site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सम्पदाको ऐतिहासिकता मास्ने महानगरको नियत !

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा पुनर्निर्माणको नाममा धार्मिक, सांस्कृति, ऐतिहासिक, पुरातात्त्विक महत्त्व नबुझेको भन्दै चौतर्फी विरोध प्रदर्शन भइरहेको छ । कैयौंपटक स्थानीय र संरक्षण अभियान्ताले निरन्तर सम्पदाको ऐतिहासिकतबारे बुझाउने प्रयास गर्दा गर्दै महानगरले झन्-झन् उल्टोपाल्टो काम गर्न थालेपछि विरोध गरेका हुन् । 

कमलपोखरीको ऐतिहासिकतामाथि महानगरको डोजर
कमलपोखरीमा डोजर आतंक रोक्न माग गर्दै महानगरअगाडि धर्नामा भेटिएका सम्पदा संरक्षण अभियान्ता गणपतिलाल श्रेष्ठले महानगरले सम्पदाको ऐतिहासिकताको महत्त्व नष्ट गरेको बताए । ‘‘सम्पदा पुनर्निर्माणको पुरातात्त्विक ऐतिहासिक महत्त्व मास्ने महानगरको आलोचना हुँदा यसको दबाब महानगरलाई परेको छ । सम्पदा पुनर्निर्माण गर्न सम्पदाको ऐतिहासिक महत्त्व जोगाएको दाबी गर्दै आएको छ । तर सम्पदा पुनर्निर्माण भइरहेको ठाउँमा गइयो भने अवस्था बेग्लै छ, उनले भने, ‘‘महानगरले सम्बन्धित पक्षसँग छलफल नगरी काम सुरु गर्दा सम्पदाको पुरातात्त्विक ऐतिहासिक महत्त्व नष्ट हुँदै आएको छ । कमलपोखरीलाई कंक्रिट पोखरी नबनाउँ भन्दै विरोध गरेको करिब एक वर्ष भयो । तर महानगर टेर्दै टेर्दैन ? हामीले सकेसम्म विरोध गर्ने हो, विरोध गरेअनुसारको महानगरले प्रतिफल देखाउनुपर्छ । स्थानीयको सल्लाहबमोजिम काम गर्नुपर्छ । कमलको फूल फुलाउने कमलपोखरीमा अब सिमेन्टको फूल फुलाउने रे ।”

कमलपोखरीनजिकै घर भएका शुसान वैद्यले धर्म संस्कृति, परम्परालाई ख्याल नगर्दा महानगरमै आएर विरोध गर्न बाध्य भएको जानकारी दिए । ‘‘महानगरपालिकाले मनोमानी पोखरीमा डोजर चलाई कंक्रिट फुलाउन खोज्दा कैयौँपटक महानगर धाउँदा पनि स्थानीयको समस्या बुझ्न सकेको छैन । सुरुमा त ऐतिहासिक महत्त्व बोकेको पोखरीको पानी नै सुकाउन जरुरी थिएन । महानगरले जलप्राणीको अस्तित्व समाप्त पारेर पानी सुकायो । हामीले पानीमा साँच्चिकैको कमलको फूल फुलाउन माग गर्‍यौं, त्यसको सट्टा कंक्रिटको कमलको फूल पायौँ । धेरैपल्ट महानगरमा गुहार माग्दा पनि सुनेन् । त्यसपछि नागरिक आन्दोलनलाई गुहार माग्यौँ र कंक्रिट भत्काउन बाध्य भयौँ । महानगरले हाम्रो मौलिकतामाथि आक्रमण गरको छ ।”

महानगरले रानीपोखरीबाट पाठ सिक्न सकेन  
नागरिक आन्दोलनका अभियान्ता रवीन्द्रकुमार श्रेष्ठले महानगरले रानीपोखरीबाट पाठ सिक्न नसकेको बताए । ‘‘कमलपोखरीको जसरी नै २०७२ को भूकम्प पश्चात रानीपोखरीमा पनि महानगरले कंक्रिट प्रयोग गर्न आँटेको थियो । स्थानीय बासिन्दा र सम्पदा संरक्षण अभियान्ताको लामो विरोधले रानीपोखरीले आफ्नो ऐतिहासिक जीवित रुप पायो । सुरुसुरुमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको हाइहाइ थियो," उनले भने, ‘‘तर अहिले स्थानीय जनतामाथि नै खेलबाड गर्न थालेका छन् । स्थानीयका सम्पदालाई अतिक्रमण गरी हामीलाई सकस निम्त्याउने काम गर्दै आएका छन् । पहिला मेयर शाक्य काम नगरीकनै चर्चामा आए । राजधानी बाहिरबाट आएका मानिसले बिगारेको भन्दा उनी चर्चामा आए । अहिले अब कसलाई दोष दिनुहुन्छ खोइ मेयरज्यू ? आफैं सम्पदा बनाउने भन्दै सम्पदाको पुरातात्त्विक महत्त्व नष्ट पार्दै आएका छन् । काठमाडौं सम्पदाले नै चिनिने क्षेत्र हो । मेयर शाक्यको एकलौटी निर्णय कहिलेसम्म टिक्छ ?”

धरहरा भ्युटावरजस्तो बन्दै छ
सम्पदा संरक्षण अभियन्ता श्रेष्ठ महानगरले धरहरा निर्माण गर्न भन्दै योजना बनाएको बताउँछन् । ‘‘योजनाबमोजिम सबैलाई लागेको थियो अब पुरातात्त्विक महत्त्वको धरहरा उठ्नेछ । तर अहिले सिमेन्टको भ्युटावरजस्तो धरहरा नवनिर्माण भइरहेको छ । पुनर्निर्माण होइन यो नवनिर्माण हो," उनले भने, ‘‘गोर्खा भूकम्पबाट भत्किएको पुरानो धरहराको स्वरुप कहाँ खोज्ने हाम्रा सन्ततिले ? भूकम्पबाट भत्किएको बाँकी धरहरा अहिले जमिनमा मिसिँदै छ । नयाँ कंक्रिटमय भ्युटावर बनाउने नाममा बाँकी पुरानो धरहरा गायब हुँदै छ । नत यसलाई पुनर्निर्माण गरियो, न बाँकी धरहरालाई संरक्षण नै ? अबका सन्ततिले पहिलाको पुरातात्त्विक महत्त्वको पुरानो धरहरा देख्न पाउँने छैनन् । मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण गरेका सम्पदा अहिलेसम्म विवादकै बीच उठेका छन् ।” 

सम्पदाको ऐतिहासिकता महानगरलाई बुझाएरै छाड्छौं 
पुनर्निर्माण भइरहेका सम्पदाको धार्मिक सांस्कृतिक ऐतिहासिक महत्त्व बुझाएरै छाड्ने सम्पदा संरक्षण अभियान्ताले दाबी गरेका छन् । सम्पदा संरक्षणकर्मी आलोकसिद्धि तुलाधरले महानगरलाई हरेक सम्पदाको मौलिकताबारे बुझाएरै छाड्ने बताए । ‘‘सम्पदाको मौलिकतामाथिको महानगरको ज्यादति कतिन्जेलसम्म टिक्छ । यसबारे महानगरले गम्भीर भएर सोच्नैपर्छ," उनले भने, ‘‘सम्पदाको मौलिकता जोगाउनकै लागि १४ वर्षदेखि लागि पर्दै आएका छौँ । यदि महानगर आफैं सचेत भएको भए हामीले केही भन्नै मिल्दैनथ्यो । हरेक सम्पदाको मौलिकता कायम राख्न महानगरमा खबरदार गर्नैपर्ने देखिन्छ । महानगरले बुझ्न नखोजेको हो कि, बुझेर पनि बुझ् पचाको हो ?” 

गोर्खा भूकम्पले भत्काएका सम्पदा पुनर्निर्माण गर्न पाउनु अवसर : महानगर
महानगरका मेयर शाक्य गोर्खा भूकम्पले भत्काएका सम्पदा पुनर्निर्माण गर्नु अवसर रहेको बताउँदै आएका छन् । उनी महानगरका प्रत्येक कार्यक्रममा ऐतिहासिक महत्त्वका सम्पदा पुनर्निर्माण गरेको कुरा नछुटाई भन्छन्, ‘‘काठमाडौं महानगर सबैभन्दा जेठो महानगर हो, यहाँका धार्मिक सांस्कृतिक परम्परागत सम्पदाले चिनिन्छ ।”

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत राजेश्वर ज्ञवाली मेयर शाक्यले निर्विवाद काम गरिरहेको बताउँछन् । "पुनर्निर्माणका काममा सबैको सहभागितामा मास्टर प्लान बन्छ," उनी भन्छन्, ‘‘ऐतिहासिक, पुरातात्त्विक महत्त्वमै आधारित रहेर सम्पदा उठिरहेका छन् । पुरातत्त्व विभाग, स्थानीय, सम्पदा संरक्षण अभियान्ता सम्बन्धित निकाय सबै मिलेर सम्पदा पुनर्निर्माण गर्दै आएका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  २३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro