site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कसले खोज्दै छ ‘गोरे’ समूहको गायब भएकोे साढे ३३ किलो सुन ?
फाइल तस्बिर ।

काठमाडौं । ०७४ माघको पहिलो साता यूएईबाट आएको भनिएको साढे ३३ किलो सुन गायब र त्यससँगै जोडिएर भएको सनम शाक्य हत्या प्रकरणको अनुसन्धान जारी छ । सो प्रकरणमा प्रहरीका उच्च अधिकारी समेत अनुसन्धानमा तानिएका थिए । तर, अहिलेसम्म न हराएको सुन भेटिएको छ न त सुनका मुख्य लगानीकर्ता नै फेला परेका छन् ।

सोही घटनाको अनुसन्धानका क्रममा संगठित अपराधमा बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता समेत भएको थियो । अधिकांश आरोपीहरु धरौटी र केही साधारण तारेखमा छुटिसकेका छन् ।

उक्त साढे ३३ किलो सुन गायब भएपछि सुन लुकाएको आशंकामा चूडामणि उप्रेती ‘गोरे’को समूहले ०७४ फागुन १८ मा मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या गरेपछि सुन तस्करी प्रकरण चर्चामा आएको थियो । सनमले गोरे समूहको आर्थिक कारोबार हेर्दै आएका थिए ।

Dabur Nepal

सो समूहले उर्लाबारीको जंगलमा करेन्ट लगाएर सनमको हत्या गरेको भिडियो नै बाहिरिएको थियो । सनमकै हत्यापछि सुन प्रकरणको रहस्य बाहिरिएको थियो । प्रहरी अधिकारी नै सनम हत्या र सुन गायब प्रकरणमा जोडिएपछि गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरिएको थियो ।

टोलीले सुन तस्करीमा गोरे समूहको मुख्य संलग्नता रहेको र त्यसमा तत्कालीन अपराध महाशाखा, विमानस्थलका कर्मचारी, भन्सार कर्मचारी, विमानस्थलमा खटिएका प्रहरी अधिकारीको संलग्नता औँल्याएको थियो । लामो समय अनुसन्धान गरेको सो समितिले गायब भएको सुन कता छ भन्ने पत्ता भने लगाउन सकेन । हालसम्म पनि सो सुन कता छ भन्ने पत्ता लागेको छैन ।

सोही टोलीले गोरे समूहले साढे ३३ किलो मात्रै नभई विभिन्न समयमा ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । यो प्रकरणसँग जोडिएका गोरे पनि पक्राउ परिसकेका छन् । अनुसन्धानका क्रममा पक्राउ परेकाहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा चलाइएको थियो ।

अनुसन्धानकै क्रममा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, तत्कालीन अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सञ्जेललगायत पक्राउ परेका थिए । अधिकांश प्रहरीले भने अदालतबाट सफाइ पाइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले केही फरार व्यक्तिको खोजीमा प्रहरी लागेको बताए । उनले बाह्खरीसँग भने, “गृहकै टोलीले अनुसन्धान गरेको हो । सनमको हत्या मोरङमा भएकाले मुद्दा यताबाट चलेको हो । यो विषय अदालतमा प्रवेश गरिसकेकाले धेरै कुरा अदालतबाटै जानकारी होला । कतिपय कुरामा प्रहरी आपसी समन्वयमा अगाडि बढिरहेको छ ।”

गृह मन्त्रालयले ०७४ चैत १९ गते सहसचिव पौडेलको संयोजकत्वमा अनुसन्धान टोली गरेको थियो । टोलीले तीन महिनासम्म अनुसन्धान गर्दा पनि सुन पत्ता लगाउन सकेन । समितिले ७७२ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो । सो प्रतिवेदन गोप्य राखिएको छ ।

अनुसन्धानको जिम्मा पाएको समितिले सरकारलाई प्रतिवेदन बुझाएपछि हराएको सुन खोज्ने र फरार अभियुक्त समात्ने जिम्मेवारी प्रहरीलाई दिएको थियो । तर, प्रहरीले भने सुन खोज्ने काम बन्द गरेको बताइन्छ ।

अनौपचारिक रुपमा सुन खोज्ने काम महानगरीय अपराध महाशाखालाई दिइएको थियो । तर, महाशाखाले यसबारे कुनै पहल नलिएको बताइन्छ । मोरङका एसपी खड्काले सुन खोज्ने काम प्रहरीका अन्य निकायले गरिरहेको बताए ।

गायब भएको सुन प्रकरणमा सनम शाक्यको हत्या भएको थियो भने सानु वनको ट्यांकर ठक्करबाट मृत्यु भएको थियो । विमानस्थलमा कार्यरत प्रेमलाल चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारको शौचालयमा आत्महत्या गरेका थिए ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भारतको कोलकातामा भारतीय प्रहरीले बरामद गरेको सुन नै नेपालबाट गायब भएको सुन भएको बताउँछन् । उनले भने, “त्यो सुन नेपाल ल्याउन पहल पनि गरेका हौँ । तर, सम्भव भएन । हामीले सोही सुन नेपालबाट गायब भएको भनेका छौँ । त्यसपछि हामीले खोज्ने काम गरेका छैनौँ ।”

सन् २०१८ मा कोलकातामा साढे ३३ किलो सुनसहित दुईजना पक्राउ परेका थिए । तर, भारतीय अधिकारीहरुले सो सुुन नेपालबाट नभई भुटानबाट आएको दाबी गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro