
काठमाडौँ । सरीता कुँवरका छोरा विश्व निकेतन माध्यमिक विद्यालयमा पढ्छन् । बालबालिकामा कोरोना संक्रमण बढेपछि मन्त्रिपरिषद्ले प्रभावित क्षेत्रमा विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गर्न निर्देशन दियो । त्यससँगै विश्व निकेतन बन्द छ ।
तर, विद्यार्थीले अनलाइनमा पढ्न पाएका छैनन् । कुँवर भन्छिन्, “तीन दिनदेखि छोरा कोठामै छ । स्कुल बन्द छ । कहिले खुल्छ, थाहा छैन ।”
होटेलमा भाँडा माज्ने काम गर्ने कुँवरजस्ता अभिभावक अनलाइन माध्यममा पढाउन सक्दैनन् । अनलाइनमा पढाउन न त उनीसँग ल्यापटप छ न इन्टरनेट नै । एकल अभिभावक भएकीले दिनभरि उनी काममै व्यस्त हुन्छिन् र छोरा पनि उनीसँगै बस्छन् । कुँवरजस्ता अभिभावकका लागि वैकल्पिक माध्यम प्रभावहीन छन् ।
यता, विभिन्न अध्ययनहरुले दूरशिक्षा प्रणालीअन्तर्गत रहेका वैकल्पिक माध्यम तथा अनलाइन माध्यममा प्रभावकारिता एकदमै न्यून रहेको देखाएको छ ।
विश्व बैंकले गरेको एक अध्ययनानुुसार ७७ प्रतिशत विद्यार्थी पढाइका लागि विद्यालयका किताबमा मात्र निर्भर रहन्छन् । सन् २०२० नोभेम्बरबाट २०२१ फेब्रुअरीसम्म कक्षा–३ देखि ५ का विद्यार्थी पढ्ने एक हजार ८०० घरधुरीमा अनुसन्धान गरिएको थियो । रिपोर्टका अनुसार ३१ प्रतिशत विद्यार्थीले मात्र शिक्षकसँग अन्तरक्रिया गर्न पाएका छन् ।
यस्तै, करिब २५ प्रतिशत अभिभावकले आफ्ना बालबालिकालाई पढाउन सहयोग गर्दैनन् । सहयोग गर्नेले पनि सातामा औसत ९.३ घण्टाको दरले मात्र समय दिएका छन् । विपन्न घरधुरीका बालबालिकाहरु किताब र शिक्षकसँगको अन्तरक्रियामा निर्भर छन् ।
रिपोर्टका अनुसार विपन्न परिवारका बालबालिका दूरशिक्षा प्रणालीको पहुँचबाट वञ्चित छन् । धेरै परिवारसँग प्रविधि छैन । केवल ६३ प्रतिशत परिवासँग मात्र टीभी, रेडियो वा अनलाइनमध्ये एक छ । दुर्गम र सुगममा प्रविधिको अनुुपातमा ठूलो अन्तर छ ।
यस्तै, अनलाइन माध्यममा जम्मा २२ प्रतिशत विद्यार्थी मात्र सहभागी हुन सकेको युनिसेफले सन् २०२० अक्टोबरमा गरेको सर्वेक्षण शिक्षा मन्त्रालयको कार्यक्रममा प्रस्तुत गरेको थियो ।
सरकारले गत असोजमा विद्यालय सञ्चालन कार्यढाँचा २०७७ जारी गर्दै पाँचवटा वैकल्पिक माध्यममा पढाउन निर्देशन दिएको थियो । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोही कार्यढाँचालाई पूर्ण पालना गर्नुपर्ने निर्णय गरेको छ ।
नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा वैकल्पिक माध्यमभन्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भौतिक रुपमै कक्षा सञ्चालन गर्नु बढी उपयुक्त हुने बताउँछन् । अनलाइन शिक्षा प्रभावकारी नभएको उनको भनाइ छ । उनी भन्छन्, “अनलाइनमा विद्यार्थीले पढे÷नपढेको थाहा नहुने, १६ प्रतिशतभन्दा बढीको पहुँच नभएको हुँदा दूरदराज र विपन्न वर्ग पहुँचबाहिर भए ।”
उनले शिक्षा मन्त्रालयलाई विद्यालय बन्दभन्दा पनि भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न सुझाव दिएको बताए । बालकक्षा र प्राथमिक कक्षाका विद्यार्थीलाई टेलिफोन र रेडियो माध्यमबाट पढाउँदा प्रभावकारी नभएको उनको भनाइ छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्मा विद्यालय सञ्चालन कार्यढाँचाअनुसार नै पाँचवटा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्ने बताउँछन् । उनले अनलाइन सम्भव नभएको ठाउँमा रेडियो, टीभी, टेलिफोन तथा समुदायमै गएर शिक्षकले विद्यार्थीलाई गत वर्ष पढाएको र सबैले पढ्न पाएको दाबी गरे ।
अभिभाभवक संघका अध्यक्ष केशव पुरी सरकारले गैरजिम्मेवार तर्क गरेको बताउँछन् । उनले भने, “कुन विधि प्रभावकारी छ, त्यसको विश्वसनीयता कति छ, त्यो हेरेर सरकारले विपद्मा तयारी अवस्थामा रहनुपर्थ्यो । तर, सरकार कार्यढाँचा छँदै छ, त्यो पालना गर भन्दै गैरजिम्मेवार तर्क गर्छ । यसरी कहाँ हुन्छ ?”