site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा मोटरसाइकल चोरीमा संलग्‍न ७ जना पक्राउ

चितवन । चितवनका विभिन्‍न स्थानमा मोटरसाइकल चोरी गर्ने तथा चोरीमा संलग्‍न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मलेन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमध्ये चोरी गर्ने पाँचजना र चोरीको मोटरसाइकल खरिद गर्ने दुईजना छन् । चोरी गर्नेहरु बाराका करैया माइगाउँपालिका ५ का विजय चौधरी, सोही ठाउँकै राकेश चौधरी, बारा जिल्ला, कोल्हवी नगरपालिका ७ का महेश चौधरी छन् । अन्य दुईजना चोरी गर्ने चितवनका हुन् । भरतपुर महानगरपालिका ११ का दिनेश गुरुङ र अर्का मनोज दराई रहेको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

उनीहरुले विभिन्न समयमा भरतपुर महानगरपालिकास्थित भाटभटेनी सुपर स्टोरअगाडि, कटहर चोक, नहरचोक पावर हाउस चोक, विक्रम मार्गलगायत स्थानहरुबाट मोटरसाइकलहरू चोरी गर्दै आएको कार्यालयका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) सूर्यबहादुर थापाले जानकारी दिए ।

यस्तै चोरीका मोटरसाइकल खरिद गर्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको खैरहनी नगरपालिका १२ का समीर चौधरी र अमृत चौधरी छन् । उनीहरुले चोरीका मोटरसाइकल खरिद गरी पार्टपुर्जा खोलेको अवस्थामा भेटिएको प्रवक्ता थापाले बताए । 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १३:४९
प्रतिक्रिया दिनुहोस्