
काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमणले विश्वलाई नै आक्रान्त पारेको एकवर्ष बढी भइसक्यो ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले गरेको लकडाउनको एकवर्ष पूरा भएको छ । बितेको वर्ष धेरैजसो समय लकडाउनमै सकियो ।
फेरि पनि कोरोनाको दोस्रो लहर आउन लागेको र संक्रमण बढेमा लकडाउन गर्ने स्वास्थ्य मन्त्रालयले जनाइसकेको छ ।
अघिल्लोपल्ट चार महिनापछि लकडाउन त हट्यो तर समग्र क्षेत्र कोरोना कहरले प्रभावित बन्यो । कोरोना संक्रमणले नेपालमा तीनहजार बढीले ज्यान गुमाए ।
संक्रमितको नजिक नपर्ने, नजिक पुगेका समाज र आफन्तबाटै अपहेलित हुनुपर्ने बेलामा कोरोना संक्रमणले मानिसको ज्यानसमेत जान थाल्यो ।
शवको व्यवस्थापन प्रमुख चुनौती थियो । त्यही चुनौतीको जिम्मा लियो नेपाली सेनाले । कोरोनाले मृत्यु भएका तीनहजार बढीको शव व्यवस्थापन नेपाली सेनाले गरिसकेको छ ।
शव व्यवस्थापनमा खटिएकी ३६ वर्षीया कृष्णकुमारी कुमाल छोरी मान्छे मलामी जान हुँदैन भन्ने संस्कारबाट हुर्कीएकी एक जवान हुन् ।
तर उनी अहिले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएकी छन् ।
सेनामा भर्ती भएको १८ वर्षे कार्यकालमा उनले देशको लागि धेरै योगदान दिइन् । तर कोभिड १९ मा देशको लागि गरेको सेवाले उनी आफू पनि गौरवान्वित भएको महसुस गर्छिन् ।
बाह्रखरीसँगको कुराकानीमा उनी भन्छिन्, “शव व्यवस्थापनको लागि को जान इच्छुक छौ भनेर सोध्नुभएको थियो । म जान तयार थिएँ । अनि मैले म जान्छु भनेँ ।”
सुरुमा आम नेपाली कोभिडबाट तर्सिएझैँ उनी पनि नआत्तिएकी होइनन् । कोरोनाले सिध्याउँछ भन्ने उनलाई पनि नलागेको होइन तर उनी देशको सेवाका लागि प्रतिवद्ध पनि थिइन् ।
शव व्यवस्थापन सम्बन्धी एकहप्ते तालिम लिएपछि उनी तयार भइन् अस्पताल पुगेर शव उठाउने काममा ।
तर उनले यो कुरा आफ्नो घरमा सुनाइनन् । किनकि कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा लागेको भनेर घरमा रहेका बुबाआमा चिन्तित हुनुहोला भन्ने पीर उनमा थियो ।
पछि विस्तारै आफ्नो कामका बारेमा सुनाइन् । घर परिवारबाट पनि ‘तिमीले राम्रो काम गर्यौँ । सुरक्षित भएर गर्नू’ भनेपछि थप हौसला मिलेको उनी बताउँछिन् ।
उनले कुराकानीका क्रममा मलामी जान हुँदैन भन्ने संस्कारबाट हुर्कीएकी आफूलाई सेनाले धारणा नै परिवर्तन गराइदिएकोमा खुसी व्यक्त गरिन् ।
“महिला पुरुषको तुलनामा सक्षम छैनन् भन्ने थियो । त्यो भ्रम धेरै कुराले तोडेको छ । शव व्यवस्थापनको माध्यमबाट पनि हामीले तोड्न सक्यौँ ।”
गोरखनाथ गुल्मबाट १२ जना महिला शव व्यवस्थापनको काममा खटिएका छन् । उनीहरुले काठमाडौं उपत्यकाभरि कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्छन् ।
कोभिडको बेला शव व्यवस्थापनसँगै मृतकका आफन्तलाई सम्झाइ बुझाइ गर्नु ठूलो चुनौती थियो ।
करिब १२५ जातजाति भएको नेपालमा मृत्यु पश्चात्को संस्कार धेरैको फरक–फरक छ । कतिपय संस्कारमा परिवारबाहेक अन्यलाई शव छुनसमेत दिइँदैन ।
त्यस्तो बेलामा सिनियर अफिसरले नै आफन्तसँग स्वीकृति लिएर शवको व्यवस्थापन गरेको कुमाल सुनाउँछिन् ।
“बिहान ६ बजेदेखि लगाएको पीपीई साँझ ७ बजेसम्म लगाउछौँ । पीपीई लगाएपछि दिसा पिसाब रोक्नुपर्ने, महिनावारी हुँदा झनै मुस्किल हुन्थ्यो । तर ड्युटी गर्दा यी सबै भुल्थ्यौं ।”
शव व्यवस्थापनपछि क्वारेन्टिनमा दुईहप्ता बसेर पीसीआर परीक्षण गरेर नेगेटिभ आएपछि उनी पुनः ड्युटीमा फर्किन्थिन् ।
तनहुँका अशोक नगरकोटी पनि नेपाली सेनाका हुद्दा हुन् । उनी पनि नेपाली सेनामा आवद्ध भएको १८ वर्ष पूरा भएको छ ।
उनी गोरखनाथ गणमा छन् ।
कोभिड १९ कारण मृत्यु भएकाको शव व्यवस्थापन र शव दाहमा अग्रपंक्तिमा खटिएर काम गरेका नगरकोटी देशको लागि सेवा गर्न पाउँदा गौरव लागेको बताउँछन् ।
उनका अनुुसार कोभिड १९ मा लकडाउन भएपछि सेनाले सुरक्षाका लागि तयारीमा खट्न तालिम नै दिएको थियो । तालिमका दौरान पीपीइ लगाउने, शव बोक्ने र व्यवस्थापन गर्ने प्रक्रिया सिकाइएको थियो ।
नगरकोटी पहिलोपटक छाउनी, टेकु र पाटन अस्पतालबाट ६ वटा शव बोकेर व्यवस्थापन गर्न गएको सुनाउँछन् ।
अस्पतालबाट शव बोक्न लाग्दा आफन्तले अन्तिमपटक हेर्ने र छुने इच्छा गर्दा पनि देखाउन नसक्दाको पीडा उनीसँग ताजै छ ।
भन्छन्, “एकपटक हेर्न दिनु न, अनुहार मात्र भए नि हेर्छौँ भन्थे । तर पनि जिवित रहेका व्यक्ति र आफन्तको सुरक्षाको ध्यानमा राखेर नजिक जान र छुन दिन सक्ने अवस्था हुँदैनथ्यो । टाढाबाट हेर्न दिने गरेका छौँ ।”
शव व्यवस्थापनपछि लगाएको सम्पूर्ण पीपीई निकालेर डिस्पोज गरी नुहाएर उनी ब्यारेक फर्कन्थे । ब्यारेकमा सात दिनसम्म क्वारेन्टिनमा राखेर कोभिड १९ परीक्षण गरेर नेगेटिभ आएपछि उनी पुुनः सेवामा फर्कन्छन् ।
नगरकोटी आफैँ पनि दुुई सन्तानका पिता हुन् । कोभिड १९ सुरु भएयता उनी अहिलेसम्म घर जान पाएका छैनन् । सेनामा जागिर रहे पनि परिवारलाई केही होला कि भन्ने चिन्ता उनलाई पनि थियो । नगरकोटी र उनको परिवार सबै कोरोना संक्रमणबाट सुरक्षित नै रहे ।
नगरकोटी र कुमाल सरकारले भत्ता दिए पनि अर्थात् नदिए पनि देशको लागि सेवा गर्नु नै आफूहरुको दायित्व भएको बताउँछन् ।
कोभिड १९ पछिल्लो समय संक्रमण बढी रहेको सन्दर्भमा उनीहरु भन्छन्, “फेरि पनि देशको लागि खट्नु परे हामी तयार छौँ ।”