site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्रिकेट छाडेर भारोत्तोलन, छोटो समयमै ठूलो सफलता

काठमाडौं । भारोत्तोलनको साग इतिहासमा ऐतिहासिक पदक जित्ने खेलाडी हुन्, सन्जु चौधरी । उनले घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी हुन् । १३औं सागमा स्वर्ण जित्दै उनी नेपाली भारोत्तोलनको साग इतिहासमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी पनि बनिन् ।

पहिलोपटक सागमा सहभागी हुँदै उनले स्वर्ण जितेकी हुन् । यसअघि उनले पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए पनि स्वर्ण भने जित्न सकेकी थिइनन् । प्रायःजसो अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पदकविहीन नभएकी उनी सागमा भने ऐतिहासिक स्वर्ण जित्न सफल भएकी हुन् ।

“मैले यसअघि केही अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी थिएँ । तर, साग मेरा लागि पहिलो र नौलो थियो,” सन्जुले भनिन्, “नेपाली भारोत्तोलन खेलाडीहरूमध्ये टोलीको म सबैभन्दा जुनियर खेलाडी पनि थिएँ । प्रायः खेलाडीले सागको अनुभव बटुलिसकेका थिए । त्यसैले पनि मलाई सागको अनुभव लिनु थियो ।”

Dabur Nepal

सन्जुले १३औं सागमा ५९ केजी तौल समूहमा महिलातर्फ स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याचमा ७४ केजी तौल भार वहन गरेकी थिइन् । त्यस्तै क्लिन एन्ड जर्कमा ९७ केजी भार वहन गर्दै सागमा नेपाललाई स्वर्ण दिलाइन् । यसअछि ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी सन्जुले सागमा पहिलोपटक सहभागिता जनाउँदा ५९ केजी तौल समूहमा खेलिन् ।

छोटो समयमा ठूलो सफलता
सञ्जुले भारत्तोलनको यात्रा सुरु गरेको धेरै समय भएको छैन । तर, पनि उनले सागमा ठूलो सफलता हासिल गरिन् । नेपाली खेलकुद क्षेत्रमा छोटो समयमा ठूलो सफलता हासिल गर्नेमध्येकी एक हुन, सन्जु ।

२०७२ सालाबाट भारोत्तोलन प्रतियोगिता खेल्न सुरु गरेकी उनले पहिलो प्रतियोगिताबाटै पछाडि फर्केर हेर्नुपरेन । २०७३ सालमा ओलम्पिक डेको अवसरमा काठमाडौंमा आयोजना भएको राष्ट्रिय प्रतियोगिता उनका लागि पहिलो थियो । यसमा उनले रजत पदक जितिन् ।

पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा भने उनी निराश बनिन् । आफ्नो दोस्रो राष्ट्रिय प्रतियोगितामा उनी पदकविहीन बनिन् । त्यसपछिका सबैजसो राष्ट्रिय प्रतियोगितामा भने उनले स्वर्ण पदक जितेकी छन् । “केहीबाहेक मैले जति राष्ट्रिय प्रतियोगिता खेले सबैमा राम्रो नतिजा ल्याएँ,” उनले भनिन्, “पहिलो प्रतियोगितामै रजत जित्दा त्यसले ऊर्जा दियो । २०७४ पछि आफूले खेलेका सबै राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेकी छु । सायद यसैले मलाई खेलमा लाग्‍न प्रेरणा मिलेको हो ।”

स्वर्णको सुरुवात


उनले हालसम्म खेलेका सात राष्ट्रिय प्रतियोगिता मध्ये पाँच खेलमा स्वर्ण जितेकी छन् । २०७४ सालमा काठमाडौंमा भएको प्रथम नेपाल स्ट्रोङगेस्ट सुनीललाल जोशी मेमेरियल च्याम्पियनसिप उनको तेस्रो राष्ट्रिय प्रतियोगिता थियो । सोही प्रतियोगिताबाट उनले आफ्नो खेल जीवनकमा स्वर्ण जित्न सुरु गरिन् । यो प्रतियोगितामा उनी उत्कृष्ट लिफ्टरसमेत घोषित भइन् ।

२०७४ सालमै पोखरामा भएको राखेप च्याम्पियनसिप, काठमाडौंमा भएको अन्तर क्लब राष्ट्रिय च्याम्पियनसिप, २०७५ र ७६ मा काठमाडौंमै भएको दोस्रो र तेस्रो नेपाल स्ट्रोङगेस्ट सुनीललाल जोशी मेमेरियल च्याम्पियनसिपमा उनले स्वर्ण पदक जितिन् । “मैले थोरै खेल खेलेकी छु । छोटो समयमा मेरा लागि यी अवसर भए,” सन्जुले भनिन्, “अन्य खेलमा एक वर्ष धेरै प्रतियोगिता हुने गर्छ । हाम्रोमा भने वर्षमा एक बल्लबल्ल हुने गर्छ ।”

उनले अहिलेसम्मको आफ्नो खेल यात्रा सुखद् रहेको बताएकी छिन् । उनले आफ्नो मिहिनेतअनुसार खेलको नतिजाबाट सन्तुष्ट भएको बताइन् । उनले भनिन्, “अहिलेसम्मको नतिजामा खुसी छु । मिहिनेत पनि गरिरहेकै छु । शरीरले साथ दिएसम्म राम्रो गर्ने प्रयास गर्नेछु । अबको मेरो लक्ष्य ओलम्पिक खेल्नु र नेपालका लागि राम्रो नतिजा ल्याउने नै छ ।” 

अन्तर्राष्ट्रिय यात्रा
सन् २०१७ बाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेकी सन्जुले हालसम्म नेपालका लागि ६ वटा प्रतियोगितामा सहभागिता जनाएकी छन् । उनले पहिलोपटक काठमाडौंमा भएको एसियन युथ एन्ड जुनियर च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् । उक्त प्रतियोगितमा भने उनको सहभागिता मात्र रह्‍यो । तर उनले क्लिन एक जर्कमा राष्ट्रिय कीर्तिमान बनाइन् । 

सोही वर्ष उनले कोरियामा इन्टर क्लब एसिया कप खेलिन् । कोरियामा भएको एसिया कपमा उनले तीन रजत र तीन कास्य पदक जितिन् । यो नै उनको पहिलो अन्तर्राष्ट्रिय पदक थियो ।

२०१८ मा उनले दोस्रो पदक उज्वेकिस्तानमा भएको एसियन युथ एन्ड जुनियर च्याम्पियनसिपमा सहभागिता जनाइन् । एसियन युथमा दोस्रोपटक सहभागिता जनाउँदा उनी पुनः पदकविहीन बनिन् । तर, उनले स्न्याचमा राष्ट्रिय कीर्तिमान बनाइन् । उनले २०१८ मा इन्डोनेसियाको जाकर्तामा भएको १८औं एसियनमा तीन राष्ट्रिय कीर्तिमान राखिन् ।

२०१९ मा चीनमा भएको एसियन सिनियर भारोत्तोलन च्याम्पियनसिप खेलिन् । घरेलु भूमिमा आयोजना भएको १३औं साग उनको पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । पहिलोपटक साग खेल्दै उनले नेपाललाई भारत्तोलनमा स्वर्ण जिताउँदै कीर्तिमान बनाएकी छन् । उनले आफ्नो भारोत्तोलनको छोटो करियरमा थुप्रै राष्ट्रिय कीर्तिमानकी बनाएकी छन् । उनलाई राष्ट्रिय कीर्तिमानको एक प्याकेजभन्दा फरक पर्दैन ।

क्रिकेट छाडेर भारत्तोलन 
भारोत्तोलनमा लाग्नुअघि सन्जु एथलेटिक्स र क्रिकेट खेलाडी थिइन् । स्कुल पढ्दा उनले थुप्रै एथलेटिक्स र क्रिकेट प्रतियोगिता खेलिन् । उनले स्कुल पढ्दा दुई सय मिटरको दौडमा पदकसमेत जितेकी थिइन् ।

सन्जु क्रिकेटमा आफू राम्रो खेलाडी भएको बताउँछिन् । उनले भारोत्तोलन खेल्नुअघि चार-पाँचवटा राष्ट्रिय क्रिकेट प्रतियोगितासमेत खेलेको बताइन् । तर, नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा स्थान बनाउन नसकेपछि उनले क्रिकेट खेल्न छाडेको सुनाइन् ।

“म खेलकुदमा धेरै रुचि राख्ने मान्छे । स्कुल पढ्दा हुने धेरैजसो प्रतियोगितामा सहभागिता जनाउँथें । पदक पनि जित्थें,” सन्जुले भनिन्, “पछि मैले क्रिकेट खेलें । केही राष्ट्रिय प्रतियोगिता पनि खेलेकी छु । त्यतिबेला नेपाली राष्ट्रिय महिला क्रिकेट टिमबाट नेपालको प्रतिनिधित्व गर्ने सपना देखेकी थिएँ । तर, त्यो सम्भव भएन् ।”

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमबाट खेल्ने आफ्नो सपना सन्जुले परिवर्तन गरिन् । क्रिकेट खेल्दा सातको एक-दुई दिन पावर ट्रेनिङका लागि गइने जिमहलले उनलाई भारत्तोलनतिर तान्यो । त्यति नै बेला उनको भेट भारोत्तोलनका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता सुरेन्द्र हमालसँग भयो । अनि उनी सुरेन्द्र हमालबाट प्रेरित हुँदै भारोत्तोलनतिर लागिन् ।

“आफूलाई क्रिकेट राम्रो खेल्छुजस्तो लाग्थ्यो । तर, राष्ट्रिय टोलीको अन्तिम १८ भन्दा माथि पर्न सकिनँ । मिहिनेत गर्दा पनि १८ भन्दा माथि पर्न नसकेपछि मलाई क्रिकेटमा फर्किन मन लागेन,” उनले भनिन्, “क्रिकेट खेल्दा कहिले-काहीँ हामीलाई साताको एक दुई दिन पावर ट्रेनिङका लागि जिम हल लगिन्थ्यो । त्यहीबाट जिमको लत बस्यो । यता क्रिकेटमा राम्रो गर्न सकेनँजस्तो लाग्यो । अनि एसएलसी पछि भारोत्तोलनमै लागें ।”

हाल सन्जुको नाम टोकियो ओलम्पिकका लागि सिफारिस गरिएको छ । टोकियो ओलम्पिकमा वाइल्ड कार्ड इन्ट्रीका लागि सन्जुसँगै कमला श्रेष्ठको नाम सिफारिस गरिएको थियो । तर, ओलम्पिक एक वर्षपछि धकेलिएको छ । विश्व महामारीका रुपमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि टोकियो ओलम्पिक एक वर्ष पछि धकेलिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro