आकाश धुम्म हुनेबित्तिकै अस्ति सोमवार काठमाडौं संसारका प्रदूषित ५० सहरमा पनि सबैभन्दा अगाडि पुग्यो । धन्न थोरै भए पनि पानी परेकाले मंगलवारबाट प्रदूषणको मात्रा घट्यो र बुधवार घाम लागेकाले प्रदूषण अझै केही कम हुने अपेक्षा गरिएको छ । तैपनि अहिले काठमाडौंको प्रदूषणमा मात्रा मानव स्वास्थ्यका लागि हानिकारक नै छ । यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सकेसम्म घरबाहिर ननिस्कन र बालबालिका तथा बूढापाकाको स्वास्थ्यको विशेष ख्याल राख्न उपत्यकावासी नागरिकहरूलाई अनुरोध गरेको हुनुपर्छ । सास फेर्ने हावा नै बिखालु भएपछि मानिसलगायत सबै प्राणीको जीवन संकटमा पर्छ । विशेषगरी प्रदूषित वायुले मानिसको फोक्सो र मुटुमा प्रत्यक्ष र तत्कालै असर गर्ने जोखिम विज्ञहरूले औंल्याएका छन् । अर्थात्, जनस्वास्थ्यमा पर्ने प्रदूषणको परिणाम राष्ट्रका लागि निकै महँगो हुन्छ ।
एकातिर वायु प्रदूषणले अति खतरनाक चिह्न पार गरिसकेको छ भने अर्कातिर कोभिड(१९ को संक्रमणको अर्को लहर सुरू हुने जोखिम पनि छँँदैछ । यसको अर्थ के हुन्छ भने यस पटकको वायु प्रदूषणलार्इ बेवास्ता गर्नु दोब्बर जोखिम निम्त्याउनु हो । प्रदूषणको मात्रा हिउँद याममा यसै पनि बढ्ने गर्छ । नेपालका सबै ठूला सहरमा वायु प्रदूषणको मात्रा जनस्वास्थ्यका लागि हानिकारक स्तरमा छ । त्यसमा पनि भूबनोट, जनसंख्या, सवारी साधनको संख्या आदिका कारण काठमाडौं उपत्यकामा वायु प्रदूषण बढी नै हुनेगर्छ । साथै, तरार्इ र उत्तरी भारतबाट समेत उपत्यकाको वायु प्रदूषण बढ्छ । यसैले उपत्यकाको वायु प्रदूषण सजिलै नियन्त्रण पनि हुँदैन । तैपनि, वायु प्रदूषणको हानिकारक असरका तुलनामा यसप्रति राज्यले देखाएको हेलचेक्य्राइँ भने दुःखद विडम्बना हो ।
वायु प्रदूषणका कारण हुने मानवीय तथा अन्य क्षतिमा ध्यान दिने हो भने सरकारले प्रदूषण नियन्त्रणलाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने थियो । हुनत, प्रदूषण नियन्त्रणका लागि नीतिहरू बनेका पनि छन् । परन्तु, कार्यान्वयनमा भने सरकार कहिल्यै गम्भीर भएन । यसैले दशकौं हुँदा पनि काठमाडौं र अरू सहरको प्रदूषण घटाउन सकिएन बरू बर्सेनि बढ्दै गएको देखिएको छ । प्रदूषण विशेषगरी वायु प्रदूषणको मापन र सूचना प्रणालीमा जति प्रगति यसको नियन्त्रणमा हुनसकेन । यो घातक प्रदूषण नियन्त्रण नहुनुमा सरकारी हेलचेक्य्राइँ जत्ति नागरिकहरूको व्यवहार पनि दोषी देखिएको छ । सरकारलार वायु प्रदूषण नियन्त्रणका लागि दबाब दिन राजनीतिक नेताहरू चुकेका छन् भने स्वच्छ सहर नारामा सीमित भयो । सरकारले वायु प्रदूषणको मूल कारक मानिने सवारी साधनले फाल्ने धुवाँजन्य प्रदूषण नियन्त्रणका मापदण्डहरू अध्यावधिक गर्नुका साथै विद्यमान प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । नागरिकहरूले पनि कम्तीमा हिउँद याममा निजी सवारी कम चलाए। प्रदूषण घटाउन सहयोग गर्नुपर्छ । फोहोर व्यवस्थापन गर्दा जलाउन छाडेमात्र पनि वायु प्रदूषण नियन्त्रण गर्न मद्दत हुनेछ । यसैले स्थानीय तहलगायत सबै सरकारी निकायका साथै सचेत नागरिकहरूले वायु प्रदूषण नियन्त्रणका लागि तत्काल अभियान चलाउनु पर्ने देखिन्छ ।