site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खुुला विश्वविद्यालय अब पूरै अनलाइनमा 

काठमाडौं । नेपाल खुला विश्वविद्यालयमा पछिल्लो समय विद्यार्थीको  आकर्षक बढ्दो छ । सामाजिक शास्त्र तथा शिक्षा, विज्ञान, स्वास्थ्य तथा प्रविधि र व्यवस्थापन तथा कानुन गरी तीनवटा संकायमा अहिलेसम्म २५ वटा कोर्स सञ्चालन गरिरहेको छ । कोरोना संक्रमणले विश्व नै आक्रान्त भएर परम्परागत विश्वविद्यालय तथा क्याम्पस बन्द भएको बेला पनि खुला विश्वविद्यालय भने खुला नै रह्यो ।

खुला विश्वविद्यालयको अवधारणा ०३७ मै आएको थियो । तर, ०६९ मा खुला पूर्वाधार विकास समिति गठन भयो । त्यसको कार्यकारी निर्देशक अहिले खुला विश्वविद्यालयका रजिष्टार कमल ढकाल भए । नेपाल खुला विश्वविद्यालय ऐन २०७३ पारित भएपछि खुला विश्वविद्यालय स्थापना भयो ।

खुला शिक्षा प्रणालीका नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानको व्यवस्था गरी उच्च शिक्षामा सर्वसाधारणको सहज पहुँच पुर्‍याई ज्ञान, सीप, प्रविधियुक्त जनशक्ति उत्पादन गर्नका लागि सरकारीस्तरमा खुला विश्वविद्यालय स्थापना भएको हो । विश्वविद्यालयले थोरै समयमा पनि उच्च शिक्षा लिनबाट वञ्चित भएका विद्यार्थीलाई आकर्षित गरेको रजिष्टार ढकाल बताउँछन् ।

लकडाउनले खुला विश्वविद्यालयलाई झन् पूर्ण डिजिटल बनाइदिएको छ । पहिला आवेदन भर्ने, भर्ना गर्ने, भर्नापछि कक्षा लिनको लागि प्रविधि अभिमुखीकरणको तालिम प्रत्यक्ष दिइन्थ्यो । तर, अहिले कोरोना महामारीपछि परम्परागत विश्वविद्यालयहरुसमेत डिजिटल प्रविधिमा गएपछि खुला विश्वविद्यालयले अनलाइनबाटै भर्ना लिने, परीक्षा लिने, प्रविधि अभिमुखीकरण तालिमलगायत सबै अनलाइनबाट सुरु गरेको छ । अब विद्यार्थीले अनलाइनमै बसी विश्वका कुनै पनि कुनाबाट पढ्न पाउँछन् ।

भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने गरेको भए पनि पछिल्लो समय अनलाइनबाट सञ्चालन गरेको थियो । यसका लागि विज्ञान संकायका विद्यार्थीले २४ घण्टाभित्र पूरा गर्नुपर्ने ओपन बुक एक्जाम सिस्टममा दिएका थिए । यस्तै, व्यवस्थापनका विद्यार्थीले टाइम बाउन्ड विधिबाट परीक्षा दिएका थिए । विद्यार्थीले अनलाइनमा क्यामेरा अन गरी कापीमा उत्तर लेखेर स्क्यानिङ गरेर वा मोबाइलले फोटो खिचेर उत्तर पठाएका थिए । यो विधिबाट परीक्षा लिँदा खर्चालु हुने रजिष्टार ढकाल सुनाउँछन् ।

कक्षा कसरी सञ्चालन हुन्छ ?
राम्रो स्मार्टफोन व ल्यापटप भए विद्यार्थीले ढुक्कले कक्षा लिन पाउँछन् । पहिला स्काइपबाट कक्षा सञ्चालन भए पनि पछि भने गुगलको टिम्सबाट पढाइ हुने गरेको छ । कक्षा लिन नसके अर्काइभमा राखेका भिडियो पुनः हेर्न सक्छन् । शिक्षकले दिएका गृहकार्यहरु अनलाइनबाटै बुुझाउँछन् । अनलाइनमै रेकर्ड राखिने भएकोले कसैको नक्कल गरेर हुबहु सारेका र अनलाइनबाट चोरेका सामग्रीहरु सजिलै शिक्षकको नजरमा पर्ने र शिक्षकले त्यस्तो गरे प्रशासनले तुरुन्त थाहा पाउने हुँदा यो बढी प्रभावकारी हुने रजिष्टार ढकालले बताए । विद्यार्थीले खुला विश्वविद्यालयको वेबसाइटमा गएर स्टुडेन्ट प्यानलमा क्लिक गरी आफ्नो एकाउन्टमा लगइन गरी कक्षामा बस्न, ई–पुस्तकालयको प्रयोग गर्न र गृहकार्य बुझाउन मिल्छ । 

