site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युद्धकला तालिममा इतिहास रचेकी राधिका भन्छिन्– साथीहरुको हौसलाले सफलता दिलायो

काठमाडौँ । भगवान्ले पनि भन्छन् रे, तँ चिता म पुुर्‍याउँछु । सिपाही राधिका थापाको जिन्दगीमा पनि त्यस्तै भयो । तीनवर्षे छोरीकी आमा राधिकाले युद्धकला तालिममा इतिहास रचेकी छन् । आजसम्म पुरुषको मात्र बोलबाला रहेको नेपाली सेनाको सबैभन्दा कठिन प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सफतापूर्वक सकेर उनले इतिहासमा नाम लेखेकी हुन् ।

०४९ मा सिन्धुपालञ्चोकमा काहिँली छोरीको रूपमा जन्मेकी राधिका सानैदेखि सेनाका पोसाक मन पराउँथिइन् । कम्ब्याट बर्दी लगाएका सेना देख्दा उनी दंग पर्थिन् । टेन प्लस टु सकेर घरमै बसिरहेकी थिइन्, त्यति बेला नै सेनामा भर्ना खुल्यो । ‘के खोज्या... आँखो’ भनेझैँ उनले आवेदन दिइन् । नभन्दै एकैपटकमा छनौट भई ०६९ मा नेपाली सेनाको सैन्य दर्जामा भर्ना भइन् । तालिम लिन पोखरा पुगिन् ।

सुरुका एकाध दिन राधिकालाई रमाइला लागे । आँखाभरि सपना लिएर गएकी उनीजस्तै १८० जना थिए तालिममा । तर, पर्सिपल्टै तालिमको दौरान कपाल काट्नुपरेपछि रुवाबासी चल्यो । राधिकाको कपाल पनि कम्मरसम्म छुने सिल्की कलर हालेको थियो । रहरले पालेको कपाल एकाएक काट्नुपरेपछि उनी पनि खुुब रोइन् । यति बेलासम्म सिपाही बन्न कपाल काट्नुपर्छ भन्ने उनलाई थाहा नै थिएन । “त्यसभन्दा अघि सायद काट्नु पर्दैनथ्यो किजस्तो लाग्छ,” उनले भनिन् ।

तालिममा केटाले १८ केजीका भारी बोक्थे भने केटीहरुले १२ केजी । सुुरु सुरुमा गाह्रो भए पनि पछि भने अवस्था सहज बन्दै गएको राधिका सम्झिन्छिन् । तालिममा छँदा सुरुमा घर बिदा पनि सजिलै पाइँदैनथ्यो । एक वर्षपछि घर बिदामा आएको उनी अझै सम्झिन्छिन् । उनी भन्छिन्, “तीनवटा परीक्षा पास गरेपछि मात्र घर जान दिइन्थो । घर जाने, परिवार भेट्ने रहरले जसरी नि पास गर्थ्यौँ ।”

सिपाहीको जिन्दगीमा आराम हुँदैन । त्यसो त आरामको लागि उनले यो पेसा चुनेकी पनि थिइनन् । ०७२ मा विनाशकारी भूकम्प जाँदा उनी सिन्धुपालचोकको घरमै थिइन् । १५ दिनको बिदामा आएकी उनी १० दिन बितिसकेको थियो । “छिमेकी घरमा बस्ने भाइले उनको मोबाइल नमाग्दो हो त सायद म पनि बाँच्दिनथेँ कि,” उनले सुनाइन् ।  मोबाइल दिन नै उनी घरबाट बाहिर आँगनमा आइन् । भूकम्पले उनको घर पनि ढलायो । सबैतिर रुवाबासी चल्न थाल्यो । सबैभन्दा पीडा त उनलाई तब भयो, जब कान्छी बहिनी मेलम्ची गएकी थिइन् र सम्पर्कविहीन भइन् । हतारिएर मेलम्ची पुुगी त्यहाँको गुुल्ममा खबर गरेको उनी सम्झिन्छिन् ।

प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा ०७० सालदेखि नै राधिका काम गर्दै आएकी थिइन् । कतिपय अवस्थामा तालिममा सहभागी हुनेका लागि उनी ‘डेमो’ पनि देखाउँथिइन् । सबै काममा दक्षता हासिल गरिसकेका नेपाली सेनाका महिलाले तालिममा भने सफलता पाउन सकेका थिइनन् । राधिकालाई रहर पलायो, म पो सक्छु कि ! उनले पति राजेन्द्र अधिकारीलाई आफ्नो मनको कुरा सुनाइन् । छोरी संस्कृति सानै थिइन् । सिपाहीसमेत रहेका पति राजेन्द्रले ‘तिमीलाई गर्न नै मन छ भने गर न त’ भनेपछि उनले कार्यालयमा कुरा राखिन् । सहकर्मी, साथी र वरिष्ठ अफिसरहरु सबैले हौस्याए ।

तालिम लिन सुरु गर्दा भने उनी निकै आत्तिइन् । बेला–बेलामा ‘यस्तो फोकटको दुःख किन लिएको होला ?’ भन्ने राधिकालाई लागिरह्यो । कात्तिक १८ देखि माघ ६ गतेसम्म सञ्चालन भएको तालिम छोड्ने निर्णय पनि गरेको उनी सम्झिन्छिन् । तर, तालिममा सहभागी स्वदेशी तथा विदेशी साथीहरुले ‘तिमी सक्छौ, यति त गरिसक्यौ । अब किन छोड्नुु ?’ भन्दै हौस्याएको उनले सुनाइन् ।

तालिमका केही क्षण सम्झँदा अहिले पनि आङ सिरिङ हुन्छ, राधिकाको । सिपाहीबाट उनी एकाएक ‘खतराको खेलाडी’जस्तो भएकी थिइन् । भोकै चार दिन घना जंगलमा खाना, पानी र सम्पर्कका कुनै साधनविहीन हिँडेको उनी अझै झल्झली सम्झिन्छिन् । उच्चस्तरको शारीरिक एवं मानसिक क्षमता माग गर्ने तालिमका दौरान उनले जे भेट्यो, त्यही खाइन् । बाँच्नको लागि कहिले गड्यौला, कहिले भ्यागुतो । यो पलमा सबैभन्दा बढी उनले आफ्नी छोरी सम्झिइन् । त्यसो त तालिमका दौरान सबैभन्दा बढी उनले छोरीको फोटो हेरेको सुनाइन् । छोरीकै माया र सहकर्मीको हौसलाले उनलाई अघि बढ्न प्रेरित गर्‍यो । “साथीहरुको साथ नहुँदो हो त म तालिम पूरा गर्न सक्दैनथेँ । यस्तो किसिमको तालिममा साथीहरुको सहयोग चाहिन्छ नै । बाघ, भालु, सर्प आउने जंगलमा खाना पानीविना रात बिताउनु पक्कै पनि सजिलो छैन,” उनले भनिन् । चार दिन भोकै हिँडेपछि ठूलो झोला बोकेर २१ किलोमिटर हिँड्न बाँकी रहेपछि भने आफू जितको नजिक रहेको राधिकाले महसुस गरेकी थिइन् ।

नारी सुन्दर हुन्छन् । र, सुन्दर हुन चिटिक्क परेर बस्छन् । सुन्दरी भएर बस्न पाउनु नारीको नैसर्गिक अधिकार हो । तर, राधिकाले त्यो भ्रम पनि तोडेकी छन् । साहसको पर्याय बनेकी राधिका बाँच्नका लागि संघर्ष गरिरहेको बेला सुन्दर बन्न मेकअप लगाउनु र कपाल कोर्नु विलासिताका कुरा बन्न पुुग्ने बताउँछिन् । साथमा काँइयो, ऐना र लोसन लिएर गए पनि कपाल कोर्ने समय कमै पाउँथिइन्, उनी । “कहिले त दुुई दिनपछि कोर्थेँ, ऐना हेर्ने त परको कुुरा भइहाल्यो । सबैले एउटै लोसन लाउँथे, चाहे केटा होस् या केटी,” उनी सुनाउँछिन् ।

बच्चा पाउँदा त्यति गाह्रो भएको उनलाई लाग्दैन, जति तालिमका केही क्षण सम्झिँदा उनी अझै झस्किन्छिन्, ''कसरी गरेँ होला ?,'' सामान्य घाउचोटपटक त कति लागे उनलाई यादसम्म पनि छैन । तर, एउटा कुराले भने सधैँ प्रेरित गर्‍यो । भित्री आत्माले भनिरहन्थ्यो, ‘चाहे जेसुकै होस् मैले गर्नुपर्छ, अरुले पनि गर्नेछन् ।’

तालिमपछि घर आउँदा ‘हाड र छाला मात्र’ भएको उनले हाँस्दै बताइन् । एउटै कुराको भने उनलाई राहत नै भयो, “पहिला पनि छोरीलाई पटक–पटक छोडेर गएको हुनाले त्यति न्यास्रो मानिन,” उनले भनिन्, “तर अहिले ममी छोडेर नजानु है भनिरहन्छे ।” उसो त तालिम सकेपछि सबैले काँध थपथपाइरहेकोले उनी मख्ख छिन् । सबैले तारिफ गरेकाले उनी हौसिएकी छिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ०५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro