काठमाडौं । दैलेखमा पेट्रोलको मात्रा पत्ता लगाउन चिनियाँ टोली आउँदो जनवरीमा नेपाल आउने भएको छ । टोलीले त्यस क्षेत्रमा रहेको पेट्रोलको परिमाण थाहा पाउन गरिने ड्रिलिङ (दुलो पार्ने)को काम गर्नेछ । करिब चार किलोमिटर गहिरो ड्रिलिङ कार्य गएको अक्टोबरदेखि सुरु गर्ने योजना थियो । कोरोना कहरका कारण पर धकेलिएको हो ।
कोरोनाका कारण चीनबाट प्राविधिक टोली नआउँदा काम सुरु गर्न नसकिएको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधीर रजौरेले बाह्रखरीलाई बताए ।
“उक्त कार्य अब सन् २०२१ लागेपछिमात्र सुरु गर्ने कार्यक्रम छ,” रजौरेले भने, “ड्रिलिङ सकिएपछिमात्र के कत्रो आकार, के कस्तो प्रकारको पेट्रोलियम तथा ग्यास भन्डार रहेको पत्ता लाग्नेछ ।”
उनका अनुसार चिनियाँ प्राविधिक टोली र उपकरण जनवरीमा नेपाल आउनेछ । त्यसपछि यकिन भइसकेको स्थानमा ड्रिलिङ गर्ने योजना छ । नेपाल र चीन सरकार मातहतका निकायको संयुक्त सहभागितामा दैलेखमा विभिन्न सर्भे भइसकेको छ । सर्भेले सकारात्मक संकेत देखाएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सर्भे भएको हो ।
सन् २०१९ को अक्टोबरदेखि २०२० को मार्चसम्म भौगर्भिक, भूरासायनिक सर्भे भएको थियो । साथै, २० किलोमिटर लम्बाइ तथा २० किलोमिटर चौडाइको सम्भावित क्षेत्रमा सिस्मिक र म्याग्नेटोटेलुरिक सर्भे सम्पन्न भएको रजौरेले जानकारी दिए । सिस्मिक र म्याग्नेटोटेलुरिक सर्भेबाट प्राप्त डेटा विश्लेषण गर्दा दैलेखको भूगर्भमा पेट्रोलियम तथा ग्यास भन्डार रहनसक्ने अनुकूल बनावट भेटिएको छ । सोही आधारमा खानी तथा भूगर्भ विभागले ड्रिलिङको लागि उपयुक्त स्थान टुंगो लगाइसकेको छ ।
रजौरेका अनुसार तीनदेखि पाँच महिनाको अवधिमा ड्रिलिङको काम सकिनेछ । दैलेखको खानी अन्वेषणमा चाइना जिओलोजिकल सर्भेका तर्फबाट प्रा. डा. टान फुयेन र नेपालका तर्फबाट रजौरेको नेतृत्व छ ।
विस्तृत भौगर्भिक, भूरासायनिक र भूभौतिक अध्ययन तथा ड्रिलिङपश्चातमात्र कुन–कुन क्षेत्रमा कत्रो परिमाणको पेट्रोलियम पदार्थको भन्डार रहेको छ भन्ने थाहा हुन्छ । भेटिएको पेट्रोलियम पदार्थ आर्थिक तथा व्यापारिक दृष्टिकोणले उत्खननयोग्य भए÷नभएको त्यसपछि यकिन हुने रजौरे बताउँछन् ।
जमिनको सतहभन्दा धेरै गहिराइमा पाइने गरेको कारणले पेट्रोलियम पदार्थको अन्वेषण अन्य कुराको लागि गरिने अध्ययन तथा अन्वेषणभन्दा फरक, जटिल, जोखिमयुक्त र निकै महँगो हुन्छ ।
पेट्रोलियम पदार्थको भन्डार सानोखालको तथा धेरै गहिराइमा रहेछ भने आर्थिकरुपले व्यापारिक महत्वको नहुने सम्भावना पनि उत्तिकै छ । जसले गर्दा लगानीअनुरुप प्रतिफल प्राप्त नहुनसक्छ ।
ड्रिलिङ किन ?
कुनैपनि क्षेत्रमा पेट्रोलियम अन्वेषण कार्यमा सर्वप्रथम पेट्रोलियम पदार्थ बन्नको लागि आवश्यक स्रोत चट्टान रहे÷नरहेको खोजी गरिन्छ । साथै, उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ बनेपछि स्थानान्तरण भइ जम्मा भएर रहनसक्ने चट्टान तथा भौगर्भिक संरचना, जम्मा भएको स्थानबाट थप स्थानान्तरण हुनबाट रोक्नसक्ने उपयुक्त चट्टान र भौगर्भिक संरचना रहे ÷नरहेको पृथ्वीको सतहबाटै अनुमान गरिन्छ ।
पेट्रोलियम पदार्थ रहनसक्ने सम्भावना भएपनि रहे/नरहेको यकिन गर्न भने त्यस्तो अनुमान गरिएको ठाउँमा ड्रिलिङ गर्नैपर्ने हुन्छ । विश्वको तथ्यांक केलाउँदा पेट्रोलियम पदार्थ पाइने भनेर अनुमान गरिएका ठाउँमा ड्रिलिङ गर्दा करिब १० प्रतिशत स्थानमा मात्र सफलता हासिल भएको छ ।
यसरी सम्भव भयो दैलेखमा पेट्रोलियम खानी खोज्ने काम
दैलेखमा पेट्रोलियम अन्वेषणका लागि २०७५ पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट अफ चाइना अन आयल एन्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट इन नेपाल’ स्वीकृत गरेको थियो । सोही निर्णयानुसार २०७५ फागुन १६ गते खानी तथा भूगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेबीच नेपालमा रहेका पेट्रोलियम खानीको विस्तृत अध्ययनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।
त्यसअघि पनि चिनियाँ टोलीले सुर्खेत, दैलेख, पाल्पा तथा सुनसरी क्षेत्रमा पेट्रोलियम खानीको सम्भाव्यता अध्ययन गरेको थियो । सोही आधारमा २०७४ साउन ३१ गते चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा नेपालका पेट्रोलियम खानीको अन्वेषण तथा उत्खनन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।
त्यसअघि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा पनि नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण गर्ने उल्लेख थियो । पेट्रोलियम नियमावली २०४१, पाँचौं संशोधन २०७४ नेपाल राजपत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुला भएको हो ।
यसरी बन्छ पेट्रोल, नेपालमा पनि खानी छ भन्ने आधार के ?
पृथ्वीको सतहमा रहेका सूक्ष्म वनस्पति तथा जीवहरु पृथ्वीको विकासक्रममा जमिनमुनि पुरिएर उच्च तापक्रम, दबाब तथा लामो समयसँगै हुने रासायनिक प्रतिक्रियाको कारणले पेट्रोलियम पदार्थ तथा पेट्रोलियम ग्यास बन्छन् । पेट्रोलियम पदार्थ (कच्चा तेल तथा ग्यास) बन्नका लागि आवश्यक प्रमुख स्रोत सूक्ष्म वनस्पति र सूक्ष्म प्राणी हुन् ।
पृथ्वीको विकासक्रममा समुद्री भूभागमा रहेका गहिरा खाडल (सेडिमेनटरी बेसिन)मा यस्ता प्राणी तथा वनस्पति पेट्रोलियम पदार्थ बन्छन् । यस्तो प्रक्रिया लाखौं तथा करोडौं वर्षमा पूर्ण हुन्छ । समयक्रमसँगै जम्मा भएका सूक्ष्म जीव तथा वनस्पतिबाट बनेका पत्रे चट्टानमा संकलित जैविक पदार्थ उपयुक्त तापक्रम (९० देखि १७५ डिग्री सेल्सियस), उच्च दबाब तथा जैविक र रासायनिक प्रतिक्रियाबाट पेट्रोलियम पदार्थमा परिणत भएका हुन् ।
जैविक पदार्थहरु संकलित भई पेट्रोलियम पदार्थमा परिणत हुने चट्टानलाई स्रोत चट्टान भनिन्छ । यसरी परिणत भएको पेट्रोलियम पदार्थ हलुका हुन्छ र उपयुक्त छिद्र तथा धेरै चिरा परेको चट्टानमा भन्डारण हुन्छ । भौगर्भिक अध्ययन तथा अनुसन्धानले करिब पाँच करोड वर्षअघिसम्म इन्डियन प्लेट (भूखन्ड) र एसियन प्लेटको बीचमा टेथिस सागर रहेको देखाउँछ । सो क्षेत्र हालको नेपाल तथा सम्पूर्ण हिमालय क्षेत्रले ओगटेको ठाउँ हो ।
टेथिस सागरले ओगटेको ठाउँमा ठूल्ठूला सेडिमेन्टरी बेसिन विकास भई पेट्रोलियम पदार्थ बनेको अनुमान छ । यस्ता बेसिन हालको नेपालमा पर्ने भएकाले नेपाल पेट्रोलियम अन्वेषणका लागि लक्षित स्थानमा परेको हो ।
कहाँ–कहाँ छन् पेट्रोल खानी ?
नेपालको दक्षिण तराई, भित्री मधेस र चुरे पर्वतमाला क्षेत्र पेट्रोलियम पदार्थ हुनसक्ने स्थानका रुपमा देखिएको छ । खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले हालसम्म गरेका अध्ययन–अन्वेषणको निष्कर्षले यस्तो देखाएको हो । उक्त क्षेत्रको भौगर्भिक इतिहास तथा भूगर्भसँग मिल्ने भारतको आसाम तथा पाकिस्तानको पोतवार क्षेत्रमा लामो समयदेखि पेट्रोलियम पदार्थको उत्पादन भइरहेको छ । सोही कारणले नेपालको भूगर्भमा पनि पेट्रोलियम पदार्थको भन्डार हुनसक्ने सम्भावना प्रबल छ ।
दैलेखको सिरस्थान र नाभिस्थानमा लामो समयदेखि ग्यास निस्केर ज्वाला बलिरहेको तथा पादुकास्थानमा कच्चा तेल निस्कनुलाई नेपालको भूगर्भमा पेट्रोलियम पदार्थ तथा पेट्रोलियम ग्यास रहेको प्रमाणको रुपमा लिइएको हो । नेपालको दक्षिण तराई र चुरे पर्वत शृंखलाले ओगटेको क्षेत्रलाइ पेट्रोलियम पदार्थ तथा पेट्रोलियम ग्यास अन्वेषणको लागि उपयुक्त क्षेत्र मानिएको छ ।