site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
को हो राजसंस्था र हिन्दुराष्ट्रको वाहक शक्ति ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाह वंशीय राजतन्त्रको अन्तिम राजाको रुपमा नारायणहिटी दरबार छोडेको १५ वर्ष भइसकेको छ । मुलुकमा गणतन्त्र आएको पनि १३ वर्ष भइसक्यो । दुईजना राष्ट्रपतिको कार्यकाल पूरा हुन लागेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको पनि करिब पाँच वर्ष भयो ।

०६२–६३ को जनआन्दोलनमा लागेका राजनीतिक दलहरुले सात दशक लामो संघर्षको उपलब्धिका रुपमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता रहेको बताउँदै आएका छन् ।  संविधानका कतिपय व्यवस्थामा असहमति राखेपनि मधेसकेन्द्रित दल जनता समाजवादी पार्टीले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा फरक मत राखेको छैन । बरु, संघीयताको वाहक आफू भएको उसको दाबी छ ।

अहिले देशका विभिन्न सहरहरूमा संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता खारेजीको माग राख्दै राजसंस्था र हिन्दुराष्ट्र पक्षधरहरुले प्रदर्शन गरेका छन् । सडकमा देखिएको उपस्थितिले उनीहरु उत्साहित देखिन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राजावादीहरुका अलग—अलग कित्ता

०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपाल राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा उठाउने एउटामात्र दल थियो ।  पशुपतिशमशेर राणा, सूर्यबहादुर थापा र प्रकाशचन्द्र लोहनीहरु रहेको पार्टीले देश गणतन्त्रमा गएपछि त्यसलाई स्वीकार गरेका थिए । तर, थापा भने संविधान जारी हुँदासम्म पनि राजसंस्था र हिन्दुराष्ट्रकै पक्षमा उभिए । अहिले पनि कतिपयले त्यतिबेला उनले चाहेको भए संविधानमा धर्मनिरपेक्षता नभइ धार्मिक स्वतन्त्रता कायम रहने बताउँदै आएका छन् ।

Global Ime bank

त्यसबेला थापाले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल तथा सरकारसँग सम्झौता गरेको आरोप छ । तर, थापा नेतृत्वको दलले नै सडक र संसद्मा लगातार राजसंस्थाको कुरा उठाउँदै आएको थियो । थापा नेतृत्वको राप्रपा नेपाल नै एक दशकभन्दा बढी समय सडक र संसदमा राजसंस्था पक्षधरका रुपमा रह्यो । 

तर, थापा जब संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको शपथ लिएर सरकारमा उपप्रधानमन्त्री बने, त्यसपछि भने राप्रपा नेपालले पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा छोडेको आरोप लाग्यो । अन्य राजावादीहरुले थापाको चर्को आलोचना पनि गरे ।

तर, अहिले उनै थापा र गणतन्त्र स्वीकार गरिसकेका राणा र लोहनी अध्यक्षत्रय रहेको राप्रपा पुनः चर्को राजसंस्था र हिन्दुराष्ट्र पक्षधरका रुपमा देखापरेको छ । आफूलाई राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डावाहक शक्तिका रुपमा स्वीकार नगरिएकोमा उसको चित्तदुखाइ रहेको देखिन्छ । 

“राप्रपा राजसंस्था सिद्धान्तको मूल संवाहक हो । यो विचारलाई आज जुन ढंगबाट स्वस्फूर्त जनताले लिएर हिँडेका छन्, त्यसले हामीलाई खुसी लाग्नु स्वाभाविक हो । ती अभियानमा हाम्रो सद्भाव, समर्थन रहनेछ,” थापा भन्छन्, “हिन्दुराष्ट्र र राजसंस्थाको मूल संवाहक राप्रपा र यसको नेतृत्वलाई कमजोर बनाएर गन्तव्यमा पुग्न सकिन्न । राप्रपा एउटा स्थापित संगठन हो । यो संगठनको नेतृत्व र छत्रछायामा सम्पूर्ण राजावादी, हिन्दुवादी, राष्ट्रवादीहरु एकताबद्ध हुनको निमित्त आह्वान गर्न चाहन्छु ।”

थापाले राप्रपाको मूल नेतृत्व र पार्टीलाई कमजोर बनाउन को लागेको छ भन्नेबारे खुलाएका छैनन् ।  तर, राजसंस्थाको पक्षमा रहेका एक पूर्वपञ्चायत समर्थकको बुझाइमा थापाको भनाइ अर्का राजावादी केशरबहादुर विष्टतर्फ लक्षित छ ।

उसो त केही दिनअघि विष्टले कमल थापाले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डामा धोका दिएको टिप्पणी गरेका थिए । एक अन्तर्वार्तामा विष्टले आफू संविधान च्यातेर हिँडेको बाटोमा रहेपनि थापा भोलिपल्टै उपप्रधानमन्त्री खान गएको बताएका थिए । राप्रपा नेपालमा अध्यक्ष र सहअध्यक्ष थिए, त्यतिबेला थापा र विष्ट ।

थापा सरकारमा गएपछि पार्टीमा रुष्ट बनेका विष्ट लोहनी नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा लागे । अहिले पुनः थापा, लोहनी र राणाले एकता गरेर बनेको पार्टीमा विष्ट छैनन् । उनी राष्ट्रिय शक्ति नेपाल अभियानमार्फत् राजसंस्था पुनःस्थापनाको आन्दोलनमा छन् । मंसिर १६ गते काठमाडौंमा राजसंस्थाको पक्षमा विष्टकै नेतृत्वमा प्रदर्शन भएको थियो ।

राप्रपालाई राजसंस्था र हिन्दुराष्ट्र पक्षधरले नपत्याउने र नयाँ युवाहरुलाई पत्याएर मानिसहरु सडकमा आएको उनले प्रष्ट बताइसकेका छन् । यसको मतलब उनी राप्रपालाई हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको वाहक शक्ति मान्न तयार देखिएका छैनन् । विष्ट निकटस्थहरुका अनुसार उनले राजसंस्था पुनःस्थापनाको वाहक शक्तिका रुपमा अभियानलाई अगाडि बढाइरहेका छन् । त्यसका लागि विभिन्न राजावादी र हिन्दुवादीसहित अन्य राजनीतिक दलमा रहेकाहरुसँग समेत छलफल अगाडि बढाएका छन् ।

उनीसँगै राजाको प्रत्यक्ष शासनकालमा मन्त्री रहेका श्रीषशमशेर राणा, दीपक ज्ञवाली, कांग्रेसका नेता वीपीन कोइराला, नेपाली सेनाका पूर्वसहायक रथी रामकृष्ण थापालगायत देखिएका छन् । विभिन्न जिल्लामा समेत संयोजक तोकेर उनले राजसंस्थाको पुनःस्थापनाको आन्दोलन अगाडि बढाएका छन् । विश्व हिन्दू महासंघ, राष्ट्रिय सरोकार मञ्च, गोरख अभियान, बहादुर शाह प्रतिष्ठानसँग विष्टको अभियानले सहकार्यको सहमति गरेको छ ।

‘राजसंस्थाप्रति आकर्षणका तीन कारण’

राजावादीहरुको बुझाइमा राजसंस्थाप्रति जनतामा आकर्षण बढ्नुमा तीनओटा कारणले काम गरेको छ । राप्रपा अध्यक्ष थापाले सोमबार पार्टीको झन्डोत्तोलन कार्यक्रममा त्यसबारे चर्चा गरे ।

उनले ‘संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता बाहिरी शक्तिको दबाब र प्रभावमा लादिएको रहेछ भनेर विस्तारै बुझ्दै जाँदा त्यसप्रति वितृष्णा बढेको, सोही एजेन्डाको धेरै वकालत गर्ने नेकपाले करिब दुईतिहाइ मत पाउँदा पनि शान्ति, स्थीरता र समृद्धिको आशा राखेका जनताले कुनै सकारात्मक परिवर्तनको अनुभूति गर्न नपाएको र पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई दुःख, पीडा परेका विषयमा बाहेक नबोलेको, कुनैपनि राजनीतिक दललाई कमजोर बनाउन नलागेको’ले राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा आकर्षण देखिएको बताएका छन् । 

‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा अहिले लागिरहँदा पनि त्यसमा राजाको कुनै प्रतिक्रिया नदेखिएको भन्दै उनले अहिले भइरहेको प्रदर्शन स्वतःस्फूर्त नै भएको दाबी पनि गरेका छन् ।  “हाम्रो पार्टीले बोक्दै आएको हिन्दु धर्म र राजसंस्थाप्रति मुलुकभरि आन्दोलन चलिरहेको छ । स्वतःस्फूर्त चलिआएको भावनाले राप्रपाले राखेको मान्यता सही छ भनेर स्थापित गरेको छ,” राप्रपाका अर्का अध्यक्ष राणा भन्छन् । 

एजेन्डा मिल्नेबीच कार्यगत एकता !

राप्रपाले आफ्नो झन्डामुनि गोलबद्ध हुन आग्रह गरेपनि अरु राजावादीहरुले त्यसमा आवद्ध नहुने संकेत गरेका छन् । राजसंस्थाको पक्षमा केन्द्रमा देखिएका राप्रपा र राष्ट्रिय शक्ति नेपालबीच तत्काल एकता भइहाल्ने अवस्था देखिएको छैन । तर, उनीहरुबच कार्यगत एकताका लागि भने गृहकार्य जारी रहेको बताइन्छ । 
विष्ट नेतृत्वको अभियानमा रहेका नेपाली सेनाका पूर्वसहायक रथी रामकृष्ण थापा समान विचार भएकाहरुबीच कार्यगत एकता हुनसक्ने बताउँछन् ।

“अहिले  राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा उठाएर विभिन्न सटरहर खुलेका छन् । त्यसमा कसैको व्यक्तिगत स्वार्थ होलान्, कति आफ्नो विचारबाट चल्न नसक्ने होलान्,” उनले भने, “हाम्रो प्रयास भनेको समान विचारधारा भएको र घोषित हिसाबले अगाडि बढ्न चाहेकाहरु एकताबद्ध गर्ने हो । सम्भवतः अब छिट्टै नै मुख्य–मुख्य जनाधार भएकाहरुका बीचमा कार्यगत एकता हुन्छ । त्यसका लागि कोसिसमा छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC