काठमाडौं । चितवनमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यही माघ २४ गते ‘स्टार क्रिकेट २०२१’ को आयोजना गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा रंगशाला निर्माण गरिरहेको छ ।
गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुने एकदिवसीय प्रतियोगिताबाट उठेको सम्पूर्ण रकम रंगाशाला निर्माणमा प्रदान गरिनेछ । नेपाली चलचित्र, सांगीतिक क्षेत्र र खेलकुद क्षेत्रका ४० भन्दा बढी सेलिब्रिटीहरुले २४ गते क्रिकेट खेल्न लागेका हुन् ।
प्रतियोगिताका लागि दुईवटा टिम तयार पारिएको छ । दुई समूहलाई सीताराम कट्टेल र कुञ्जना घिमिरेले नेतृत्व गर्नेछन् ।
मैत्रीपूर्ण प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, खेलाडी विनोद भण्डारी, कलाकार दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्रीले सहभागिता जनाउने छन् । त्यस्तै, ओलम्पियन दीपक विष्ट, पूर्वमिस नेपाल शृंखला खतिवडाले भाग लिने छन् ।