
काठमाडौं । कोरोना संक्रमणको दर दिन–प्रतिदिन बढ्न थालेपछि छिमेकी मुलुक भारतको स्थिति भयावह बनिरहेको छ । त्यहाँ दिनहुँ लाखौँ कोरोना संक्रमित थपिरहेका छन् । भारतसँगको खुला सीमाका कारण नेपालमा पनि त्यसको प्रभाव देखिन थालिसकेको छ ।
सरकारले अति जोखिम क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिइसकेको छ । फेरि, देश लकडाउनमा जान्छ कि भन्ने आशंका बढ्न थालेको छ । विगतको लकडाउन अनुभवले भन्छ– यदि, फेरि लकडाउन भयो भने त्यसको असर सबैभन्दा धेरै भुईँमान्छेले व्यहोर्नुपर्नेछ । अर्थात् दैनिक मजदुरी गरेर गुजारा काट्नेहरू नै नराम्ररी प्रभावित बन्नेछन् ।
लकडाउनको बारेमा श्रमिकहरू के भन्छन् ? उनीहरुको भोगाइ कस्तो छ ? हामीले खोतल्ने प्रयास गरेका छौँ ।
सोमबहादुर थिङ । ३९ वर्ष । पेसाले रिक्साचालक । ०५८ सालदेखि उनी काठमाडौंस्थित वसन्तपुरमा रिक्सा चलाइरहेका छन् । वैशाखको पट्ट्यारलाग्दो घाममा थिङ रिक्सामा बसेर ग्राहक कुर्दै थिए । समय बिताउन उनी प्लास्टिकको हरियो त्यान्द्रोको गाँठो बनाउँदै थिए ।
१० सन्तानमा माइला छोरा थिङ बाल्यकालमा घरेलु हिंसाको सिकार भए । घरमा पैसा थिएन । बुुवाले आमालाई पिटिरहने । विद्यालय जाँदा लगाउने पोसाक थिएन । शुल्क तिर्न सक्दैनथे । साथीहरूले गिज्याउँथे । त्यसैले विद्यालय छोडे । पेटभरी खान पाउने र सम्पन्न बन्ने चाहनामा उनी १९ वर्षको उमेरमा सपनाको सहर काठमाडौं आए । रिक्सा चलाउन सिके । तर, खासै आम्दानी भएन । त्यसपछि मलेसिया लागे । पाँच वर्ष बसे । बिरामी परे । कम्पनी नै बन्द भयो ।
तीन वर्षयता उनी वसन्तपुरमा रिक्सा चलाइरहेका छन् । उनलाई लकडाउन होलाजस्तो त लाग्दैन । तर, भइहाल्यो भने पनि थिङजस्ता ज्यालादारी श्रमिकसँग विकल्प के नै छ र ? उनी भन्छन्, “बर्बाद नै हुन्छ । अलि–अलि मात्र चहल–पहल बढेको छ । अहिले कमाइ खाने बाटो मात्र भएको छ । एक रुपैयाँ पनि बचत छैन । लकडाउन भयो भने सडकमा बसेर माग्न बाध्य हुन्छौँ ।” उनलाई आफ्नै पेट पाल्न गाह्रो छ । घरमा पैसा पठाउन मन छ । तर, सकेका छैनन् ।
गत वर्ष लकडाउन हुँदा उनकी पत्नी दुई जिउकी थिइन् । सरकारबाट कुनै सहयोग पाएनन् । व्यक्ति र संस्थाबाट पाएको राहत सामग्रीले केही भरथेग गर्यो । थिङ पत्नीसहित खाना बाँडेको ठाउँमा गई खान्थे । काँडाघरीको कोठाभाडा तिर्न नसकेपछि दुई महिनाको आठ हजार रुपैयाँ बुझाएर उनले कहिले रिक्सामा त कहिले वसन्तपुरकै मन्दिरमा रात बिताए । पुसको ठन्डीमा गर्भवती पत्नीसँग मन्दिरमै रात बिताएको कहालीलाग्दा क्षण उनले अझै भुलेका छैनन् । पेट पाल्नकै लागि उनले उति बेला आफूसँग भएका अलि गतिला भाँडाकुँडा बेचेका थिए ।
अहिले लकडाउन खुले पनि कमाइ राम्रो नभएको उनी बताउँछन् । रिक्सा भाडामा लिएका हुन् । कमाइ नभए पनि दिनको १०० रुपैयाँ तिर्नैपर्छ । पाँच महिनादेखि उनी इटुम्बहालमा कोठा लिएर बसेका छन् । महिनाको २५ सय तिर्छन् । “पुुरानो घर छ, धराप छ । भूकम्प आउला भन्ने डर लागिरहन्छ । साढे तीन महिनाको बच्चा र आमालाई त्यहाँ छोडेर आउनुपर्दा मन त्यसै रुँदोरहेछ,” उनले भने ।
०००
दोलखाका २२ वर्षीय बब्लु सुवेदी खिचापोखरीमा इँटा तास्दै थिए । विगत तीन वर्षदेखि उनी घर भत्काउने, माटो गाडीमा ओसार्ने, इँटाहरू तास्ने काम गरिरहेका छन् । गत वर्ष लकडाउन हुँदा उनी डल्लुमा घर भत्काउँदै थिए । लकडाउनमा उनी साइटमै बसे । ठेकेदारले सहयोग गरे । योपटक लकडाउन भइहाल्यो भने के हुन्छ उनी भन्न सक्ने अवस्थामा छैनन् ।
