site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आलटालमै बित्‍ने भयो शैक्षिक सत्र !
SkywellSkywell

काठमाडौं । नरेश रोकाया दुई वर्षअघि छोरा, पत्‍नी र भाइसहित दैलेखको नौमुलेबाट काठमाडौं आए । छोरा र भाइलाई काठमाडौंस्थित सरस्वती माध्यामिक विद्यालयमा भर्ना गरिदिए । छोरा ४ कक्षामा पढ्छ भने भाइ ९ मा । दैलेखमा विद्यालय पुग्नै १ घण्टा बढी लाग्थ्यो । आफूले कक्षा ८ सम्म पढे पनि छोरालाई भने राम्ररी नै पढाउन चाहन्थे उनी । तर कोरोना महामारी सुरु भएयता नरेशका १० वर्षे छोरा दीपेन्द्र र भाइ घरमै छन् । असोजपछि सातामा एकपटक छोरा विद्यालय जाने गरेको उनले सुनाए । अरु दिन दीपेन्द्र घरमै बस्छ । नरेश भन्छन्, “खोइ पढ्छ कि खेल्छ केही थाहा छैन । म र बूढी बिहानै काममा जान्छौँ, साँझ फर्कन्छौँ ।” नरेश र पत्‍नी दुवै ज्यामी काम गर्छन् ।

चैत ११ देखि सुरु भएको पटक-पटकको लकडाउन र सटडाउनमा नरेश घरमै थिए । विगत २० दिनदेखि भने उनी ग्रिनल्यान्डमा ज्यामीको काम गरिरहेका छन् । दिनको उनी ८ सय कमाउँछन् भने पत्नीले ६ सय । त्यही पैसामा २ हजार भाडा तिर्ने, खाने, पढाउने र गाउँमा भएका बा-आमालाई खर्च पठाइ नरेश गुजारा गरिरहेका छन् । लकडाउनमा सरकारका तर्फबाट उनले एक बोरा चामलबाहेक अन्य कुनै सहायता पाएनन् । 

सरकारले पहुँचका आधारमा ५ वैकल्पिक माध्यमबाट पढाउन विद्यार्थी छुट्याएको छ । जसअनुसार नरेशसँग घरमा टेलिभिजन त छ, तर टेलिभिजनमा पढाइका कुरा पनि आउँछन् भन्ने उनलाई थाहा छैन । भाइको हकमा भने अनलाइनबाट पढाइ भइरहेको छ । तर उनीसँग घरमा इन्टरनेट छैन । त्यसो त घर पुगेर पढाइ के कस्तो भयो सोध्ने मेसो पाउँदैनन् उनी । यो नरेशको मात्रै समस्या होइन, यहाँ नरेशजस्ता कैयौँ अभिभावक छन्, जो गाउँबाट सहर छोराछोरी पढाउन र कमाउन राजधानी आएका छन् । ज्यामी, मजदुरी, भारी बोक्ने, तरकारी बेच्‍नेजस्ता काम गरेर घर खर्च धानिरहेका छन् । निम्‍न आए भएका यी वर्गका अधिकांश छोराछोरी सरकारी तथा सामुदायिक विद्यालयमा पढ्छन् । तर यी विद्यालयका पढाइहरू भने डामाडोल छ । केही महँगा निजी विद्यालयबाहेक अधिकांशमा विद्यार्थीले नाम मात्रको शिक्षा पाइरहेका छन् । 

Dabur Nepal
NIC Asia

सरस्वतीमा प्राय: निम्‍न-मध्यम वर्गका र बाहिर जिल्लाबाट बसाइ सरेर आएका अभिभावकका छोराछोरी पढ्छन् । कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयले साताको एक दिनमात्र बोलाउने गर्दा विद्यार्थीको पढ्ने बानी छुटेको छ । विद्यार्थीका घरमा कम्प्युटर ल्यापटप छैनन् भने इन्टरनेट हुने त कुरै भएन । केहीको घरमा टेलिभिजन त छ । तर टेलिभिजनमा हेरेर पढ्छन् नै भन्ने कुनै ठेगान छैन । न त विद्यालयले मन्त्रालयले भनेजस्तो प्रत्येक विद्यार्थीको प्रगति विवरणको पोर्टफोलियो नै राखेको छ । सातामा एकपटक बोलाएका विद्यार्थीलाई नयाँ कुरा सिकाउनेभन्दा पनि उनीहरूले कुनै जिज्ञासा लागे सोध्‍ने र गरेर ल्याएका गृहकार्य हेर्ने गरेको प्रधानाध्यापक अर्जुन श्रेष्ठ बताउँछन् ।

सरस्वतीले नर्सरी र केजीमा प्रत्येक दिन करिब १० विद्यार्थी आलोपालो बोलाएर १० देखि २ बजेसम्म पढाइरहेको, १ देखि ५ लाई सातामा एकपटक र ६ देखि १० सम्मका विद्यार्थीलाई अनलाइन पढाइरहेको प्रधानाध्यापक श्रेष्ठले बताए । ९ र १० मा ९० प्रतिशत विद्यार्थी अनलाइनमा पढिरहेको उनको दाबी छ । यस्तै, ६, ७ र ८ मा भने ६० प्रतिशत विद्यार्थी मात्रै अनलाइन पढिरहेका छन् । अनलाइन कक्षा सञ्चालनका लागि साउनमै ल्यापटप मागे पनि नगरपालिकाले सरकारी विद्यालयका शिक्षक ल्यापटप किन्न नसक्ने हो र’ भन्दै विषयान्तर गरेको प्रधानाध्यापक श्रेष्ठ गुनासो पोख्छन् । उनी भन्छन्, “केटाकेटीको पढाइ त डामाडोलै छ । हामी कोसिस गरिरहेकै छौँ ।” नपढाए नि विद्यालयले तिहारअघि परीक्षा भने लिएको छ । 

सरकारले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई सहुलियत दरमा डाटा र भ्वाइस सेवा उपलब्ध गराएको भने पनि अधिकांश शिक्षक र विद्यार्थी त्यसबाट लाभान्वित हुन सकेका छैनन् । प्रधानाध्यापक श्रेष्ठ सरकारको सहुलियतबारे थाहा भए पनि व्यवहारिक नभएको उनको तर्क छ । भन्छन्, “युट्युबमा एउटा भिडियो डाउनलोड गर्दै ५ जीबी डाटा सकिसक्छ । सहुलियत सेवा लिन मोबाइलमा ९९ रुपैयाँ राखिराख्नुपर्छ । कसरी व्यवहारिक भयो ?”

शैक्षिक सत्र तहसनहस नै छ टोखास्थित चण्डेश्वरी विद्यालयमा पढ्ने विद्यार्थीको । विद्यालयका प्रधानाध्यापक गोपालबहादुर कार्की विद्यार्थीलाई पढाउनेभन्दा पनि सामान्य सिकाइ मात्र भएको उनले सुनाए । उनी भन्छन्, “हाम्रोमा बसाइसरी आएका विपन्‍न वर्गका, घरमा काम गर्न राखेका केटाकेटीहरू पढ्छन् । अधिकांशसँग अनलाइन सेवा छैन र पढाइमा चासो भएका अभिभावक पनि छैनन् ।” 

चण्डेश्वरीमा समूह मिलाएर एक लटमा करिब २५ जना राखेर कक्षा सञ्चालन भइरहेको छ । चैतमा बन्द भएको सो विद्यालय साउनमा २० दिन जति खुलेको थियो । त्यसपछि सरकारले सिकाइ सहज निर्देशिका २०७७ असोज १ गतेबाट लागु गरेपछि असोजबाट विद्यालय खुलेको हो । विद्यार्थी करिब २ घण्टा विद्यालयमा बस्छन् । कुनै कुरा सोध्न मन लागे सोध्छन् । गृहकार्य गरेको छ भने देखाउँछन् । विषम् परिस्थिति भएकाले विद्यार्थी, शिक्षक तथा अभिभावक कसैलाई दोष दिन नमिल्ने प्रधानाध्यापक कार्कीको तर्क छ । टोखा नगरपालिकामा ८ वटा सामुदायिक विद्यालय छन्, सबैको अवस्था उस्तै रहेको उनले बताए । तर मन्त्रालयले भनेको जस्तो प्रत्येक विद्यार्थीको पढाइ प्रगति विवरण उनको विद्यालयले पनि राखेको छैन ।

पुरानो बानेश्वरमा डोकोमा साग बेची हिँड्ने चन्द्रा कुँवर, कैलालीबाट २ वर्षअघि छोराछोरी पढाउन भन्दै पतिसहित काठमाडौं आइन् । छोरा ४ र छोरी ५ मा रत्नराज्य माध्यामिक विद्यालयमा पढ्छन् । तर चैतदेखि लकडाउन सुरु भएपछि दुवै छोराछोरी घरमै अड्किए । निजी विद्यालयले अनलाइनमा कक्षा सुरु गरे पनि रत्नराज्यले भने त्यस्तो केही गरेन । न त अभिभावक बोलाएर परामर्श नै गर्‍यो । विद्यालयको वेबसाइटमा कक्षा ९ र १० का लागि अनलाइन कक्षा सञ्चालन भइरहेको सूचना देख्‍न सकिन्छ । तर अन्य कक्षाको हकमा भने त्यस्तो केही जानकारी उल्लेख छैन । अहिले छोराछोरी गाउँमै हजुरबा-हजुरआमासँग रहेको चन्द्राले बताइन् । उनी भन्छिन्, “स्कुल कहिले खुल्ने टुंगो भएन । घरमा नेट र टीभी दुवै छैन । बुढाको अफिसले पनि आधा तलब मात्र दिइरहेको छ । दसैँ मनाउन घर गएको उतै छन् ।”

खेर जाँदै शैक्षिक सत्र
शैक्षिक सत्र खेर जान नदिन भन्दै सरकारले असार १ गतेबाट लागु हुने गरी वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गर्‍यो । त्यसको पूर्ण कार्यान्वयन नहुँदै पुनः विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ ल्यायो । अहिले फेरि विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ जारी गरेको छ । वैशाखमै योजनासहित आउने पर्ने शिक्षा मन्त्रालय समय छँदा आलटाल गरिरहने र समय घर्केपछि औपचारिक कक्षा चलाउन कार्यढाँचा बनाउनु औचित्यहिन रहेको विज्ञहरू बताउँछन् ।

सरकारले आलटाल गर्दै चैतपछि विद्यार्थीलाई सुधारात्मक कक्षा भन्दै माथिल्लो कक्षामा चढाउने सजिलो उपायको दुश्साहस गरेको शिक्षाविद् विद्यानाथ कोइरालाको भनाइ छ । उनले सरकारले चाहेमा अतिरिक्त, अनौपचारिक र औपचारिक कक्षा सञ्चालन गरी परिपूरक रुपमा पठनपाठन र सिकाइ अघि बढाउन सक्थ्यो । रेडियो, टेलिभिजन, अनलाइन छ कि छैन भन्दै नाटक गरिराख्नु पर्दैनथ्यो । बेइमान सरकार तथा राजनीतिज्ञ र गैरजिम्मेवार शिक्षक जो घर बसी-बसी तलब मात्र खान खोज्‍ने भएपछि बालबालिकाको पढाइ बेहाल हुनु स्वभाविक भएको उनले टिप्पणी गरे । ‘‘सरकाले ८ महिना लागेपछि विद्यालय खोल्न निर्देशन दिने हो ?’’ उनले प्रश्न गरे ।

कोरोना संक्रमितको संख्या दिनहुँ हजारौंको संख्यामा बढिरहँदा विद्यालय खोल्नु गैरजिम्मेवार भएको अभिभावक संघका अध्यक्ष केशव पुरी बताउँछन् । ३० हजारभन्दा बढी विद्यालय छन्, त्यहाँ आबद्ध विद्यार्थीले सरकारले सुझाएका वैकल्पिक माध्यमबाट पढ्न पाए कि पाएनन्, त्यसको निरिक्षण गर्नु छैन । एकल मनलाग्दो निर्णय गरेको उनको आरोप छ । उनी भन्छन्, “माध्यामिक तहसम्म विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई छ । हिजो स्थानीय तहको अधिकार खोसी मनलाग्दी निर्णय गर्ने, अहिले अफ्ठ्यारो परिस्थिति आएपछि विद्यालय सञ्चालन स्थानीय तहको जिम्मेवारी भनेर पन्छिन मिल्छ ?”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu