site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्यमन्त्री ढकालसँग लेखा समितिको नौ प्रश्न  

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई कोरोना रोकथामको लागि गरिएको औषधि तथा उपकरण खरिद प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समितिले शुक्रबार बोलाएको थियो । मन्त्री ढकाल बैठकमा उपस्थित पनि भए ।  बैठकको सुरुमै समितिका सभापति भरत शाहले बैठकमा छलफलका विषय राख्दै मन्त्री ढकालसामु नौवटा प्रश्न राखे । औषधि र उपकरण खरिद गर्दा भएको अनियमिततासँग सम्बन्धित थियो । 

यी थिए ९ प्रश्न 

समितिको पहिलो प्रश्न थियो– “विशेष परिस्थितिमा गरिने खरिद कार्यका लागि सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको प्रावधान मिचेर कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको ०७६ चैत १२ को निर्णयको हवाला दिँदै आजै सूचना जारी गर्ने, भोलि सम्भावित आपूर्तिकर्तासँग छलफल गर्ने र १५ दिनभित्र गर्ने ढुवानीमा सरकारले व्यवस्था मिलाउने भनी मन्त्रीस्तरीय निर्णय गरि विभागमार्फत कार्य नगरी नगराई अनियमित रुपमा खरिद प्रक्रिया अवलम्बन गरेको देखिन्छ, यसमा धारणा के छ ? ” 

दोस्रो प्रश्न थियो– “मन्त्रिपरिषद्बाट स्वीकृति नलिइ मन्त्रीस्तरबाट सामग्री खरिदको कार्यादेश दिने अनधिकृत कार्य किन गरिएको ?”

समितिले मन्त्री ढकाललाई बजेटको स्रोत र लागत अनुमान एकिन नगरि सीधै प्रस्ताव मागेर खरिद प्रक्रिया अघि बढाएको, खरिद कार्यमा नेतृत्व गरेका विज्ञ स्वास्थ्य सल्लाहकारलाई अनधिकृत रुपमा संलग्न गराएको विषयमा पनि प्रश्न सोधिएको थियो ।

त्यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयको अनुगमन प्रतिवेदनले खरिद ऐन पालना नभएको निष्कर्ष निकाले पनि  अनियमिततामा संलग्न दोषीलाई किन कारवाही नभएको भन्दै समितिले अर्को प्रश्न गरेको थियो ।

छलफलमा सहभागी नै नभएको कम्पनीलाई समेत वार्ताका लागि छनोट गरेको, मन्त्रीस्तरीय निर्णयबाट ओम्नी कम्पनी छानेको,  र सोही दिन कम्पनीलाई कार्यादेश दिन कसरी सम्भव भयो भन्नेबारे पनि समितिले मन्त्रीसँग जवाफ मागेको थियो । 

वायुसेवा निगमले हालसम्म पनि भाडा नपाएको र पर्यटन मन्त्रालयले पत्राचार गर्दा पनि भुक्तानी नहुनुको कारणबारे समितिले अर्को प्रश्न सोधेको थियो । 

त्यस्तै, ०७७ चैत १९ गते एक दिन म्याद बाँकी रहँदै सम्झौता रद्द गरि, क्षतिपूर्ति भराइ कालोसूचीमा राख्नुपर्नेमा उल्टै ओम्नीकै सामग्री उपयोग गर्ने कारोबार किन गरिएको भन्दै समितिले मन्त्रीसँग जवाफ खोजेको थियो । 

अख्तियार र सर्वोच्च देखाएर उम्कने मन्त्रीको प्रयास

समितिको प्रश्नमा स्वास्थ्यमन्त्री ढकाल औषधि खरिद अनियमितताको विषयमा अख्तियारले छानबिन गरिरहेको र सर्वोच्च अदालतमासमेत मुद्दा रहेको भन्दै पन्छने प्रयास गरे । 

उनले कोभिड १९ को रोकथामका लागि गरिएको औषधि तथा उपकरण खरिद प्रकरणमा आफ्नो संलग्नता अस्वीकार पनि गरे । 

“विदेशमा उत्पादित सामग्रीमा शक्तिराष्ट्रले हानथाप गरेको अवस्था थियो । महामारीको आतंक बढेको थियो । पीपीईको अभावमा काम गर्न नसकिने भनेर स्वास्थ्यकर्मीले ध्यानाकर्षण गराएका थिए,” मन्त्री ढकालले समितिमा जवाफ दिँदै भने, “यस्तो अवस्थामा मन्त्रिपरिषद्बाट भएको नीतिगत निर्णय कार्यान्वयन गराउन मैले पहल गरेको हुँ । तर आर्थिक अनियमिततामा पार्ने गरी म संलग्न भएको छैन ।” 

त्यस्तै, उनले औषधि खरिद प्रक्रियामा संलग्न पदाधिकारीलाई अख्तियारले छानबिनको प्रक्रियामा राखेको पनि जानकारी दिए ।  मन्त्री ढकालले ओम्नीलाई एक पैसा पनि नदिइएको र ओम्नीको धरौटीसमेत जफत गरि राज्यकोषमा दाखिला गरेको जानकारी दिए । 

उनले आफ्नो नियत खराब नभएको भन्दै अनियमितितामा संलग्नलाई कारवाहीका लागि आफ्नो पनि साथ रहने बताए । 

त्यस्तै, मन्त्री ढकालले सार्वजनिक खरिदको अनुगमन कार्यालयले स्वास्थ्य सामग्री खरिदमा औँल्याएको कमजोरीबारे आफूलाई थाहा नभएको प्रष्टीकरण दिए । महानिर्देशकको क्षेत्राधिकार मिचेको भन्ने आरोप पनि उनले अस्वीकार गर्दै नीतिगत टिप्पणी मात्र आफूले मन्त्रिपरिषद्मा लगेको बताए । 
अख्तियारलाई छानबिनका लागि लेखी पठाऊँ ः प्रतिपक्षी सांसद

बैठकमा प्रतिपक्षी दलका सांदहरु औषधि खरिद अनियमिततामा छानबिनका लागि अख्तियारलाई लेखी पठाउनुपर्ने पक्षमा देखिए । कांग्रेसका सांसद राजन केसी, मिना सुब्बा र जनता समाजवादी पार्टीका सांसद प्रदिप यादवले खरिदमा अनियमितता भएको जिकिर गर्दै अख्तियारले सोबारे छानबिन गर्नुपर्ने धारणा राखे ।

जनता समाजवादी पार्टीका सांसद प्रमोद यादवले भने, “एकअर्बको सामान नल्याए पनि २८ करोडको सामान ओम्नीले ल्याएको छ । एकरुपैयाँ पनि भ्रष्टाचार भ्रष्टाचार नै हो, कानुन विपरीत खरिद गरिएको छ । त्यसैले कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउनुपर्छ ।”

त्यस्तै, कांग्रेसका सांसद केसी र सुब्बाले पनि सार्वजनिक खरिद ऐन मिचेर औषधि खरिद गरिएको भन्दै छानबिन हुनुपर्नेमा जोड दिए । 

कांग्रेसकै सांसद मिनेन्द्र रिजालले मन्त्री ढकालको अनुहार बिर्सने हो भने औषधि खरिदमा अनियमितताबाहेक केही नदेखिने बताए । “मन्त्रीज्यू अरु कुनै परिबन्धमा पर्नुभयो कि ! आफ्नो दोष नभइ सफाई दिनुपर्ने परिस्थिति सिर्जना भयो कि भन्ने मेरो मनमा प्रश्न छ,” उनले भने । 

तर, सत्तारुढ नेकपाका सांसद प्रेम आलेले भने कसलाई कारवाही गर्ने भन्नेमा आफू अन्योलमा रहेको बताए । 

“सामान खरिद गरेर भनेर ओम्नी प्राइभेट लिमिटेडलाई टेण्डर दिइएको रै’छ । ८ दिन नपुग्दै उसले २८ करोडको सामान ल्यायो । बाँकी सामान नल्याउँदै उसको टेण्डर पनि रद्द भयो । धरौटी पनि जफत गरियो । धरौटी जफत भएपछि उसले भुक्तानी त पाएन । भुक्तानी नै नपाएपछि कारबाही कसलाई गर्ने ?,” उनको प्रश्न थियो ।  

अनि, अख्तियारलाई लेखि पठाइयो ...

मन्त्रीसँगको छलफलपछि समिति औषधि खरिद प्रक्रियामा भएको अनियमितता छानबिनका लागि अख्तियारलाई लेखी पठाउने निष्कर्षमा पुगेको छ ।  बैठकपछि समिति सचिव डा. रोजनाथ पाण्डेले खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्षमा समिति पुगेको भन्दै छानबिनका लागि अख्तियारलाई  लेखी पठाउने निर्णय भएको बताए । 

पाण्डेले भने, “खरिद प्रक्रिया नियमसंगत नभएको र यसमा संलग्न पदाधिकारीलाई करार गर्ने अवस्था सिर्जना भएकाले यसको थप छानबिन गरेर दोषी पत्ता लगाउने र कारबाही पनि गर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय समितिले गरेको छ ।” 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro