site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीमा खुलाउन धर्ना बसे सांसद

जनकपुर । कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण गर्न भन्दै आठ महिनादेखि बन्द रहेको भारतीय सीमा खुलाउन सीमा क्षेत्रमा धर्ना कार्यक्रम सुरु भएको छ । 

बुधबारदेखि सुरु भएको धर्ना कार्यक्रममा प्रदेश सांसद एवं सत्तारुढ दल जनता समाजवादी पार्टी संसदीय दलका उपनेता रामआशिष यादव पनि सहभागी भए । कोरोनाको बहाना बनाएर सीमावर्ती क्षेत्रमा बसोबास गर्ने दुवैतिरका जनताबीच सम्बन्ध विगार्ने मनसाय बनाएर नेपाल सरकारले एकतर्फी सीमा बन्द जारी राखेको आरोप सांसद यादवको छ ।
 
“कुनै बेला नेपाल कृषि उपज सामग्रीमा आत्मनिर्भर थियो, समस्या थिएन” यादवले बाह्रखरीसँग भने, “अहिले अवस्था बिग्रेको छ । नेपाली जनता भारतीय बजारको खाद्यान्नमा निर्भर भएका छन् । सानो अवधिका लागि पनि सीमा बन्द हुँदा नेपाली समुदायमा अनेक अभाव सिर्जना हुन थाल्छ भने यो आठ महिनादेखि कसरी थेगिरहेको छ त्यो ठूलो सवाल हो ।” सीमापारी कोरोना कहर शान्त भएर भारतीय सरकारले सीमा खोलिसके पनि नेपाल सरकारले एकतर्फी सीमा बन्द लम्ब्याउनु गलत भएको उनको जिकिर छ । 

नेपाल भारत खुला सीमा संवाद समूहको अगुवाइमा सुरु गरिएको धर्ना कार्यक्रम सीमा खुला नगरिएसम्म जारी रहने समूहका संयोजक राजिव झाले बताए । “कोरोना नियन्त्रणकै लागि बन्द गरिएको थियो भने भारततर्फ जनजीवन समान्य भइसक्यो । उताबाट सीमा नाका खुला पनि गरिसक्यो” झाले भने, “नेपालतर्फबाट एक महिनाको नाउँमा अनिश्चितकालसम्म सीमा बन्द गरेर दुई देशबीचको बेटीरोटीको सम्बन्धमा समेत खलल् पुग्ने अवस्था आउँदैछ ।”
 
नेपाल सरकारले कोरोनाको नाउँमा सीमा वारी र पारीका बासिन्दाबीच दूरी बढाउने षडयन्त्र गरेको आरोप धर्नामा बसेकाहरुको छ । सीमा बन्द भएर अवरुद्ध भएको व्यापारले मुलुकलाई ठूलो आर्थिक क्षति भएपनि अनिश्चितकालीन सीमा बन्द गर्ने निर्णयले सरकारको उद्धेश्यमाथि शंका उत्पन्न भएको जसपा नेपालका केन्द्रिय सदस्य चन्दन दुवेले बताए । 

“दैनिक लाखौं रुपैयाँ संकलन हुने भन्सार बन्द छ । यसले मुलुकको आर्थिक अवस्था कमजोर बन्छ नै,” दुवेले भने, “दुई देशबीचको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमासमेत यसले नाकारात्मक असर पर्न थालेको छ ।” 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro