काठमाडौं । माइली श्रेष्ठ वसन्तपुर आसपास नाङ्लो पसल चलाउँछिन् । उमेरले ७० काटिसक्दा पनि उनलाई तातो पानी तताएर दिने कोही छैन । त्यसैले उनी फुर्सदमा घरमै खाना बनाउँछिन् त कहिले होटेल पुग्छिन् ।
काठमाडौंको भीमसेनस्थान परोपकार स्कुलअगाडिको एक रेस्टुरेन्टमा बाह्रखरीकर्मी पुग्दा उनी पनि त्यहीँ खाना खान पुगेकी थिइन् ।
आफूले थैलीमा राखेको ५० र १० रुपैयाँको नोट झिकिन् र मासु भात अर्डर गरिन् । अर्डर गरेको केही बेरमै थालीमा भात, तरकारी, दाल, अचार, सलाद आइपुग्यो । एक कप चिया र बिस्कुटको मूल्यमा मासुभात खान पाएकामा उनी मख्ख थिइन् । त्यो रेस्टुरेन्टमा उनीजस्तै दैनिक नाङ्ले पसल राखेर आफ्नो गुजारा चलाउने, कालीमाटीमा भारी बोक्नेदेखि विद्यार्थीहरू थिए ।
त्यही एक कुनामा मनबहादुर खत्री पनि खाना खाँदै थिए । उनी विगत १३ वर्षदेखि कालीमाटीमा भारी बोक्ने गर्दारहेछन् । रोल्पाबाट भारी बोक्नै भनेर काठमाडौं छिरेका खत्रीको कहाँ खाना खाने भन्ने टुंगो थिएन । विगत दुई महिनादेखि उनको दैनिक खाना खाने ठाउँ बनेको छ ‘खाना सबैलाई’ रेस्टुरेन्ट ।
कोरोना महामारीले निम्त्याएको आर्थिक संकटबाट दीर्घकालीन राहत स्वरुप लक्षित वर्गलाई न्यून मूल्यमा खाना उपलब्ध गराउने उद्देश्यसाथ आफूहरूले ‘खाना सबैलाई’ रेस्टुरेन्ट सञ्चालन गरेको कृष्णहरि भट्टराई बताउँछन् ।
काठमाडौंको भिमसेनस्थानमा ‘खाना सबैलाई‘ गैर-नाफामूलक रेस्टुरेन्ट कृष्णहरि भट्टराई, नवराज मोक्तानलगायत जम्मा पाँचजना सदस्यले स्थापना गरेका हुन् ।
उनीहरूले साधारण मानिस र न्यून आय भएकाहरूलाई भनेर छुट्टाछुट्टै मूल्यसूची बनाएको छन् । न्यून आय भएका अर्थात् उनीहरूको ‘लक्षित वर्ग’का मानिसका लागि सहुलियत दर मात्र ५० रुपैयाँमा सादा खाना सेट (भात, तरकारी, दाल, अचार, सलाद) वा ६० रुपैयाँमा मासुसहित खाना खुवाइन्छ ।
यस्तै लक्षितवर्गभन्दा अरु अर्थात् पैसा तिरेर खान सक्नेले भने मासुसहितको खाना सेटलाई ११० रुपैयाँ र सादालाई १०० रुपैयाँ तिर्नुपर्छ ।
यही टिमले कोरोनाका कारण रोजगारी गुमाएर लामो समय काठमाडौंका विभिन्न स्थानमा नि:शुल्क खाना वितरण गरेको थियो ।
कोरोनाको संक्रमण कम भएपछि भने श्रमिकहरूले कम खर्चमै खान पाऊन् भनेर गत पुस ९ देखि सञ्चालनमा आएको भट्टराई बताउँछन् । रेस्टुरेन्ट बिहान साढे नौदेखि साढे १२ बजेसम्म र बेलुकी भने ६ देखि ८ बजेसम्म मात्र खुल्छ ।
आफूहरूले गैरनाफामूलक सञ्चालन गर्नुको उद्देश्य न्यून आय भएका मानिसहरूलाई सहुलियतमा खाना खुवाउने भएको भट्टराई बताउँछन् ।
साधारण दरबाट हुन आउने सम्पूर्ण मुनाफाबाट न्यून आय भएका मानिसलाई सहुलियत दरमा खाना खुवाउन सहयोग पुग्ने उद्देश्यले रेस्टुरेन्ट सुरु गरे पनि साधारण दरमा खाना खाने १० प्रतिशतभन्दा कम छन् ।
“हामीहरूले सुरुमा श्रमिकहरूलाई सहज होस् भनेर कालीमाटी बजार र भीमसेनस्थानवरपरका श्रमिक र न्यून आय हुने तीन सयभन्दा धेरैलाई हाम्रो रेस्टुरेन्टबारे बतायौँ । हामीहरूले दैनिक ज्याला-मजदुरी गर्ने र होटेलमा खाना खानेलाई कुपन नै बनाएर दिँयौ,” बिस्तारै साधारण मूल्यमा खाना खानेहरू पनि बढेको सुनाउँदै भट्टराई थप्छन् “लक्षितवर्ग नै पहिलो प्राथमिकता भएकाले अरुले थाहा नपाएका हुन् । अब त छेउछाउका व्यापारीहरूसमेत यहीँ आएर खाना खान सुरु गरेका छन् ।”
सहुलियतदरमा खाना खान पाउने वर्गमा दैनिक ज्यालादारी गर्ने मजदुर, भरिया, निर्माणसम्बन्धी कामदार, फुटपाथ व्यापारी, सफाइमा खटिने कामदारलगायत ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्ति तथा न्यून आय भएका मानिसहरू छन् ।
दैनिक खाना खाने न्यून आय भएकाहरूलाई सहुलियतको कुपन र साधारण मानिसहरूलाई साधारण कुपन नै बनाएका छन् । उक्त कुपन प्रयोग गरेर हरेक दिन सोही दरमा खाना उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
“कोरोना महामारीले निम्त्याएको आर्थिक संकटबाट दीर्घकालीन राहत स्वरुप लक्षितवर्गलाई न्यून मूल्यमा गुणस्तरीय, स्वस्थ, सफा तथा ताजा खाना उपलब्ध गराउने हाम्रो उद्देश्य हो,” उनी उद्देश्यबारे थप प्रस्टयाउँदै भन्छन्, “न्यून आय भएका मानिसहरूलाई खानाबाट बचेको पैसाबाट उहाँहरूको अन्य आधारभूत आवश्यकताहरू पूर्ति गर्न टेवा पुगोस् भनेर खाना सबैलाई रेस्टुरेन्ट सञ्चालन गरेका हौं ।”
खाना खान पाउने मौलिक हकबाट कोही पनि वञ्चित नहोस् भनेर आफूहरूले काम आरम्भ गरेको भट्टराई बताउँछन् । रेस्टुरेन्ट सञ्चालनको दुई महिनाभन्दा धेरै हुँदा दैनिक तीन सयभन्दा धेरै लाभान्वित भएका छन् ।
सुरुवाती दिनदेखि हालसम्म ‘हगिङ नेपाल’ नामक संस्थाबाट स्थापना लागत तथा सञ्चालनमा आंशिक सहयोग भएको सञ्चालक भट्टराईको भनाइ छ । “अब अगाडिका दिनमा नेपालीहरूबाटै स्वनिर्भर बनाउने योजना छ,” उनले बाह्रखरीलाई भने ।