काठमाडौं । नेपाली चलचित्रले आधा शताब्दी लामो यात्रा तय गरे पनि प्रयोगका हिसाबले खासै अगाडि बढ्न नसकेको चलचित्रकर्मीहरुले स्वीकार गरेका छन् । नेपाली चलचित्र उद्योग अझै पनि बलिउडले स्थापित गरिदिएको मानकमै रुमल्लिरहेको उनीहरुको भनाइ छ ।
आफ्नै कथा र शैलीमा चलचित्र निर्माण सुरु हुँदै नभएको त होइन तर पर्याप्त भने छैन । पुरानै ढर्राबाट चलचित्रमाथि उठ्न नसकेको निर्देशक यादव खरेल बताउँछन् । कथा भन्न मुख्य चरित्रका रूपमा अझै पनि नायक नै खडा गर्ने परम्परा यथावत् रहेको उनको भनाइ छ । यो नेपाली चलचित्र पुरानै ढर्रामा रहेको छ भन्ने तथ्यको एउटा उदाहरण हो ।
चलचित्र निर्माणको सुरुको दशकमा नायिकाले नै कथा बोक्ने केही चलचित्र निर्माण भए पनि त्यसले उल्लेख्य रूपमा निरन्तरता पाउन नसकेको खरेल बताउँछन् । “माइतीघर, आमालगायत चलचित्र त्यो बेला बनेका थिए । त्यो समय नेपालमा भर्खर चलचित्र बन्न थालेको समय थियो,” उनी भन्छन्, “चलचित्र निर्माणको क्रम र संख्या बढ्दै जाँदा पक्कै पनि फिमेल प्रोटागोनिस्ट भएका चलचित्रको संख्या निकै कम छ ।”
व्यावसायिकतालाई केन्द्रमा राखेका कारण चरित्रप्रधान कथाले कम स्थान पाएको उनी बताउँछन् । “चलचित्रमा बिक्ने भनेकै हिंसा, यौन र संगीत हो । हिंसाका लागि पुरुष पात्र नै प्रयोग हुने भएकाले कथामा पुरुष पात्र नै खडा गरिने भयो,” उनी भन्छन्, “अर्को कुरा मेल डोमिनेटेड समाज भएकाले महिलालाई समान रूपमा नहेर्ने गरेकाले पनि महिलाप्रधान चलचित्र नबनेका हुन् ।”
हिंसा र यौनमा सधैँ पुरुषले नै जित्ने भएकाले पुरुष पात्रलाई नै मुख्य चरित्र बनाउने गरिएको खरेल बताउँछन् । “हिंसा र यौन सबैभन्दा धेरै बिक्री हुने भएकाले लक्षित वर्गका लागि पनि पुरुषप्रधान चलचित्र बनिरहेका छन् । यौनका लागि मात्रै महिला पात्र प्रयोग भएका छन् । यो पहिलादेखिकै चलन हो । कुन कुरा राख्दा बढी बिक्री हुन्छ, त्यसमा ध्यान दिइएको छ,” उनी भन्छन् ।
महिला चरित्रकै काँधमा कथावस्तु सुम्पिएको चलचित्र ‘कुमारी’ हो । यादव खरेल तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा काम गर्दा उक्त चलचित्र निर्माणको तयारी भएर पछि निर्माण गरिएको थियो । “महिलालाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्र कुमारी हो । म शाही नेपाल चलचित्र संस्थानमा अध्यक्ष हुँदा मैले नै कुमारीको कथा फाइनल गरेको हुँ । पछि म कारणबस छोडेर निस्किएँ । तर, त्यही कथामा चलचित्र बन्यो,” खरेल भन्छन्, “कुमारी प्रथाको विषयलाई कुमारीले उठान गरेको थियो । नेपालको संस्कृति र परम्परालाई उठाएको छ ।”
चलचित्र निर्माणको क्रम बाक्लिए पनि नायकप्रधान चलचित्र मात्रै बनिरहेका छन् । यद्यपि, अपवादका रूपमा केही चलचित्र भने निर्माण भएका छन् । नवीन सुब्बाको चलचित्र ‘नुमाफुङ्’ पनि फिमेल प्रोटागोनिस्ट भएको चलचित्र हो । नेपाली चलचित्रको इतिहासमा ‘नुमाफुङ्’ फरक धारको मौलिक चलचित्रको सुरुवात गर्ने चलचित्र पनि हो । फरक धारको पहिलो चलचित्र कुन भन्ने सन्दर्भमा नीर शाह ‘वासुदेव’ भएको दाबी गर्छन् । ‘नुमाफुङ्’ महिला पात्रले पूरै चलचित्रको कथा भन्ने चलचित्र थियो ।
चलचित्र ‘वसन्ती’ पनि महिला चरित्रप्रधान चलचित्र हो । नीर शाहले निर्देशन गरेको चलचित्र डायमण्ड शमशेरको उपन्यासमा आधारित चलचित्र हो ।
