site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कहाँ सारिँदै छ खुलामञ्चको पुरानो बसपार्क ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले अबको एक हप्ताभित्रमा रत्नपार्क, खुलामञ्चको पुरानो बसपार्क खाली गराउने दाबी गरेको छ । खुलामञ्चको अतिक्रमण गरी बसपार्क बनाइएको भन्दै आलोचना हुँदै आएको छ ।

महानगरका प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार महानगरले राजधानीभित्र चल्ने बसहरुलाई ‘पिक एन्ड ड्रप’ प्रणालीबाट रत्नपार्कमा रोकी एक फन्को मार्न दिने तयारी गरेको छ । पुरानो बसपार्कबाट छुट्ने लामो दूरीका सवारी–साधन अब नयाँबसपार्क, कोटेश्वरलगायत ठाउँबाट छुटाउने तयारी भइरहेको बताए ।

‘‘हामीले यहाँबाट बसपार्क हटाउन सम्बन्धित यातायात व्यवसायीलाई भनिसकेका छौँ । एक हप्तामा खुलामञ्चबाट बसपार्क हटाई कार्यक्रम गर्न लायक बनाउनेछौँ,” उनले भने ।

महानगरले तीनवर्षे सम्झौता गरी पुरानो बसपार्क भएको ठाउँमा टावर बनाउन निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई जेभीलाई जिम्मा दिएको थियो । अहिले निर्माण कम्पनीका प्रमुख मनोज भेटवाल भने सम्पर्कविहीन छन् ।

२०७२ साल कात्तिक २५ गतेदेखि भ्युटावर निर्माण सुरु भए पनि अहिलेसम्म टावर निर्माणले गति लिन सकेको छैन । सम्झौताबमोजिम टावर तीन वर्षभित्र निर्माण भइसक्नुपर्ने थियो ।

सार्वजनिक उद्यान तथा राष्ट्रियसभा विकास समितिको नाममा रहेको खुलामञ्च पछि काठमाडौं महानगरपालिकालाई जिम्मा लगाइएको थियो । अहिले टावरको चौथो तला काम हुँदै छ । टावर बनाउन ढिलासुस्ती हुँदा लामो समय खुलामञ्चमा बसपार्क राख्नुपर्ने अवस्था आएको हो ।

महानगरपालिकाले आयोजनामा ढिलाइ हुँदा निर्माण व्यवसायीलाई कडाइ गर्न नसकेको सम्पदापे्रमीको भनाइ छ । सम्पदाप्रेमी र वातावरणविद्ले खुलामञ्चमा पहिला गरिएको ढलान हटाएर घाँसेमैदान बनाउनसमेत माग गरेका छन् ।

सम्पदापे्रमी गणपतिलाल श्रेष्ठ भूमाफियाको चलखेल हुँदा महानगरले अहिलेसम्म खुलामञ्चको बसपार्क हटाउन नसकेको बताउँछन् । उनले ०७२ सालको भूकम्पपछि खुलामञ्च अस्तव्यस्त बन्दै गएको बताए । ‘‘त्यसपछि खुलामञ्चको अतिक्रमण बढ्दै गयो । कैयौँपटक खाली गर्न माग ग¥र्यौ । तर, महानगरले खाली गराउन सकेन,” उनले भने ।

प्रतिपक्षी दल, नागरिक समाज, सम्पदाप्रेमी, वातावरणविद्लगायतले खुलामञ्च खाली गराउन माग गर्दै आएका छन् । चर्को विरोधपछि केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा महानगरले खुलामञ्चका टहरा, पार्किङ हटायो ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले खुलामञ्चभित्रका संरचना सबै हटाई अब बसपार्क हटाउने तयारी गरिरहेको बताए । ‘‘अब बसपार्क पनि सारेर हामीले खुलामञ्चको ठाउँ फराकिलो बनाउने छौँ । बसपार्क सारेपछि उक्त क्षेत्रमा सभा–समारोहबाहेक केही पनि हुने छैन,” सापकोटाले भने, ‘‘केही दिनअघि मात्रै हामीले खुलामञ्चभित्रका पार्किङ र टहरा हटाएका थियौँ । अब बसपार्क पनि सार्ने प्रक्रियामा छौँ ।”

गणपतिलाल महानगरले खुलामञ्च खाली गराउँदै गर्दा सार्वजनिक शौचालयभित्रका अनधिकृत व्यापार नदेखेको बताउँछन् । महानगरले बनाएको सार्वजनिक शौचालयमा सर्वसाधारणलाई छिर्न समेत जोखिम भएको उनको भनाइ छ । नगर प्रहरी प्रमुख सापकोटाले भने शौचालयको विषयमा आफूलाई थाहा नभएको बताए ।

अहिले खुलामञ्चको बसपार्कबाट सिन्धुपाल्चोक, रामेछाप, खोटाङ, काभ्रेलगायत क्षेत्रमा जाने बस छुट्छन् । ती गाडी अब राजधानीका अन्य बसपार्कबाट छुटाउने महानगरको योजना छ ।

वि.सं. २०३६ सालमा जनमतसंग्रह भएपछि बीपी कोइरालाले खुलामञ्चमा पहिलोपटक जनसभा आयोजना गरेका थिए । त्यसपछि २०४६ सालको परिवर्तनपछि कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंहलगायत नेताले खुलामञ्चमै कार्यक्रम गर्थे ।

पछि खुलामञ्च कहिले बसपार्कको नाममा त कहिले पार्किङस्थलको नाममा अतिक्रमण हुँदा अहिलेका नेताले सडकमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  ०७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro