site stats
बाह्रखरी :: Baahrakhari
विशेष
महिला फुटबल टोलीलाई बेवास्ता किन ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण नेपाली खेलकुद लामो समयदेखि ठप्प छ । केही खेलका प्रशिक्षणहरु भए पनि प्रतियोगिता भने सञ्चालनमा आउन सकेका छैनन् । यसैबीच नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लामो समयपछि मैत्रीपूर्ण खेलमा लागि मैदान फर्केको छ ।

नेपाली फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसमा लागि नेपाली टोली बिहीबारदेखि दशरथ रंगशालामा प्रशिक्षण गरिरहेको छ । विश्वकप छनोटका लागि रहेका ३४ खेलाडीलाई नै एन्फाले प्रशिक्षणका लागि बोलाएको हो । हाल खेलाडीहरु कोरोना भाइरससम्बन्धी मापदण्डहरु अपनाएर प्रशिक्षण थालेका छन् । तीमध्ये ५ जनामा भने कोरोना संक्रमण देखिएकाले प्रशिक्षणमा सहभागी छैनन् । उनीहरु करिब आठ महिनापछि प्रतियोगिताका लागि मैदान फर्किएका हुन् ।

यसअघि टोलीले केही दिन एन्फा कम्पलेक्समा प्रशिक्षण गरेको थियो । कोरोना भाइरसको महामारी बढ्दै गएपछि प्रशिक्षण केही दिन रोकिएको थियो । पुरुष फुटबल टोलीले यसरी प्रशिक्षण गरिरहँदा महिला फुटबलबारे भने हालसम्म एन्फाले केही निर्णय गरेको छैन । पुरुष फुटबलका लागि बारम्बार सोच्‍ने एन्फाले महिला खेलाडीको प्रशिक्षण या अन्य कुनै विषयमा निर्णय नगर्दा समस्या भएको एन्फाप्रति महिला फुटबल खेलाडीहरुको दुखेसो छ ।

Argakhachi Cement Island Ad

नेपाली महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीलाई पुरुष फुटबल टोली प्रशिक्षणका लागि फर्कने थाहा पाएपछि नै महिला टोलीका लागि पनि एन्फाले केही निर्णय गर्छ भन्ने आशा थियो । तर त्यसो हुन सकेन । लामो समय घरमा बसेका महिला फुटबल टोलीका खेलाडीले पनि मैदान फर्कने आशा निराशामा बदलिएको छ । नत एन्फाले महिला टोलीलाई मैदान फर्कने विषयमा हालसम्म कुनै निर्णय गरेको छ । नत तयारी नै ।

पुरुष टिमको मैत्रीपूर्ण खेलका लागि प्रयास गर्ने एन्फाले महिला टोलीको मैत्रीपूर्ण खेलमा लागि कुनै प्रयास नगरेको खेलाडीको दुखेसो छ । जसरी पुरुष टोलीको मैत्रीपूर्ण खेल र प्रशिक्षणले आकार लियो त्यसरी नै महिला टोलीले पनि खेल्न पाउने खेलाडीको आशा छ ।

“पुरुष फुटबल टोलीको प्रशिक्षण हुने थाहा पाएपछि हाम्रो विषयमा पनि केही निर्णय होला भन्‍ने आशा थियो । तर हालसम्म कुनै निर्णय भएको छैन । लामो समयदेखि मैदानबाहिर पुरुष टिम मात्र होइन हामी पनि बसेका छौं । फिटनेस र खेलको लय गुमाउनेप्रति हाम्रो पनि चिन्ता छ । लामो समय घरमा बसेका हामी मैदान कहिले फर्कने भन्ने विषयमा सोचिरहेका छौं । तर, एन्फाले हालसम्म कुनै निर्णय गरेको छैन,” सावित्राले बाह्रखरीसँगको कुराकानीमा भनिन् ।

यता एन्फाका प्रवक्ता किरण राईले पुरुष टोलीको मैत्रीपूर्ण खेल भएका कारण प्रशिक्षणमा बोलाउनुपरेको बताए । सरकारले दिएको निर्देशनको पालना गर्दा हालका लागि महिला टोलीको प्रशिक्षणका लागि कुनै किसिमको निर्णय नभएको बताएका छन् ।

“पुरुष टोलीको मैत्रीपूर्ण खेल भएका कारण प्रशिक्षणका लागि बोलाइएको हो । महिला टोलीको प्रशिक्षणका लागि भने हालसम्म कुनै निर्णय हुन सकेको छैन । बढ्दै गएको कोरोना भाइरसको महामारीले पनि तत्काल कुनै किसिमको प्रशिक्षण गर्न सकिने अवस्था छैन,” प्रवक्ता राइले बाह्रखरीसँग भने । 

-फाइल तस्बिर

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १४:०५
प्रतिक्रिया दिनुहोस्