site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विवेकशील साझाले सोच भत्काउन सक्ला ? 

काठमाडौं । प्रमुख राजनीतिक दलहरु आन्तरिक तिक्ततामा रुमल्लिइरहेका बेला बुधबार विवेकशील र साझा पार्टीबीच एकता भएको छ । साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्र र विवकेशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।  पुराना पार्टी विस्थापनको चर्चा गरेको विवेकशील साझा पार्टीले आफूलाई नयाँ देखाउने प्रयत्न पनि गर्‍यो । 

पार्टी एकता गर्दा ठूलो भिडभाड जम्मा गरिएन । न त लम्बेतान भाषण र आसन ग्रहण नै भयो ।  ‘भर्चुअल’ पार्टी एकता सम्पन्न भयो केहीबेरमै । रञ्जु दर्शनाले कार्यक्रम सञ्चालन गरिन् । नव एकीकृत पार्टीका संयोजक पाण्डे र अध्यक्ष रवीन्द्र मिश्रले आफ्ना कुरा राखे । पार्टी एकता सम्पन्न भयो । 

उनीहरुले एकीकरण घोषणाका लागि रोजेको दिन पनि अर्थपूर्ण छ । मंसिर २४ अर्थात भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन पार्टी एकता घोषणा भयो । 

यो दिन रोजेरै सन्देश दिन खोजेको हुनुपर्छ—विवेकशील साझा पार्टी भ्रष्टाचारको विरुद्धमा छ । पार्टी एकताको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको सन्देशले पक्कै सुशासन र राजनीतिक स्थिरताका पक्षधरहरुलाई केही ढाडस मिलेको हुनुपर्छ । लोकतन्त्रमा दलहरु मिल्नु सुखद् विषय हो । अझ, देशमा प्रतिगनकारी शक्ति सडकमा सल्बलाइरहेको र सत्तामा रहेकाहरुमा  लोकतन्त्र र संविधानवादको प्रतिवद्धतामा प्रश्न उठिरहेका बेला भएको एकता सानै दलको भए पनि अर्थपूर्ण छ । 

उसो त, छोटो समयमा पनि यी दुई दलले टुटफुट भोगिसकेका छन् ।  विवेकशीलको ८ वर्ष र साझा पार्टीको तीनवर्षको इतिहास हो ।  यति छोटो समयमा पनि यी दुई दलबीच एकता भएर १६ महिनामै विभाजन भोगेको तितो अनुभव छ ।  ०७४ साउन ११ मा एकता भएर ०७५ पुस २७ मा फुटेका यी दुई दल पुनः एक भएका छन् । 

यो एकता कति लामो जाला ? अड्कलबाजी पनि राजनीतिक बजारमा सुरु भइसकेको छ । सामाजिक सञ्जालदेखि सामाजिक अभियान लिएर मैदानमा उत्रेका केही विवेकशीलका संस्थापक एकता प्रक्रियामा छुटेका छन् । त्यसले पनि अहिलेको एकतालाई केही खल्लो बनाएको छ । 

कतिपयले यो एकता के का लागि ? भनेर प्रश्न नगरेका होइनन् ।

त्यसमा अध्यक्ष मिश्रले जवाफ दिएका छन् । उनले एकता घोषणासभामा परम्परागत राजनीतिक शक्तिमाथि धावा पनि बोलेका छन् । “यो एकीकरणले परम्परागत राजनीतिको दुस्चक्रबाट नेपाली समाजलाई मुक्त गर्नेछ भन्ने हाम्रो विश्वास हो । यो एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएको नेपाली नागरिकका सपनाहरुलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्नेछ भन्नेमा पनि हामी विश्वस्त छौं,” मिश्रले घोषणा सभाबाट पार्टी एकताको सन्देश सम्प्रेषित गर्ने प्रयत्न गरे । 

उनले अहिले सत्तारुढ दल नेकपाभिको कचकच र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्व तहको घिसिरपिटिरबाट दिक्क भएकाहरुलाई पनि तरंगित गर्न प्रयत्न गरेका छन् ।  परम्परागत राजनीतिबाट आजित नेपालीलाई सुन्दर, लोकतान्त्रिक र अग्रगामी राजनीतिक विकल्प दिने उनको उद्घोषले विद्यमान लोकतान्त्रिक दलभित्र आफुलाई अटाउन नसक्नेहरुलाई बाटो खोल्न खोजेका छन् ।

मिश्रको घोषणाले लोकतन्त्रमा विश्वास गर्ने तर, आफुलाई लोकतान्त्रिक दाबा गर्ने दलको सदस्यता नलिएकाहरुलाई कत्तिको आकर्षण गर्छ त्यो थाहा पाउन केही समय कुर्नैपर्छ ।  सहरका मध्यमवर्गलाई छोटो समयमा राम्रै आकर्षित गरेको यी पार्टीको एकताले तरंग सिर्जना गर्छ नै ।  तर, यसअघिको फुटले केही समय विवेकशील साझा पार्टीलाई आफ्नो एकता साच्चैको एकता हो भनेर विश्वास जित्नका लागि लाग्छ नै । 

नेपालमा राजनीतिक दलमाथि मात्र होइन नागरिकमाथि पनि कटाक्ष गरिन्छ । दल चयनको सन्दर्भमा नेपाली नागरिकमाथि लाग्ने आरोप छ–मेनु हेर्ने, तर अन्तिममा मम, चाउमिन नै अर्डर गर्ने । यसपटक मिश्रले ती नागरिकलाई कडै धम्की पनि दिएका छन् । विवेकशिल साझा पार्टीलाई साथ नदिए यती, ओम्नी, बालुवाटारजस्ता भ्रष्टाचारका काण्ड भइराख्ने चेतावनीमा मात्र मिश्र रोकिएका छैनन् । उनले आफ्नो दललाई विश्वास गरे दशकभित्रै रुपान्तरणको आश्वासन पनि बाँड्न भ्याएका छन् । 

विवेकशील साझाले आफुलाई कत्तिको खरो उतार्ला, त्यो आगामी दिनमा देखिनेनै छ । आगामी निर्वाचनसम्म एकतावद्ध भएर गएमा नयाँ पुस्ता र शहरीया मध्यमवर्ग आकर्षित हुनसक्छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro