मेलम्चीको पानी काठमाडौं उपत्यकावासीका लागि कहिल्यै पूरा नहुने सपनाजजस्तो हुनपुगेको थियो । अहिले सुरुङमा पानी छाडेर गरिएको परीक्षण सफल भएपछि ढुक्क हुन नसके पनि आश बढेको छ । परीक्षणपछि फागुन २३ मा वाग्मतीमा बगाइएको मेलम्चीको पानी केही उपभोक्ताको धारामा चैतको दोस्रो सातासम्म पुग्ने जानकारी सम्बन्धित अधिकारीहरूले दिएका छन् ।
पानी वितरणमा प्राविधिक कठिनाइहरू त छँदैछन् वितरणलाई सामाजिकरूपमा न्यायपूर्ण बनाउनु पनि उत्तिकै चुनौतीपूर्ण देखिन्छ । अहिले दानेपानी पानी वितरण न्यायपूर्ण छैन । पहुँच र पैसा हुनेले छिमेकीको भागको पानीसमेत तानेर लिन सक्ने वितरण प्रणाली विद्यमान छ । छिमेकीले ठूलो शक्तिको मोटर प्रयोग गरेर टोलभरकै पानी तान्नसक्ने वितरण प्रणाली छ ।
टोलहरूमा वितरणका लागि ‘ओभरहेड ट्यांक’ बनाइएको भए पानी वितरण अपेक्षाकृत न्यायोचित हुन सक्नेथियो । उपत्यकाका पुराना बस्तीको भूगोल कायम रहेको भए थुम्काहरूमा बनाइएका संकलन केन्द्रबाट पानी पठाउँदा सबैको धारामा पुग्ने अवस्था थियो । तर, बस्ती विस्तारमा क्रममा पुरानो भौगोलिक प्रणाली खलबलिएकाले वितरण समस्यामूलक भयो ।
अहिले उपत्यकाका धेरै घरमा खानेपानीको पाइपबाट जमिनमुनिको ट्यांकीसम्म पानी जाँदैन । लगभग सबैले मोटर लगाएर पानी तान्नुपर्छ । सके त वितरित पानी सामान्य आवासीय घरमा छतको ट्यांकीमै पुग्ने व्यवस्था गर्न सके हुने हो । नभए पनि जमिन मुनिको ट्यांकीमा त मोटरले नताने पनि जाने बनाउनु पर्ने थियो । घरघरमा जमिनमुनिको ट्यांकीमा पानी भर्न मोटर लगाउन नपरे बिजुलीको पनि ठूलो बचत हुनेछ ।
खानेपानीका कर्मचारीको मिलेमतोमा आवासीय क्षेत्रको भागको पानी पनि व्यावसायिक क्षेत्र पठाउने गरिएको गुनासो धेरै सुनिन्छ । पानी पठाउने समयतालिका बनाउँदा पनि कर्मचारीले आर्थिक प्रलोभनमा परेर अन्याय गर्ने गरेको अनुभव पनि उपभोक्ताहरूले गरेका छन् । वर्षौंसम्म धारामा पानीको थोपै नचुहिए पनि महसुल तिरिरहेका उपभोक्ताको धैर्यमा धेरै खेलाँची गर्नु प्रत्युत्पादक हुनसक्छ ।
नेपालको शासन र प्रशासनको सोच, संरचना तथा कार्यशैलीको प्रतिनिधि उदाहरण हो यो । पानी आपूर्तिसँगै वितरक, व्यवस्थापक र उपभोक्ताको बानीमा पनि सुधार हुनुपर्छ । नत्र, पानी जति थपिए पनि सास्ती घट्नेछैन । नयाँ घरमा धारा वितरण गर्ने र पानी नआए पनि महसुल असुल्ने अहिलेको प्रवृत्ति नै दोहोरिन सक्छ । फेरि पनि पानी नआउने धाराको संख्या नै बढ्ने हो भने उपभोक्ता आक्रोशित हुनसक्छन् ।
उपत्यकाको विद्यमान खानेपानी वितरण प्रणालीले मेलम्चीको पानी सहजरूपमा नधान्न सक्छ । सम्बन्धित अधिकारीहरू भने थोत्रा पाइपलाइनहरूमा पानी पठाएपछि जहाँ जतिबेला चुहिन्छ त्यहाँ त्यतिबेलै मर्मत गर्ने मानसिकतामा देखिन्छन् । तर, उपभोक्ताको सहयोग र विश्वासका लागि अहिलेको सुस्त शैली एवं गैरजिम्मेवार मानसिकताबाट काम चल्नेछैन । यसैले मेलम्चीको पानी उपत्यकामा ल्याउनजत्तिकै चुनौतीपूर्ण देखिएको वितरणमा देखिने समस्या सशक्तरूपमा समाधान गर्ने कार्य शैली अपनाउनु आवश्यक छ ।