खुला विश्वविद्यालयमा चौथो सेमेष्टर सकेर थेसिस गरिरहेका पुरुषोत्तमबहादुर रौनियार कामकाजी विद्यार्थीको लागि यो उपयोगी भएको बताउँछन् । पूर्णकालीन सरकारी जागिरे उनी भर्ना हुँदा काठमाडौँमा थिए, अहिले पर्सामा छन् । उनी भन्छन्, “मेरो जागिर सरिरहन्छ । एमबीए अन्य क्याम्पसमा भए पनि जागिरको काज सरिरहने भएकाले म पढ्न भ्याउँदिनथेँ ।”

सफ्टवेयर चलाउन सुरुमा गाह्रो हुने भएपनि पछि अनलाइनमा पढ्न सजिलो हुने उनी सुनाउँछन् । “परम्परागत कक्षाकोठाभन्दा अनलाइनमा पढाइ राम्ररी हुन्छ । ध्यान दिएर पढिन्छ । नबुझेको कुुरा तुुरुन्त युट्युबमा हेरिन्छ,” उनले भने ।

आफ्नै सर्भर छैन
अनलाइनमा पढाउने विश्वविद्यालयको अहिलेसम्म आफ्नै सर्भर छैन । सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) सर्भरबाट विश्वविद्यालयको सर्भर चलिरहेको छ । यस्तै, अमेरिकन डाटा सेन्टरबाट पनि केही सर्भर सहयोग प्राप्त भएको छ । सूचना तथा प्रविधिको भौतिक पूर्वाधार नहुुँदा कतिपय राम्रा कोर्सहरु पढाउन नसकिएको व्यवस्थापन तथा कानुन संकायका डीन प्रा. डा. शीलु बज्राचार्यले बताइन् । आफ्नै सर्भर नहुँदा बेला–बेलामा कक्षा सञ्चालनमा समस्या आएको रजिष्टार ढकाल पनि स्वीकार्छन् ।

प्रा. डा. बज्राचार्य  भन्छिन्, “धन्न कुलमान घिसिङले लोडसेडिङ हटाउनुुभयो र बिजुली बतीको भने तनाव लिनुपरेको छैन ।”

विश्वविद्यालयको ई–पुस्तकालय राम्रो बन्न सकेको छैन । अनलाइनमा पढाइ हुने भएपछि पुस्तकालय बलियो हुनुुपर्ने मत राख्छिन्, बज्राचार्य । उनी भन्छिन्, “गतिलो सफ्टवेयर नभएर ई–पुस्तकालय राम्रो बनाउन सकेका छैनौँ । नत्र हामी उदाहरणीय नै बन्न सक्थ्यौँ । हाम्रो पुस्तकालयमा सबैलाई पहुँच दिनसक्थ्यौँ ।”

विश्वविद्यालय उच्च शिक्षा परियोजनाअन्तर्गत सबै विश्वविद्यालयले ई–पुस्तकालय बनाउनुपर्ने निर्णय गरेको छ । पुस्तकालय सुदृढीकरणअन्तर्गत त्रिभुवन विश्वविद्यालयसँग मिलेर खुला विश्वविद्यालयले एकीकृत ई–पुस्तकालय बनाउन लागेको छ । करिब १० दिनपछि सञ्चालनमा आउने सो ई–पुस्तकालयमा विद्यार्थीको सहज पहुँच हुने ढकालले बताए ।

यस्तै, विश्वविद्यालयको आफ्नै फ्याकल्टी सदस्य २५ जना मात्र छन् । २०० प्राध्यापक रहेकोमा बाँकी सबै करारमा राखिएका हुन् । जनशक्ति नहुुँदा विद्यालयले सोचेजस्तो काम गर्न नसकेको प्रा. डा. बज्राचार्य बताउँछिन् ।

वार्षिक करिब सात करोड मात्र बजेट रहेको खुला विश्वविद्यालयमा हाल दुई हजार २६८ विद्यार्थी छन् । अन्य विश्वविद्यालयमा पढाइ नभएका र आवश्यकता रहेका विषयहरु यस विश्वविद्यालयले पढाउँदै आएको छ । पछिल्लो समय कम्पनी सेक्युरिटी विषय व्यवस्थापन संकायमा थपिएको छ ।

फाइल तस्बिर ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro