राजनीतिले जति नै निराश बनाए पनि नेपालीले बेलाबखत रमाउने मौका पाइरहेका हुन्छन् । यसपटक आठ हजार ६ सय ११ मिटर अग्लो माउन्ट केटु नामको संसारकै दोस्रो अग्लो शिखरको सफल आरोहण गर्ने साहसी सपुतहरूले देशवासीलाई हर्षित हुनै मौका दिएका छन् । हिउँदको याममा केटुको सफल आरोहण गरेर नेपाली टोली हिजो नेपाल फर्कँदा आरोहीहरूको हार्दिक स्वागत गरिएको छ । केटु हिमालमा हिउँद याममा अहिलेसम्म कसैले पनि आरोहण गरेका थिएनन्। सफल आरोहणको समाचार दुनियाँभर पुग्दा आफूलाई नेपाली ठान्ने सबै जना गौरवान्वित भएको हुनुपर्छ । सफल आरोही सबैलाई बधाई र स्याबासी !
निराशाको सुरुङको पल्लो छेउमा देखिएको आशाको किरणजस्ता यी घटनामा राज्यमा शासन गर्नेहरूको भने कुनै योगदान देखिँदैन । गएको माघ ३ गते पाकिस्तानको माउन्ट केटुको शिखरमा पुगेर नेपालको राष्ट्रिय गीत घन्काउने आरोही निर्मल पुर्जा नेतृत्वको नेपाली टोलीको सफलतामा नेपाल सरकारको कुनै योगदान थिएन । दिउँसो प्रधानमन्त्री केपी ओलीले बधाई दिए पनि आरोहीहरू काठमाडाैं आइपुग्दा उनीहरूको स्वागतमा नेपाल सरकारको प्रतिनिधित्व पनि थिएन । केटुको सफल आरोहणले नेपालीहरू आरोहीका सहयोगीमात्र हैन स्वयं आरोहणको नेतृत्व गर्न र शिखर आरोहण व्यवस्थापनका लागि पनि योग्य रहेको विश्व सामु प्रमाणित गरेको छ । कहिले कहीँ अलिकति खुसी त नेपालीको भागमा पनि पर्दो रहेछ !
धेरै भयो जनस्तरबाट हुने यस्तै सराहनीय कामबाहेक नेपालीले हर्ष मनाउने वा गौरवान्वित हुनै मौका पाएका थिएनन् । सरकारलाई त नागरिकहरूको शान्तिपूर्ण जुलुसमा पानीको फोहोरा, लाठी हान्दैमा फुर्सद छैन । नेपाली जातिकै गौरव बढाउने यो आरोहण चानेचुने सफलता होइन । आरोहीहरूको जीवनयापनमा राज्यले सहयोग गरे युवापुस्ता प्रेरित हुनेछ । कम्तीमा राज्यका तर्फबाट आरोहीहरूको सम्मानमात्र पनि भएमा उनीहरू निराश हुनेछैनन् । यी साहसी आरोहीहरूको हौसला बढाउने दायित्व राज्यको त हुँदै हो गैरसरकारी क्षेत्रले पनि राष्ट्रप्रतिको कर्तव्य पूरा गर्न तिनलाई प्रेरित गर्नुपर्छ । सरकार र निजी व्यावसायिक क्षेत्रको ध्यान जाला त ?