
काठमाडौँ । १५ वर्षीय प्रदीप थापाको मुटुमा समस्या छ । मुटुमा प्वाल परेकाले श्वास फेर्न गाह्रो हुन्छ । मुटुमा समस्या भएकै कारण उनी सुस्तरी बोल्छन् । प्रदीप कक्षा–६ मा पढ्छन्, सफलता एचआईभी शिक्षा सदनमा ।
प्रदीप मुटुुरोगी मात्र होेइनन्, उनी एचआईभी संक्रमित पनि हुन् । नवलपरासीबाट आएका प्रदीप कक्षाका अरु केटाकेटी जस्तै खेल्न मन गर्छन् । तर, उनी कुद्न र उफ्रिन सक्दैनन् । धन्न सदनमै विद्यार्थी बस्न पाउने व्यवस्था भएकाले उनलाई खान, बस्न, पढ्न र औषधोपचारको समस्या भने भोग्नुपरेको छैन । थापाकी आमा बितिसकेकी छन् भने बुुवा गाउँमै बस्छन् ।
पढ्नमा तेजिली स्वस्तिका भण्डारी ७ वर्षदेखि शिक्षा सदनमा बस्दै आएकी छन् । बर्दियाबाट आएकी उनी पनि एचआईभी संक्रमित हुन् । भण्डारीका बुुवा–आमा दुवै एचआईभी एड्स संक्रमित हुन् । बुवा–आमा कसरी एचआईभी÷एड्स संक्रमित भए, उनलाई थाहा छैन । घरमा दाजु–दिदी पनि छन् । उनीहरुलाई भने एचआईभी भएको छैन ।
बर्दियामा हुुँदा स्वस्तिकालाई आमाले लुकाएर औषधि खुुवाउँथिन् । करिब ६ वर्षको हुँदा स्वस्तिकाले आफू एचआईभी संक्रमित भएको थाहा पाइन् । उनलाई मान्छेले अवहेलना गरेको त थाहा छैन । तर, यहाँ आएदेखि नै दसैँमा पनि उनी घर गएकी छैनन् । “मलाई यहीँ रमाइलो लाग्छ । बुुवा–आमा र दाजु–दिदी यहीँ भेट्न आउनुुहुन्छ,” उनी भन्छिन् ।
नर्स या डाक्टर बन्ने रहर साँचेकी स्वस्तिका अन्य सामान्य बालबालिका जस्तै आफू स्वस्थ रहेको बताउँछिन् । उनी भन्छिन्, “पहिलाको जस्तो सोच राख्नु पर्दैन । औषधि र खानामै हो सबै कुरा पाउने । पौष्टिक खाना र नियमित औषधि सेवन गरेकोले कुुनै समस्या परेको छैन । पढ्न, खेल्न र कुद्न सहजै सक्छौँ ।”
एचआईभी संक्रमितलाई छुुट्टै विद्यालय
राजकुमार पुन र उमा गुरुङ रत्नराज्यलक्ष्मी क्याम्पसमा सहपाठी थिए । समाजसेवामा रुचि राख्ने दुवैजना अन्य साथीसहित वर्षको एकपटक कहिले सडक बालबालिकालाई, कहिले बाढीपहिरो पीडित त कहिले दीनदुःखीलाई रकम या सामान मद्दत गर्थे । करिब १३ वर्षअगाडि यसरी नै मद्दत गर्ने क्रममा उमाको नजर एउटा समाचारमा प¥यो । एचआईभी संक्रमित बालबालिकाले पढ्न नपाएको बारे लेखिएको उक्त समाचारले उनी खिन्न भइन् । यस्ता बालबालिकाको उत्थानकोे लागि राज्यको ध्यान नगएकाले उनीहरु सहयोगी मन लिएर केही राहत बाँड्ने सोचेर गए ।
दाङको एचआईभी संक्रमितलाई सहयोग गर्न जाँदा एकजना संक्रमितको फुपूले आफ्नै आँखाअगाडि दुर्व्यवहार गर्दै बालकलाई आफैँसँग लैजाऊ भनेपछि राजकुुमार अलमलमा परेका थिए । राहत दिने मात्र उद्देश्यले गएका उनीसँग न त संस्था नै थियो, न कुनै ठाउँमा ती संक्रमितलाई राख्न सक्ने अवस्था । त्यसपछि उनी काठमाडौं आए र साथीसँग छलफल गरे । अन्ततः एक वर्षपछि संस्था दर्ता गरी एचआईभी संक्रमित बालबालिकालाई राख्न सुरु गरे । तर, उनीसँग भवन नहुँदा भाडाको घरमा बस्न असहज भयो । घरमालिकले एचआईभी संक्रमित बस्न नदिने भनेपछि राजकुमारले कीर्तिपुरको आफ्नो दुईतले घर बेचे भने उमाले कस्मेटिकको होलसेल पसल बेचेर १० आनामा विद्यालयसहितको छात्रावास बनाए ।
कक्षा–१० सम्म पढाइ हुने विद्यालयमा हाल २७ जना विद्यार्थी पढ्छन् । बैतडी, दाङ, साँखुका बालबालिका पढ्ने विद्यालय देशको एक मात्र एचआईभी संक्रमित पढ्ने विद्यालय हो । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्कालीन अक्षयकोष एक करोड रुपैयाँ राखिदिएपछि केही सहज भएको संस्थाका अध्यक्षसमेत रहेका राजकुमार बताउँछन् ।
देशभरि एचआईभी संक्रमित करिब १२ सयको संख्यामा छन् । समाजले भेदभाव गर्दा राज्यले ध्यान नदिँदा ती बालबालिकाले विद्यालय पढ्नबाट वञ्चित भइरहेका छन् । राजकुमार र उमा ती तमाम बालबबालिका लागि केही गर्न चाहन्छन् । उनी भन्छन्, “जन्मेपछि मान्छे मर्छ नै । रोगको नाममा कसैलाई भेदभाव गर्नु हुँदैन । यसमा न त यी बालबालिकाको नै केही दोष छ । शिक्षा, स्वास्थ्य र सहयोग पाए हाम्रा बालबालिका अरुभन्दा कम छैनन् । राज्यले र समाजले भेदभाव गर्न मिल्दैन ।”
त्यसो त केही पहलकदमीस्वरुप गत वर्ष सरकारले एक करोडको अक्षय कोष खडा गरेर संस्थालाई सहयोग गरेको छ । एक करोडको ब्याजले संस्था चलाउन केही सहयोग मिलेको संस्थाको भनाइ छ । यस्तै, सरकारले संक्रमित विद्यार्थीका लागि मासिक सामाजिक सुरक्षा भत्ता तीन हजार रुपैयाँ दिएको छ ।
एचआईभी रोगभन्दा पनि संक्रमण फैलाउने भाइरस भएकाले बालबालिकाको मनोबल बढाउन राजकुमार र उमा हरपल प्रयासरत् देखिन्छन् । यसका लागि उनीहरुले बालबालिकाको आत्मविश्वास बढाउनेदेखि उनीहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिँदै आएका छन् । राजकुमार भन्छन्, “लकडाउनमा जनमानसमा कोरोनाभाइरसले एचआईभी संक्रमित भएका बालबालिकालाई बढी असर पर्छ भन्ने विश्वास देखिन्थ्यो । तर, हामी सधैँ सतर्क रह्यौँ । नियमित जाँचमा रह्यौँ । त्यसैले हाम्रा बालबालिका सुरक्षित रहे ।”