छिरिङरितार शेर्पाले निर्देशन गरेको चलचित्र ‘मुकुण्डो’ पनि महिलालाई मुख्य चरित्र बनाएर निर्माण गरिएको चलचित्र थियो । गौरी प्रधान र मिथिला शर्मा यो चलचित्रका मुख्य पात्र थिए ।
यादवकुमार भट्टराईले निर्देशन गरेको चलचित्र ‘झोला’मा पनि महिलाको चरित्र मुख्य छ । कृष्ण धारावासीको उपन्यास झोलाबाट नै यो चलचित्र बनाइएको थियो ।
घनश्याम लामिछानेको निर्देशनमा बनेको ‘धौली’मा पनि मुख्य चरित्र महिलालाई बनाइएको छ ।
दिदी–भाइको मायालाई केन्द्रीय कथा बनाएर निर्माण गरिएको ‘डाइङ क्यान्डल’ स्ट्रङ फिमेल प्रोटागोनिस्ट भएको चलचित्र हो । यो चलचित्रमा देखिने पुरुष पात्र चलचित्रको कथालाई अगाडि बढाउन आएका सहायक चरित्र मात्रै हुन् । “चलिरहेका भन्दा केही फरक कथामा काम गरौँ भन्ने सोचले काम गर्दा यो चलचित्र बनेको हो,” ‘डाइङ क्यान्डल’ निर्देशक तथा लेखक नरेशकुमार केसी भन्छन्, “ठ्याक्कै यही कारण भन्ने त छैन तर महिलाका कथा पनि उत्तिकै सशक्त छन् र ती चलचित्रमाफर्त भनिनुपर्छ भन्ने मेरो धारणा छ ।”
‘बुलबुल’ पनि महिला मुख्य भूमिकामा रहेको चलचित्र हो । बुलबुलको मुख्य चरित्रमा स्वस्तिमा खड्का छिन् । यसका निर्देशक विनोद पौडेल हुन् ।
पछिल्लो समय निर्माण भएको चलचित्र ‘आमा’ पनि महिला चरित्र मुख्य रहेको चलचित्र हो । दीपेन्द्र के खनालले यसलाई निर्देशन गरेका छन् ।
‘मैना’, राज्जा रानी’ लगायत केही चलचित्र पनि महिला चरित्रप्रधान फिल्म हुन् ।
समाजका कथा भन्नेभन्दा पनि बलिउड सूत्रमा लामो समय नेपाली चलचित्र बनेकाले महिला चरित्रप्रधान फिल्म नेपालमा धेरै निर्माण हुन नसकेको बुलबुल निर्देशक पौडेल बताउँछन् ।
“समाजमा रहेका कथाको गहिराइमा पुगेर कथा भन्नेभन्दा पनि बाहिर जे देखिन्छ, त्यसैको लेप लगाउने काम भयो,” पौडेल भन्छन्, “मेनस्ट्रिमको चक्करमा झट्ट हेर्दा साना–साना लाग्ने गहिरा कथा छुट्दै गएका हुन् । यसमा महिलाका कथा पनि छुटे ।”
महिलाले भोगे गरेका कुराहरु भन्नुको साटो उल्टै चलचित्र चलाउने नाममा महिलालाई प्रोडक्कको रूपमा प्रयोग गरिएको भन्दै उनी अगाडि थप्छन्, “महिलाको इनर साइकोलोजीमा काम गर्नुपर्ने धेरै छ ।”
महिलाप्रधान चलचित्र बनाउनैपर्छ भन्ने नभए पनि कलाकारको आँखाले हेर्दा समाजमा जे छ र देखिन्छ त्यो चलचित्रको माध्यमबाट भन्नुपर्ने चलचित्रकर्मीहरु बताउँछन् ।
महिलालाई चलचित्रमा मुख्य चरित्रमा उभ्याउँदा उनीहरुले पनि पुरुषसरह कार्म गर्छन् भन्ने प्रमाणित भइसकेको छ । ‘आमा’, ‘बुलबुल’ यसका उदाहरण हुन् ।
स्क्रिप्ट लेखनको आफ्नो १५ वर्षको करिअरमा आजसम्म महिलाप्रधान चलचित्रको स्क्रिप्ट चाहियो भनेर कोही पनि नआएको स्क्रिप्टराइटर प्रदीप भारध्वज बताउँछन् । “मैले स्क्रिप्ट लेख्न थालेको १५ वर्ष भयोे । तर, आजसम्म कसैले पनि फिमेल प्रोटागोनिस्ट चलचित्रका लागि स्क्रिप्ट चाहियो भनेर मसँग कोही मेकर पनि आउनुभएको छैन,” उनी भन्छन्, “छवी ओझाले केही चलचित्र रेखा थापालाई लिएर नबनाउनुभएको होइन । तर, ती पनि महिला चरित्रप्रधानभन्दा पनि बम्बईया प्रकृतिका चलचित्र थिए ।” उक्त चलचित्रले रेखालाई नेपाली चलचित्र उद्योगमा चलायमान बनाए पनि समग्र चलचित्र उद्योग भने चलायमान हुन नसकेको उनी बताउँछन् ।
महिला चरित्रप्रधान चलचित्रले व्यावसायिक सफलता प्राप्त गरेका केही नजिर नबसेसम्म सोही प्रकृतिका चलचित्र नबन्ने भारध्वजको धारणा छ ।