site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिपक्षले सदन खोज्ने कि सडक रोज्ने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि सरकारविरुद्ध देशैभर प्रदर्शन गर्दैछ । संसदीय व्यवस्थामा प्रतिपक्षी दलले सरकारविरुद्ध सडकमा प्रदर्शन गर्नु अस्वाभाविक त मानिँदैन । तर, प्रतिपक्षी दलको प्राथमिकतामा भने सडकभन्दा संसद नै पर्नुपर्ने जानकारहरु बताउँछन् । संसदमा उठाएका आवाज पनि सरकारले नसुनेमा भने प्रतिपक्षी दल सडकमा जानुको औचित्य स्थापित हुने उनीहरुको टिप्पणी छ ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार (भोलि) सरकारविरुद्ध सडकमा प्रदर्शन गर्दैछ । कतिपयले सरकारसँग जनता निराश भएकाले कांग्रेसको सडक प्रदर्शनलाई स्वाभाविक ठानेका छन् भने केहीले संसद बोलाउनका लागि चासो देखाउनुपर्ने भन्दै टिप्पणी गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा कांग्रेसले सडकमा होइन संसद बोलाउन दबाब दिनुपर्ने मत राखेका छन् । 

उसो त कांग्रेसको पदाधिकारी बैठकमा संसदको अधिवेशन आह्वानका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय नभएको होइन । तर, सरकारले नसुनेपछि एक तिहाइ हस्ताक्षर जुटाएर बैठक सञ्चालनका लागि राष्ट्रपतिसमक्ष अपिल गर्नसक्ने बाटो नभएको होइन । तर, सरकारले चासो नदेखाउँदा पनि कांग्रेसले मौनता साँधेको भन्दै आलोचना हुँदै आएको छ ।

राजनीतिशास्त्री प्रा.डा लोकराज बराल प्रतिपक्षी दलले केही गर्न सकेन भन्ने दबाबका कारण कांग्रेस सडकमा आउन लागेको बताउँछन् । 

“सरकारको काम निरासापूर्ण छ । प्रतिपक्षीलाई पनि केही गर्न सकेन भन्ने दबाब छ । यतिबेला सरकारको काम निरासापूर्ण भएको हुनाले प्रतिपक्षी दलले आफ्नो उपस्थिति जनाउन सडकमा आउन लागेको देखिन्छ,” उनले भने, “संसद नभए पनि जनताका समस्या शान्तिपूर्ण रुपमा प्रतिपक्षले बोल्नुपर्छ । संसद भए पनि, नभए पनि बेलाबेलामा सडकमा कुरा उठाउनुपर्छ ।”

सडकबाट शक्ति बटुल्दै संसद 

गत असार १८ गते अन्त्य भएको संसद अधिवेशन कहिलेबाट सुरू हुन्छ अझै मिति तय गरिएको छैन । संविधानमा एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन सुरू भइसक्नुपर्ने व्यवस्था छ । संविधानको यो बाध्यकारी व्यवस्थाका कारण पुस १८ अघि नै संघीय संसदको अधिवेशन आह्वान हुने देखिन्छ । 

कोरोना महामारी, भ्रष्टाचार, अनियमितता, बलात्कारका घटना जुन रुपमा उठ्नुपर्ने थियो, संसद नहुँदा उठ्न नसकेको प्रतिपक्षी दल कांग्रेसकोसमेत स्वीकारोक्ति छ । तर, उसले संसदको माग भने सशक्त रुपमा गर्न सकेको छैन ।

सडक आन्दोलनमा आउन नागरिकलाई अपिल गर्दा भने कांग्रेसले पुनः संसद सम्झिएको छ ।  कांग्रेसले आइतबार जारी गरेको विज्ञप्तिमा सरकारविरुद्ध सडकदेखि संसदसम्म दबाब दिने चेतावनी दिइएको छ । 

“नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम र सशक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन,” कांग्रेसले भनेको छ । 

सभापति शेरबहादुर देउवाले सडकबाट शक्ति बटुलेर संसदमा कांग्रेस थप प्रभावकारी ढंगले अघि बढ्ने बताएका छन् । 

उनले भनेका छन्,“मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल हो नेपाली कांग्रेस । आज प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण ब्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा कांग्रेस गम्भीर छ । भोलिको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुनेछ ।”

उपस्थिति देखाउन सडक 

प्रतिपक्षी दल कांग्रेस संसद नचल्दा सरकारविरुद्ध विज्ञप्तिबाजीमै सीमित थियो । गत असारपछि मात्र कांग्रेसले विभिन्न घटनाहरुमा सयौं विज्ञप्ति जारी गरेको छ ।  सरकारको आलोचना र ध्यानाकर्षण गराएको छ । तर, पछिल्लो समय सडकमा राजावादीहरुको देशभर प्रदर्शनपछि कांग्रेसले आफूलाई न सडकमा न संसदमा भेट्ने अवस्था बनेको भन्दै पदाधिकारी बैठकले नै सडक संघर्ष गर्ने निर्णय गरेको थियो ।

तनहुँमा नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि भने कांग्रेस झस्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीइतरका नेताहरुले राजावादीहरुले सडकमा प्रदर्शन गरिरहँदा शान्त बसेको प्रतिपक्षीलाई चलाएर राम्रो नगरेको टिप्पणी गरेका थिए । कांग्रेसले पौडेलमाथि तनहुँमा भएको घटनासहित भ्रष्टाचार, अनियमितता, महिला हिंसाका घटनालाई प्रदर्शनको मुद्दा बनाएको छ । 

प्राध्यापक बराल अहिले कांग्रेस सडकमा आउँदा सडकमा देखिएका राजावादीहरुको प्रतिकारजस्तो पनि हुने बताउँछन् ।  सरकारको निराशापूर्ण काम र मौन प्रतिपक्षी देखेपछि राजसंस्था पक्षधर उत्साही देखिएका बेला कांग्रेसको प्रदर्शनले सरकार र राजावादीहरु दुवैलाई जवाफ हुने उनको टिप्पणी छ । 

“प्रतिपक्षी यस्तो बेलामा सडकमा सक्रिय हुनै पर्छ । राजावादीहरू पनि उत्साहित देखिन्छन् । त्यसको प्रतिकारजस्तो पनि हुन्छ । सडकमा आएर कांग्रेसले प्रतिपक्षीको उपस्थिति देखाएको हो । ठिकैजस्तो लाग्छ । कुरा उठाउनुपर्छ,” उनी भन्छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro