काठमाडौं । सरकारले ठूलो विदेशी ऋण सहायता लिँदा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा मुलुकको बाह्य अवस्थाअनुकूल देखिएको छ । आयातमा बढ्दा हुँदा पनि सरकारले बढाएको वैदेशिक ऋणले शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) को बचत उल्लेख्य रुपमा बढेको छ भने विदेशी विनिमय सञ्चितिसमेत बढेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा प्रतिवेदनमा चालु आर्थिक वर्षको ६ महिनामा शोधनान्तर स्थिति एक खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको उल्लेख छ । कोभिड प्रभावका बाबजुत पनि रेमिट्यान्स प्रभावित भएन भने एक महिनामै ३४ अर्बमाथि विदेशी ऋण सहायता लिँदा शोधनान्तर बचतसँगै विदेशी विनिमय सञ्चिति हो । पुस महिनामा निर्यात र रेमिट्यान्स औसत नै रहेको अवस्थामा छ भने आयातमा भारि वृद्धि भएको छ । तर पनि शोधनान्तर बचत बढ्नुको कारण पुसमा बढेको वैदेशिक ऋण सहायता नै भएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख तथा प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।
“रेमिट्यान्स र निर्यात औसत रहेको अवस्थामा आयात बढ्दा पनि शोधनान्तर बचत वृद्धि हुनुको कारणका भनेको सरकारको वैदेशिक ऋण सहायता बढेर हो,” भट्टले भने, “मंसिर मसान्तमा ३१ अर्ब २३ करोड रहेको सरकारको विदेशी ऋण सहायता पुस मसान्तमा ६५ अर्ब ६० करोड पुगेको छ ।”
चालु आर्थिक वर्षको ६ महिनामा कुल ६ खर्ब ६१२ अर्ब २५ करोड रुपैयाँको आयात हुँदा पुस महिनामा मात्रै एक खर्ब ३५ अर्ब ७५ करोडले आयात बढेको छ । यस्तै ६ महिनामा ६० अर्ब ८० करोडको निर्यात भएको छ । जसमध्ये पुसमा १० अर्ब ७४ करोड रुपैयाँबराबरको आयात भएको छ । यस्तै नेपालमा विदेशी मुद्राको प्रमुख स्रोतका रुपमा रहेको रेमिट्यान्स पनि अघिल्लो महिनाकै जस्तो औसत नै छ । पुसमा ७८ अर्ब ५० करोड रेमिट्यान्स भित्रिएको छ ।
यस्तो अवस्थामा शोधनान्तर बचत भने मंसिरको तुलनामा १८ अर्ब ४४ करोडले बढेको छ । मंसिर मसान्तमा एक खर्ब ६ अर्ब ४८ करोड रहेको शोधनान्तर बचत पुसमा एक खर्ब २४ अर्ब ९२ करोड पुगेको छ । शोधनान्तर बचत मात्रै नभएर विदेशी मुद्राको सञ्चिति पनि बढेको । विदेशी विनिमय सञ्चिति पनि १९ अर्ब ४१ करोडले बढेको छ । कात्तिकको भन्दा मंसिरमा शोधनान्तर बचत र विदेशी विनिमय सञ्चिति दुवै घटेको थियो ।
२०७७ पुस मसान्तमा बैंकिङ प्रणालीमा कुल १४ खर्ब ९३ अर्ब ७५ करोड विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । २०७७ असार मसान्तमा यस्तो सञ्चिति १४ खर्ब एक अर्ब ८४ करोड रहेकोमा ६ महिनामा ६.६ प्रतिशतले बढेको हो । नेपाली मुद्रामा मात्रै नभएर अमेरिकी पनि विदेशी विनिमय सञ्चिति बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा २०७७ पुस मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
कोभिडले घटेन रेमिट्यान्स, ११ प्रतिशतले बढ्दा ६ महिनामा करिब ५ खर्ब भित्रियो
मुलुकसँग पर्याप्त विदेशी विनिमय सञ्चिति रहेकाले पूर्वाधार निर्माणका लागि आयात बढे पनि अहिले नै आतिनुपर्ने अवस्था नरहेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख भट्ट बताउँछन् । कोभिडको प्रभावका बाबजुत पनि रेमिट्यान्स बढिरहेको र चालु आर्थिक वर्षको अन्त्यसम्म पनि गत वषकै हाराहारीमा रेमिट्यान्स आउने उनको भनाइ छ ।
आर्थिक वर्ष ०७७/७८ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.९ महिनाको वस्तु र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त प्रतिवेदनमा उल्लेख छ ।
-फाइल तस्बिर