site stats
बाह्रखरी :: Baahrakhari
विशेष
चालीस वर्षदेखि पशुपति आएका साधु भन्छन्– राजाले छाडेपछि साधुलाई हेर्ने नजर बदलियो

काठमाडौं । यस वर्षको शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न १० लाखभन्दा धेरै दर्शनाथीहरु आउने पशुपति क्षेत्र विकास कोषको अनुमान छ ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालका अनुसार पशुपतिमा करिब दुई हजार साधुसन्त आइसकेका छन् । योपटक तीन हजार ५०० साधुसन्त भित्रिने अनुमान गरिएको थियो ।

यसरी आउने साधुसन्तहरुमध्ये राम मन्दिरमा बस्ने साधुहरुको व्यवस्थापन गर्छन्, सत्चीतानन्द । बितेको ४० वर्षदेखि आफू शिवरात्रिमा पशुपति आइरहेको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सत्चीतानन्द नेपाल आएको समयमा प्रायः १०–१२ दिन बस्छन् र फर्कन्छन् । नेपाल आएको छेको पारेर कहिलेकाहीँ अन्य धार्मिकस्थलको दर्शन गर्न समेत जाने गरेको उनी बताउँछन् ।

“जोगीको काम भनेकै धार्मिक तीर्थस्थलको दर्शन गर्नु, जडीबुटी खोज्नु, भजन–कीर्तन गर्नु हो,” उनी भन्छन्, “नेपाल सन्न्यासी, उदासी, नाथ, वैश्णवी चारै सम्प्रदायका महात्माहरु पशुपतिको दर्शन गर्न आउँछन् ।”

उनले राम मन्दिरमा आउने सन्यासीहरुलाई कोषले दिने ओड्ने, ओछ्याउने, खाना, दाउरालगायतको व्यवस्थापन गर्दै आएका छन् ।

उनी भारतको प्रयागराजदेखि यहाँ आएका हुन् । “अहिले विस्तारै आउँदा सात दिनजति लाग्छ,” उनले सुनाए, “म आउन सुरु गर्दा अहिलेजस्तो बस सेवा थिएन । हामी पैदल नै आउँथ्यौँ । तर, हिजोआज पहिलेजस्तो पहाड चढ्नु पर्दैन ।”

देशदेशावर घुमेर सनातन धर्म जागृत गर्ने उद्देश्य लिएको उनी बताउँछन् । आफ्ना अनुयायीको निमन्त्रणामा बर्मा, इटाली, क्रोयसियासमेत पुगिसकेको उनको भनाइ छ ।

पहिलेको तुलनामा अहिले साधुसन्तलाई हेर्ने दृष्किोणमा परिवर्तन आएको उनको बुझाइ छ । “म पहिले यहाँ आउदा राजाले देश चलाउँथे । त्यति बेला साधुले मागेजति दान दिएर पठाउँथे,” उनी भन्छन्, “नेताले देश चलाएपछि साधुलाई हेर्ने नजर फरक परेको छ ।”

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १६:४४
प्रतिक्रिया दिनुहोस्