site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिदेशीय फुटबलका लागि कस्तो छ नेपाली टोलीको तयारी ? 

काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा यही चैत १० गतेबाट त्रिदेशीय फुटबल हुँदै छ । नेपाल, बंगलादेश र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली प्रशिक्षणमा रहेको छ । विश्वकप छनोटको लागि नेपाली टोलीले तीन महिनायता तयारी गरिरहेको छ ।

कोरोनाभाइरसको महामारीका कारण विश्वकप फुटबलको छनोट खेलहरु नहुने भएकाले नेपाली टोलीको प्रशिक्षण तथा खेल क्षमतामा वृद्धि गर्न त्रिदेशीय फुटबलको आयोजना गरिएको हो ।

आफूहरु प्रतियोगिताका लागि निकै उत्साहित रहेको नेपाली टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जन बताउँछन् । लामो समय तयारी गरेर खेलाडीहरु तयार भएको उनको भनाइ छ ।

“लामो समय खेलाडीहरुले तयारी गरेका छन् । खेलका लागि उनीहरु उत्साहित पनि छन् । विश्वकप छनोटको खेलहरु स्थगित भएको समयमा एन्फाले मैत्रीपूर्ण खेलको तयारी गरेको हुनाले उक्त खेलमा प्रदर्शन हेर्नलायक हुनेछ,” महर्जनले बाह्रखरीसँग भने ।

उनले खेलाडीहरुले अहिले पनि दशरथ रंगशाला, एन्फा कम्प्लेक्समा तयारी गरिरहेको जानकारी दिए । खेलाडीहरुले बंगलादेशसँग खेलिरहेको हुनाले नेपाललाई केही सहज हुने उनी बताउँछन् ।

“बंगलादेशसँग हामीले धेरैपटक खेलिसकेका छौँ । त्यसैले हामीलाई सहज हुनेछ । कीर्गिस्तानसँग खेल्नका लागि खेलाडी आतुर छन् । हामी पूर्ण रुपमा तयारीमा छौँ,” महर्जनले भने ।

कस्तो छ प्रतियोगिताको तयारी ? 

कोरोनाका कारण लामो समयपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको एन्फाका प्रवक्ता किरण राईले बताए । प्रतियोगिता सफल पार्न एन्फालाई अवसर र चुनौती दुवै छ ।

प्रतियोगिताको लागि दशरथ रंगशालालाई पूर्ण रुपमा तयार पारिएको छ । लामो समयपछि हुन लागेको प्रतियोगिता भव्य रुपमा सफल पार्ने एन्फाको योजना छ ।

“त्रिदेशीय फुटबल खेलका लागि सबै तयारी पूरा भइसकेको छ । प्रतियोगिताका लागि खेलाडीहरुले पनि आफ्नो तयारी राम्रोसँग गरेका छन् । विदेशी टोलीलाई तयारीका लागि पनि राम्रो वातावरण बनाएका छौँ । भौतिक कुरामा केही तयारी मात्र बाँकी छ,” राईले भने । उनले कुनै किसिमका कमी–कमजोरी आउन नदिन आफूहरु चनाखो रहेको बताए ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल चैत १२ गते कीर्गिस्तानसँग खेल्नेछ । कीर्गिस्तानको यू–२३ टिम हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा कीर्गिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल चैत १० गते हुनेछ ।

नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउन्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

कोरोनाका कारण खेलाडीले एक वर्षसम्म अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेल्न पाएनन् । त्रिदेशीय फुटबलमार्फत नेपाली खेलाडीको अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा पुनरागमन हुनेछ । बंगलादेश र कीर्गिस्तानका खेलाडी पनि नेपाल आइसकेका छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro