
काठमाडौँ । स–साना टुक्रे राज्यमा विभाजित नेपाललाई पृथ्वीनारायण शाहले एकीकरण गर्दा के कस्ता हतियार प्रयोग गरी जिते होलान् ? कहिले सोच्नुभएको छ ? उनले प्रयोग गरेका केही हतियार संग्रहालयमा हेर्न सकिन्छ ।
शाहका केही हतियार नेपाली सेनाको मुख्यालयस्थित पृथ्वीनारायाण शाह अध्ययन केन्द्रमा राखिएको छ । केन्द्रमा पृथ्वीनारायण शाहको राजगद्यी, खुकुरी, तत्कालीन समयमा प्रयोग भएका भाँडाकुँडा प्रतिरुपको रूपमा मात्र राखिएको छ । केही हातहतियार भने मौलिक स्वरुपमै राखिएको छ ।
यस्तैमा भेटिन्छ, भित्तामा एकार्काको विपरीत राखिएको दुुईवटा गुप्त लौरी । छाउनी संग्रहालयका प्रमुख सेनानी श्रवणकुमार प्रजापति लौरी पृथ्वीनारायण शाहभन्दा पनि अझ अगाडिको रहेको दाबी गर्छन् । सबै मानिसले प्राचीन हातहतियारको बारेमा जानकारी पाऊन् भनेर आर्मी ब्यारेकको तुमकोटखानाबाट ल्याएर केन्द्रमा राखिएको उनले बताए ।
एउटा लौरीको चुच्चो पेनको निबजस्तो छुरा आकारमा छ । अर्को लौरी सुुइरो आकारमा छ । टुप्पोमा चारदेखि ६ इन्च लम्बाइको सुइरो छ । दुवै लौरी फलाम र काठको सम्मिश्रणले बनेको छ । लौरीको समात्ने ठाउँ छाताको ह्यान्डलजस्तै घुम्रिएको छ । लौरी हिँड्डुल गर्न सजिलो होस् भनेर बूढापाकाले सहाराको लागि बोक्नेजस्तो देखिन्छ । बन्दुकको विकास नहुँदै यो लौरीको विकास भएको इतिहासविद्को भनाइ छ । जब फलामको विकास हुँदै थियो, त्यस बेला यो हतियार बनाएको हुनुपर्ने प्रमुख सेनानी प्रजापति बताउँछन् ।
उनका अनुसार कुनै बेला पृथ्वीनारायण शाहले यी लौरीका प्रयोग गरेको हुनुपर्छ । त्यस समाजका शक्तिशाली व्यक्तिले आत्मसुरक्षाका लागि बनाइएका यस्ता गोप्य लौरी प्रयोग गरेको हुनुपर्ने इतिहासविद्को अनुमान छ ।
प्रजापति भन्छन्, “पृश्वीनारायाण शाहले लामो समय राजकाज गर्दा एक देशबाट अर्को देश र सभा–सम्मेलनमा जाँदा जहाँ हतियार लैजान मिल्दैनथ्यो, ती ठाउँमा आत्मसुरक्षाका लागि यो लौरी लिएर जाने गरेको हुनुपर्छ ।” उनका अनुसार यस्तो लौरी अरु पनि छन् । तर, कति छन् भन्ने यकिन छैन । “शाहकालीन र राणाकालीन समयका शक्तिशाली व्यक्तिले यो लौरी अहिले पनि गोप्य रुपमा राखेको हुनुपर्छ,” उनले थपे ।
यो लौरी उत्खनन् गरेर नभई काठमाडौंमा नै भेटिएको हो । शाहले वि.सं. १८३१ मा काठमाडौंमा विजय हासिल गरेसँगै यो हतियार पनि सोही समयदेखि नै काठमाडौं आइपुगेको उनको अनुमान छ । सेनामा तोपखाना र तुुमकोटखाना भन्ने हुन्छ । पहिले टुँडिखेलको सबैभन्दा छेउमा घोडा तबेला थियो । त्यहाँ अहिले विद्युत् तथा यान्त्रिक सेवा निर्देशनालय छ । घोडा तबेलामा तोपखाना र तुमखाना थियो । तोपखानामा तोप र गोला राखिन्थ्यो । पछि सेनाको मुख्यालयस्थित तुमकोटखानामा हातहतियार राखियो । पुराना हतियार संकलन गरेर तुमकोटखानामा राख्ने गरिन्छ ।
पृथ्वीनारायाण शाह र त्योभन्दा अगाडिदेखि भेटिएका, बिग्रिएका र पुराना हतियार तुमकोटखानामै राख्ने गरिन्छ । पछि अध्ययन केन्द्रमा शाहका सामान राख्ने क्रममा पहिलेका राजा–महाराजाले आत्मरक्षाका लागि कस्ता हातहतियार प्रयोग गर्थे भनी देखाउन यो लौरी राखिएको प्रमुख सेनानी प्रजापतिले बाह्रखरीलाई बताए । यो लौरी तुमकोटखानाबाट ल्याई पहिलोपटक सार्वजनिक गरिएको हो ।
चुच्चोमा सुुइरो भएको लौरीको विशेष महत्व छ । चुच्चोले दुश्मनलाई घोपी घाउ सजिलै निको नहोस् भनेर रसायन राखिएको हुुन्छ । “महाभारतमा धनुषवाणमा विष राखेको जस्तो,” उनले भने, “यो लौरीले घाउ मात्र बनाउनेभन्दा घाउ निको नहुने शैलीले बनाएको हो ।”
यस्तै, छुराजस्तो आकारले बनाएको लौरी पनि कम खतरनाक छैन । यसले घोच्दा शरीरभित्र सजिलै छिर्ने र भित्रको अंग नै निकाल्न सक्ने हुन्छ । नजिक आएको दुश्मनलाई झुक्काएर यसले प्रहार गर्न मिल्छ । छाताको जस्तै घुमेको ह्यान्डल भए पनि त्यो बेला छाताको विकास भइनसकेको उनले बताए । ४०० वर्षअगाडि नै विकास भएको अनुमान गरिएको सो लौरीले त्यस बेलाको कालिगढको विकासको झझल्को दिन्छ ।