काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या घट्दै गएको छ । संक्रमणका कारण पुसको पहिलो साता तीन महिनाकै सबैभन्दा कम मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।
पुस ७ गते कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको थियो । न्यूनतम ३ देखि अधिकतम १५ सम्म रहेको मृतकको संख्या अघिल्ला दुई महिनाको तुलनामा ० दशमलव ४ प्रतिशतले कम हो ।
असोज र कात्तिकमा सबैभन्दा धेरै संक्रमितले ज्यान गुमाए
नेपालमा जेठको अन्तिम सातादेखि फैलिँदै गएको कोरोना महामारीले साउनको अन्तिम साता आइपुग्दा उच्च रुप लियो । समुदायसम्म पुगिसकेको यसको रुप लकडाउन र सार्वजनिक संस्थाहरू बन्दका बाबजुत पनि भयावह बन्दै गयो । त्यही समयमा नेपालका महत्त्वपूर्ण चाडपर्व परेकाले समेत महामारी झनै फैलिने वातावरण बन्यो ।
असोजको पहिलो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा दैनिक २ देखि ५ जनाको मृत्यु भएको देखिन्छ । जतिबेला सरदर १२ हजार मानिसमा पीसीआर परिक्षण गर्दा हजारदेखि १५ सयसम्म नयाँ संक्रमित देखिएका थिए । तर असोजकै दोस्रो साताबाट संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेको देखिन्छ । असोज १९ गते १९ जना र २५ गते २२ जनाको मृत्यु भएको तथ्यांक छ । कात्तिक पहिलो साता पनि मृतकको संख्या बढ्दै गएको देखिन्छ । कात्तिक ७ गते १६ हजार ८ सय ३३ जनामा परीक्षण गरिएकामा चार हजार चार सय ९९ संक्रमित भेटिए । सोही दिन १७ संक्रमितको मृत्यु भयो । यही दरमा रहेको संक्रमितको संख्या कात्तिकको मध्यतिर बढेर गयो ।
कात्तिक १९ गते नेपालमा कोरोना महामारी अवधिकै सबैभन्दा धेरै ३० जनाको मृत्यु भयो भने तीन हजार तीन सय नौजना नयाँ संक्रमित भेटिए । कात्तिक २६ गते पनि मृतकको संख्या २६ पगेको थियो । यसरी उकालो लागेको मृतकको संख्या मंसिर लाग्दै गर्दा केही घटेको देखियो ।
मंसिर पहिलो साता न्यूनतम १० देखि १६ जनाको मृत्यु भएकामा १४ गते यो संख्या २५ पुग्यो । यतिबेलासम्म सरकारले परीक्षणको दायारा घटाइसकेको थियो । मंसिर २१ गते १० हजार ९६ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार चार सय ९५ नयाँ संक्रमित भेटिएका थिए तर मृतकको संख्या भने १७ पुगेको थियो ।
मृतक र संक्रमितको बढ्दो यो दर पुस लागेपछि भने घट्दै गयो । पुसको पहिलो साता सात हजारको हाराहारीमा परीक्षण भएकामा सात सय ४२ संक्रमित भेटिए । जसमध्ये सातजनाको मृत्यु भयो । पुस ७ गते ३ महिनाकै सबैभन्दा कम तीन संक्रमितको मृत्यु भयो । मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या पुस १० गतेसम्म एक हजार आठ सय १६ पगेको छ भने जम्मा संक्रमितको संख्या दुई लाख ५७ हजार दुई सय छ । जसमध्ये सबैभन्दा धेरै संक्रमितको मृत्यु असोज र कात्तिक महिनामा भएको तथ्यांकले देखाएको छ ।
मृत्युको जिम्मेवार सरकार र जनता दुवै
नेपालमा कोरोना संक्रमण फैलिन सुरु भएदेखि नै सरकारले सतर्कता कार्यक्रम सुरु नगरेको भने होइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका पूर्वप्रमुख सागर दाहाल भन्छन्, “महामारीको आकलन गरेर आवश्यक पूर्वाधार निर्माणका काम जेठदेखि नै सुरु गरिएको थियो । तर सरकारी संरचनाले मात्रै महामारी धान्न सकेन त्यो बीचमा अन्य अस्पतालहरूसँग राम्रो समन्वय हुन सकेन ।
सरकारले कोभिड अस्पतालका रुपमा छुट्याएका अस्पतालहरूबाट पनि संक्रमितको व्यवस्थापनमा पर्याप्त सहयोग भएन । यसको असर जनतामा पर्न गयो र धेरै संक्रमितले ज्यान गुमाउनुपर्यो ।” पछिल्ला महिनाहरूमा विशेषगरी दसैँपछि संक्रमितहरू ढिलो उपचारमा आइपुगेकाले बचाउन नसकिएको तर्क छ- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कोभिड युनिट संयोजक डा. अनुप बास्तोलाको । उनी भन्छन्, “पछिल्लो समय मृत्यु हुनेमा वृद्ध उमेरका र दीर्घरोगी धेरै छन् । कोभिड छिप्पिएको अवस्थामा अस्पताल भर्ना हुन आउँदा उनीहरूलाई बचाउन सकिएको छैन । युवावर्गले कोरोनालाई सामान्य ठान्नु र घरमा रहेका वृद्धवृद्धाको स्वास्थ्यको दृष्टिकोणबाट नहेरिनुले मृत्युदर बढाएको छ ।” अहिलेको अवस्थामा सरकारका कामको टिप्पणी गर्नुभन्दा नागरिकस्तरबाटै सजग रहनु कोरोना नियन्त्राको प्रभावकारी उपाय भएको डा. बास्तोलाको सुझाव छ ।