उनी सामाजिक दूरी कायम गरेर काम गर्न पाउनुपर्ने बताउँछन् । “सुरक्षित भएर काम गर्छौँ । काम गरेनौँ भने त रोजीरोटी नै जान्छ । दिनभरि काम गर्ने हो, हाजिर लगाएर बेलुका खाने हो,” उनले भने ।
तीन वर्षदेखि उनी लेबरको काम गरिरहेका छन् । त्यसअघि, उनले दुबईमा तीन वर्ष काम गरे । कक्षा–८ सम्म पढेका सुवेदी वेटरको जागिरमा गए । तर, सरसफाइको काम गर्न बाध्य भए । त्यसमाथि न्यून पारिश्रमिकमा श्रम गर्नुपरेपछि नेपाल फर्के । यहाँ आएदेखि घर भत्काउने काम गरिरहेका छन् । अलि–अलि कमाएको पैसा सकिइसकेको छ ।
लेबरको काम सजिलो छैन । बिहान ७ बजेदेखि कहिले मध्यरातसम्म, कहिले दिन–रात खटिनुपर्छ । कामको टुंगो छैन । त्यसरी खटिँदा पनि उनी प्रतिदिन ९०० मात्र कमाउँछन् । सधैँ काम हुँदैन । अहिले उनी महिनामा करिब २७ हजार कमाउँछन् । सबै खर्च गर्दा करिब १३ हजारजति बच्छ ।
०००
सुवेदीसँगै काम गरिरहेकी ३६ वर्षीय रमा अधिकारी लकडाउनमा लिएको ऋण तिर्न लेबर काम सुरु गरेको सुनाउँछिन् । पोहोरको लकडाउनले लेबर काम गर्न बाध्य पारेको उनले बताइन् । उनी भन्छिन्, “फेरि लकडाउन भयो भने हामी त भोक–भोकै माग्न बाध्य हुन्छौँ । छोरा–छोरीलाई के खुवाउने ?”
अधिकारी तीन वर्षअगाडि छोरा–छोरी पढाउन ओखलढुंगाबाट काठमाडौं आएकी हुन् । वसन्तपुरको शान्ति निकेतन माध्यमिक विद्यालयमा उनका बालबच्चा पढिरहेका छन् । तर, कोरोना संक्रमण पुनः बढेसँगै सरकारले भौतिक कक्षा सञ्चान नगर्न भनेपछि उनलाई आफ्ना छोरा–छोरीको पढाइको चिन्ता छ ।
“छोरा–छोरी घरमै छन् । स्कुल बन्द छ । स्कुलले केही भनेको छैन । गत वर्ष पनि पढाइ भएन । यसपालि पनि होलाजस्तो छैन,” उनले भनिन् । उनकी छोरी ५ कक्षा र छोरा कक्षा–२ मा पढिरहेका छन् ।
०००
सिन्धुलीका ४३ वर्षीय रामबहादुर लामिछानेको कमाइले पनि लय समाउन सकेको छैन । न्युरोडमा अरु श्रमिकझैँ उनी पनि भारी बोक्न ग्राहक कुर्दै थिए । हामी पुग्दा उनी साथीभाइसँग हातमा नाम्लो बोकी गफिदै थिए । उनी पनि लकडाउन नहोस् भन्ने पक्षमा छन् । “सबै खुला भए काम पाइन्थ्यो । धेर–थोर पैसा पाइन्थ्यो । गत वर्षको लकडाउनको असरले बजारमा अहिलेसम्म काम छैन,” उनी भन्छन् ।
उनले १६ वर्षको उमेरदेखि भारी बोक्ने काम गर्दै आएका छन् । सुरुमा भक्तपुरको इँटाभट्टामा काम गर्थे । तर, नागरिकता ल्याऊ भनेपछि उनले त्यो काम छोड्नुपर्यो । पछि न्युरोडमा भारी बोक्ने काम पाएपछि उनी यतै अलमलिए ।
उनी चार वर्षको हुँदा बुवा बिते, त्यसको एक वर्षपछि आमाले छोडेर गइन् । विगत सम्झिँदै उनी भन्छन्, “म अरूकै घरमा बसेँ । जे दिन्थे, त्यही खान्थेँ । मलाई जिन्दगीभर दुःख भयो ।” तर, काठमाडौं आएपछि पैसा कमाए । त्यो जमानामा तीन लाख खर्चेर बिहे गरे ।
गत वर्ष लकडाउन हुँदा उनी सिन्धुलीमा थिए । “लकडाउनमा सबै बन्द भएपछि एकजनाको भाडा तीन हजार तिरेर घर आएँ । बल्ल–बल्ल गाडी पाइयो । पछि फेरि लकडाउनकै बीच काम पाइएला कि भनेर ६/६ हजार तिरेर छोराहरू काठमाडौं आए,” उनी थप्छन्, “तर, कहाँ काम पाउनु, उल्टै भएको बचत पनि खर्च भयो ।”
भारी बोक्न उनी बिहान ५ बजेदेखि नै खटिन्थे । कुनै समय दिनको दुई हजार रुपैयाँभन्दा बढी कमाइ गर्थे । तर, अहिले त्यस्तो छैन । उमेर बढ्दै गएकाले उनी पहिलेजस्तो भारी बोक्न सक्दैनन् । पहिले ७० किलोको भारी बोकेर ठमठम हिँड्ने उनी अहिले ५० किलोको भारी पनि मुस्किलले बोक्न सक्छन् ।
“तर, म मिहेनत गर्छु । भारी बोकेर परिवारको पेट पाल्छुभन्दा पनि सरकार श्रमिकलाई सहज वातावरण दिन सक्दैन । गरिखानेका लागि साँच्चै नै सोचेझैँ सजिलो छैन,” उनले मलिन आवाजमा भने ।