देशभर ८ मार्चका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो । नाराजुलुस, भाषणवाजी र अरू कार्यक्रम गरेर नारी अधिकारका विषयहरू उठाइयो । महिला शिक्षा र चेतनामा भएको प्रगति सँगै अधिकारको चर्को चर्चा हुनु पनि स्वाभाविकै हो ।
परन्तु, नेपालमा नारी दिवस मनाइँदै गर्दा दुई साताभन्दा बढीदेखी वासको बन्दोबस्तको माग गरेर कर्णाली प्रदेशको सुर्खेतमा धर्ना बसेका वादी महिलालाई बिर्सनुले भने महिला अधिकार आन्दोलनमा कतै न कतै गम्भीर कमजोरी भएको स्वीकार गर्नुपर्छ ।
अधिकार आन्दोलनहरू प्रायः सहरकेन्द्री हुन्छन् । धेरैजसो मध्यमवर्गीय परिवारका सदस्यहरू अधिकारका आन्दोलनमा अगाडि देखिन्छन् । यसैले गाउँका र अझ त्यसमा पनि गरिब र पछाडि पारिएका समुदायका समस्या अधिकार अभियन्ताले पनि खासै उठाउने गर्दैनन् । नारी अधिकार आन्दोलन पनि यसको अपवाद हुनसकेको देखिएन ।
नेपालको संविधानमा सबै नागरिकको बसोवासको अधिकार प्रत्याभूत गरिएको छ । त्यसलाई चरितार्थ गर्न भने सरकारले खासै ध्यान दिएको देखिँदैन । अहिले सत्तामा हुने कम्युनिस्टहरू आफूलाई गरिबका हितैषी भनेर थाक्तैनन् । धेरै वर्ष सत्तामा बसेका अहिलेको प्रमुख विपक्षी नेपाली काग्रेस पनि आफूलाई गरिब जनताको हितैषी नै ठान्छ । तैपनि देशका वास्तविक कमजोर र निमुखाहरूले संविधानले सुनिश्चित गरेको अधिकार मागेर धर्ना बस्नुपर्ने वाध्यता छँदैछ ।
सरकारी वा गैरसरकारी सबै क्षेत्रको नेतृत्व सहरको मध्यम वर्गले गर्दासम्म गरिबका वास्तविक समस्या सधैँ ओझेलमा पर्नु अस्वाभाविक होइन । नेपालको महिला अधिकार आन्दोलनले पैत्रिक सम्पत्तिमा अधिकार स्थापित गर्न लगाइएको समय र शक्ति नारीको आफ्नो शरीरमा नियन्त्रण कायम गर्न लगाइएको भए अहिले स्थिति अर्कै हुनसक्थ्यो ।
बादी महिलाको आन्दोलनको समर्थनमा राजधानीका अधिकारकर्मी र महिला अभियन्ताहरूले आवाज उठाइदिएको भए सायद सविधानले सुनिश्चित गरेको बसोवासको हक प्रचलन गराउन दुई साताभन्दा बढी धर्ना बस्दा पनि यसरी उपेक्षित पक्कै हुनुपर्ने थिएन ।
अभियन्ताहरूमा देखिने यस्तै कमजोरीले अधिकार आन्दोलनप्रति नै जनसमर्थन कमजोर हुँदै जाने हो । नारी अधिकार आन्दोलनमा पनि लोकतन्त्र स्थापना कालमा जति उत्साह र जनसमर्थन अहिले नदेखिनुको कारण यही हुनुपर्छ ।
यसैले अब महिलालगायत सबै अधिकार आन्दोलनले आआफ्ना अभियानलाई आधारभूत मानव अधिकारकै रूपमा उठाउन थाल्नुपर्छ । आधारभूत मानव अधिकार चरितार्थ नहुँदासम्म अधिकार आन्दोलन कमजोर वर्गका लागि पाखण्ड सिबाय अरू केही नहुनेरहेछ । सविधानले सुनिश्चित गरेको बसोवासको अधिकार चरितार्थ गर्न धर्नामा बस्न विवश बादी महिलाका लागि अन्तर्राष्ट्रिय नारी दिवसको सन्देश र समारोह कागलाई बेल पाके बराबरै न हो !