site stats
बाह्रखरी :: Baahrakhari
विशेष
सैनिक नियमावली संशोधन, अब १६ वर्षमै पेन्सन

काठमाडौं । सैनिक सेवा नियमावली, २०६९ तेस्रो संशोधन मन्त्रिपरिषद्‍मा पुर्‍याइएको छ । नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न सैनिक सेवा निवृत्तिभरण (पेन्सन) गर्न सैनिक मुख्यालयले गत वर्ष नै प्रस्ताव अघि बढाएको थियो ।

रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषद्‍मा पुगेको हो । रक्षा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले नियमावलीको संशोधन प्रस्ताव अघि बढेको जानकारी दिए ।

०६० सालअघि सम्म सेनाका जवानहरु १६ वर्षमै अवकाश पाई पेन्सन पाक्थ्यो । तर त्यसपछि भने सेवाअवधि लम्ब्याएर २० वर्ष पुर्‍याइयो । पेन्सन अवधि २० वर्ष भएपछि सेनाका जवानहरु मर्कामा परेको भन्दै बारम्बार प्रधानसेनापतिसँग गुनासो पोख्ने गरेका थिए । त्यो सम्बोधन गर्नका लागि नेपाली सेनाले सेवा निवृत्तभरणसम्बन्धी अवधि घटाउने प्रस्ताव पेस गरेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

प्रस्तावमा जवानदेखि अधिकृत मुनिसम्म १६ वर्ष, प्युसोदेखि अवलदार र हुद्दासम्मको १७ वर्ष, जमदारको १८ र सुवेदारको १९ वर्ष हुने नियमावलीमा व्यवस्था हुन सक्ने बताइएको छ । यस्तै, सहायक सेनानी तहभन्दा माथिको तहको हकमा भने पेन्सन पाक्ने अवधि २० वर्ष नै कायम हुनेछ । 

सेवा निवृत्तिभरणको आर्थिक व्ययभारबारे रक्षा मन्त्रालय र अर्थ मन्त्रालयबीच छलफल भइरहेको थियो । १६ वर्षपछि स्वेच्छिक पेन्सनमा जान पाउने तर उसले १६ वर्षसम्मको पेन्सन रकम बुझ्नचाहिँ चार वर्ष पर्खिनुपर्ने फरक किसिमको मोडालिटी मन्त्रालय जान खोजेको बुझिएको छ ।

-फाइल तस्बिर

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०५:१८
प्रतिक्रिया दिनुहोस्