरु पर्याप्त नभएको भन्दै प्रदेश नम्बर–१ को औषधि व्यवस्था विभागलाई पत्र पठायो । संघको पत्रमा प्यारासिटामोल, भिटामिन ‘सी’लगायत २२ प्रकारका औषधि अपुग हुँदै गएकाले आपूर्ति सहज गराउन अनुरोध गरिएको छ ।

औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मिर्गेन्द्रमेहर श्रेष्ठका अनुसार पछिल्लो समय कोभिड संक्रमित बढी देखिएका झापा, बाँकेलगायत जिल्लाहरुबाट औषधि अपर्याप्त भएको भन्दै गुनासो आउन थालेको छ । यसरी बजारमा अपुग भएका औषधिमा कोभिड संक्रमितका लागि प्रयोग हुने मात्र नभइ मिर्गौलाका बिरामीको उपचारमा प्रयोग हुने र जीवनरक्षक इनजेक्सनहरु पनि रहेको श्रेष्ठले बताए ।

पछिल्लो समय यस्ता औषधिहरुको औसतभन्दा दोब्बर बढी माग आएकोले अहिलेको वितरण प्रणालीले नधानेको उनको भनाइ छ । “औषधि उत्पादन र आपूर्तिमा समस्या छैन । तर, मुलुक असहज परिस्थितिबाट गुज्रिरहेका बेला सम्बन्धित निकायहरुबीच समन्वयको खाँचो छ । यतिखेर औषधि उत्पादक र व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने र ढुवानी सहज बनाउन समन्वय गर्नुपर्ने हाम्रो अपेक्षा छ । सबैले सहयोग गरेमा हामी मुलुकभर औषधि अभाव हुन दिँदैनौँ,”  श्रेष्ठले भने ।

औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी पनि निषेधाज्ञाका कारण औषधि ढुवानीमा समस्या भएको तर्क गर्छन् । आफूहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागका अधिकारीसँग निरन्तर छलफलमा रहेको भन्दै उनले यातायात र ढुवानी प्रक्रिया सहज भए तत्काल बजारमा औषधि अभाव नहुने दाबी गरे ।

‘घरमा अनावश्यक औषधि सञ्चय नगरौँ’
समुदायमा कोभिड संक्रमणको जोखिम बढेसँगै घरमा औषधि सञ्चित गर्ने क्रम बढेको व्यवसायीहरु बताउँछन् । यसरी अनावश्यक रुपमा औषधि सञ्चय गर्नाले पनि बजारमा औषधिको अभाव हुन पुगेको विज्ञहरुको ठहर छ ।

स्वास्थ्य मन्त्रालयले बजारमा हल्ला भएजस्तो औषधि अभाव नहुने भन्दै अनावश्यक रुपमा औषधि नराख्न पटक–पटक आग्रह गर्दै आएको छ । मन्त्रालयको मंगलबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक र स्टेरोइड बिक्री गर्न नपाइने व्यवस्था लागु गर्ने निर्णयसमेत गरेको छ ।

कोभिड संक्रमणका लागि औषधि पसलबाट सोझै गएर अनावश्यक रुपमा एन्टिबायोटिक र स्टेरोइड किनेर खाने गरिएकाले जनस्वास्थ्यमा समेत समस्या उत्पन्न हुन सक्ने भन्दै चिकित्सकको प्रेस्किप्सनबिना किन्न र बेच्न नपाइने निर्णय गरिएको हो । मन्त्रालयको यो निर्णयले औषधि अभाव हुन नदिन महत्वपूर्ण भूमिका खेल्ने औषधि व्यवसायीहरुको अपेक्षा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro