site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पटक–पटक रद्द हुन्छ कमोडिटी एक्सचेन्जको दरखास्त, तेस्रोपटक आवेदन लिने तयारी

काडमाडौं । पटक–पटक दरखास्त माग गरेर रद्द हुँदै आएको कमोडिटी एक्सचेन्ज (वस्तु विनिमय बजार)को लाइसेन्स दिनको लागि नेपाल धितोपत्र बोर्डले पुनः दरखास्त आह्वान गर्ने तयारी गरेको छ ।

कमोडिटी एक्सचेन्जको लाइसेन्सको लागि नीतिगत र प्रक्रियागत व्यवस्था गर्न बनाइएको उपसमितिले आफ्नो रिपोेर्ट पेस गरेको छ । बोर्डका विज्ञ सदस्य अशोक पौडेलको नेतृत्वमा बनेको उक्त समितिले कमोडिटी एक्चेन्जको लाइसेन्स दिनको लागि आवश्यक नीतिगत र प्रक्रियागत व्यवस्थासम्बन्धी रिपोर्ट पेस गरेसँगै अब बोर्डले नयाँ दरखास्त आह्वान गर्ने भएको हो ।

समितिले आफ्नो रिपोर्ट पेस गरिसकेकोले अब चाँडै कमोडिटी एक्सचेन्जको प्रक्रिया अगाडि बढ्ने धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । “नीतिगत र प्रक्रियागत व्यवस्था गर्न बनेको समितिले आफ्नो रिपोर्ट पेस गरिसकेको छ,” उनले बाह्रखरीसँग भने, “कमोडिटी एक्सचेन्जको लाइसेन्सको लागि आवश्यक पूर्वाधारहरु के हो, कुन–कुन वस्तुको कारोबार गर्ने र कसरी बजार सञ्चालन हुने भन्ने कुरा उक्त रिपोर्टमा उल्लेख छ,” ढुंगानाले भने, “हाम्रो सञ्चालक समितिमा उक्त रिपोर्ट बोर्डले स्वीकृत गरेपछि  प्रक्रिया अगाडि बढ्छ ।”

कमोडिटी बजारको लाइसेन्स : किन पटक-पटक खारेज हुन्छ आवेदन ?

अहिले वस्तु विनिमय बजारको आवश्यकता रहेको र उक्त रिपोर्ट बोर्डबाट स्वीकृत भएपछि नयाँ दखास्त आह्वान हुने उनले बताए । यसअघि, वासुदेव अधिकारीको नेतृत्वमा बनेको अध्ययन समितिको प्रतिवेदनका आधारमा नै नीतिगत र प्रक्रियागत व्यवस्था गर्न समिति बनेको उनले जानकारी दिए ।

उक्त समितिको रिपोर्टमा कमोडिटी बजारको लागि निश्चित मापदण्ड र प्रक्रिया  तोकिने र उक्त व्यवस्था पूरा गरेका सबै एक्चेन्जले लाइसेन्स पाउनुपर्ने उनले बताए । उनले प्रक्रिया पुगेका सबैले लाइसेन्स पाउने बताए पनि यसअघि अधिकारीको नेतृत्वमा बनेको अध्ययन समितिले भने दुईवटाभन्दा बढीलाई लाइसेन्स दिन नहुने सिफरिस गरेको थियो ।

बोर्ड अध्यक्ष ढुंगानाले यसअघि आवेदन दिएका कम्पनीले भने लाइसेन्स नपाउने स्पष्ट पारे । “नीतिगत र प्रक्रियागत व्यवस्थासम्बन्धी रिपोर्ट बोर्डबाट स्वीकृत भएपछि नयाँ दरखास्त आह्वान हुन्छ । प्रक्रिया पूरा गर्न केही समय लाग्न सक्छ,” उनले भने, “यसअघि आवेदन दिएका कम्पनीले पनि पुनः आवेदन दिन सक्छन् । तर, नयाँ दरखास्त माग हुन्छ ।”

बोर्डले यसअघि पनि दुईपटकसम्म आवेदन माग गरिसकेको छ । प्रथमपटक आवेदन माग गर्दा पाँचवटाको आवेदन परेको थियो । तर, उक्त आवेदनमा लाइसेन्स वितरण नगरेको बोर्डले पुनः दोस्रोपटक आवेदन माग गर्‍यो । दोस्रोपटक ६ वटा कम्पनीले आवेदन दिएका छन् । तर, बोर्डले दोस्रोपटकको आवेदन पनि खारेज गर्दै तेस्रोपटक आवेदन माग गर्ने तयारी गरेको हो ।

२०७६ वैशाखमा आवेदन माग गर्दा नेपाल कमोडिटी एक्सचेन्ज, नेपाल मर्केन्टाइल एक्सचेन्ज, कमोडिटी फयुचर्स एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज नेपाल र रिगेल कमोडिटी एन्ड डेरिभेटिभ एक्सचेन्ज गरी पाँचवटा कम्पनीले आवेदन दिएका थिए ।

संसद्ले २०७४ साउनमा वस्तु विनिमय बजारसम्बन्धी ऐन पारित गरेर सोही वर्ष मंसिरबाट ऐन कार्यान्वयनमा आएको थियो । उक्त ऐन कार्यान्वयनमा आएसँगै बोर्डले अनुमति नलिईकन वस्तु विनिमय बजार सञ्चालन गर्नु गैरकानुनी भएको भन्दै त्यसलाई बन्द गर्न निर्देशन दियो । वस्तु विनिमय बजारको लाइसेन्स दिने भन्दै दरखास्त आह्वान पनि गर्‍यो ।

ऐन आउनुभन्दा अगाडि पनि वस्तु विनिमय बजार सञ्चालनमा भए पनि नियमनको दायरामा थिएन । तर, ऐन आएसँगै नेपाल धितोपत्र बोर्डलाई वस्तु विनिमय बजारको नियमन गर्ने बाटो खुलेको थियो । ऐन आएपछि तत्कालीन समयमा कारोबार रहेको कम्पनीलाई सिधै लाइसेन्स नदिने भन्दै बोर्डले आवेदन खुला गरेको हो ।

आवेदन माग गरेसँगै बोर्डले ‘अहिले कारोबारमा रहेका वस्तु विनियम बजारलाई आफूले नचिन्ने’ भन्दै पटक–पटक सूचना निकालेको छ । तर, बोर्डले आफैँ लाइसेन्स दिएर उनीहरूलाई नियमनको दायरमा ल्याउन भने अझै पनि सकेको छैन । यसअघि, दुईपटक आवेदन माग गर्दा पनि लाइसेन्स दिन नसकेको बोर्ड अब तेस्रोपटक दरखास्त आह्वान गर्ने तयारीमा जुटेको हो ।

यसअघि, कुनै पनि मापदण्ड नै नबनाई दरखास्त आह्वान गरेकोले बोर्डले प्रक्रिया अगाडि बढाउन नसकेको तर अहिले नीतिगत र प्रक्रियागत व्यवस्थासहित दरखास्त आह्वान हुने भएकोले छिट्टै नै कमोडिटी एक्सचेन्जको लाइसेन्स दिने बोर्ड अध्यक्ष ढुंगाना बताउँछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro