काठमाडौं । एन्जिला तुम्बापो सुब्बा नेपाली महिला फुटबल पछ्याउनेहरुका लागि यो नौलो नाम होइन । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला पछिल्लो समय नेपाली महिला फुटबलमा बेग्लै पहिचान बनाउन सफल छिन् । उनले प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा नौलो छाप छाडेकी छन् । एन्जिलाले नेपाली फुटबलमा जे जति दिइन् उनलाई यो सुरुवात मात्र हो भन्ने लागेको छ ।
नेपाली फुटबलमा आफूले पाएको उपलब्धिले एन्जिलालाई हालसम्म खुसी मिलेको भने छैन । आफ्नो फुटबल करियरमा अझै धेरै उपलब्धि हासिल गर्ने उनको योजना छ । उनको योजना नेपाललाई साफ च्याम्पियनसिपको उपाधि दिलाउनु हो । सन् २०१९ मा नेपालमा सम्पन्न साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी एन्जिलाले देशका लागि उपाधिसँगै झण्डा फहराउन नसकेकामा दु:ख लागेको बताउँछिन् ।
नेपाल साफ इतिहासमा भारतसँग पाँचपटक पराजित भएको छ । लामो समयदेखि नेपाली महिला फुटबल टोली साफ फुटबलको उपाधिको पर्खाइमा छ । नेपाली खेलाडीहरुको पनि लक्ष्य देशलाई साफको उपाधि दिलाउन रहेको छ । जसमा एन्जिला पनि एक हुन् ।
“फुटबल जीवनको सुरुदेखि नै देशका लागि केही गर्नुपर्छ भन्ने लक्ष्य मेरो मनमा थियो । राष्ट्रिय टोलीमा परेपछि धेरै कुरा सिक्ने अवसर पाएँ । त्यसपछि मेरो फुटबल जीवनको नयाँ यात्रा सुरु भयो । एक नयाँ लक्ष्य पनि बन्यो । देशका लागि साफ फुटलबमा उपाधि दिलाउने जोस मनमा छ । त्यसका लागि मलगायत सबै खेलाडीले मिहिनेत गरेका छौं । साफमा सफलता मिल्यो भने फुटबल जीवनले सफलता पाउनेछ,” उनले बाह्रखरीसँग भनिन् ।
१३ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी एन्जिलाले एएफसी साफ यू-१४ को खेलबाट उत्कृष्ट प्रदर्शन गर्न सफल थिइन् । एन्जिलाले धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा भएको प्रर्दशनबाटै विभागीय टिम एपीएफमा स्थान बनाउन सफल भएकी थिइन् । भारतको सिलिगुडीमा भएको सागबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी एन्जिलाले हालसम्म राष्ट्रिय टोलीका लागि निकै उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । पाँचौं संस्करणको साफ च्याम्पियनसिपका समूह चरणका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्न सफल एन्जिलाले फाइनल खेलमा पनि उत्कृष्ट प्रदर्शन गरिन् ।
घरेलु मैदानमै सम्पन्न साफमा नेपाली टोलीलाई उपाधि जित्दै नयाँ इतिहास रच्ने मौका थियो । हालसम्म साफ इतिहासमा भारत पाँचपटक च्याम्पियन भएको छ । नेपाल भने चारपटक फाइनलमा पुगेर भारतसँग पराजित भएको छ । अन्तिमपटक पाँचौं संस्करणको फाइनल खेलमा पनि भारतसँग नेपाल ३-१ गोलले पराजित भएको थियो । घरेलु मैदानमै पराजित हुनु पर्दा साफ फुटबलमा आफ्नो नयाँ इतिहास रच्ने मौकाबाट भने नेपाली खेलाडी चुक्नुपर्यो ।
“योसँगै लामो समयदेखि घरेलु मैदानमा भारतलाई हराउँदै साफ च्याम्पियनसिपको उपाधि पाउने हाम्रो सपना अधुरो भयो । फेरि पनि फाइनल खेलमा भारतलाई उपाधि सुम्पनु पर्दा नरमाइलो भयो,” उनी भन्छिन्, “यसअघि नै तीनपटक उपाधि सुम्पिँदाको पीडा घरेलु मैदानमा भारतलाई पराजित गर्दै खुसीमा बदल्ने योजना चकनाचुर भयो । अब आउने मौकामा पछि नपर्ने मेरो अनि पूरै टोलीको योजना छ ।”
साफ च्यम्पियनसिपको समूह चरणका खेलहरुदेखि उत्कृष्ट प्रदर्शन गरेकी एन्जिलाले भारतविरुद्धको फाइनल खेलमा पनि आफ्नो प्रदर्शनलाई कायम राखेकी थिइन् । दुर्भाग्यवश उनले नेपाललाई उपाधि भने दिलाउन सकिनन्, पहिलोपटक घरेलु मैदानमा साफ फुटबलको फाइनलमा खेल्न पाएकी एन्जिलासँग देशलाई नयाँ इतिहास रचाउने मात्र होइन देशका लागि केही नयाँ गर्ने जिम्मेवारी थियो । त्यसबाट आफू चुकेकोमा उनको थकथकी अझै कायमै छ ।
“पहिलोपटक घरेलु मैदनमा साफ च्याम्पियनसिप खेलेको थिएँ, घरेलु मैदान अनि हजारौं घरेलु समर्थक मेरो लागि पहिलो अनुभव थियो,” उनले भनिन्, “राष्ट्रिय टोलीको सदस्य भएदेखिको पहिलो सपना थियो नेपाललाई साफ च्याम्पियन बनाउने । झनै घरेलु मैदानमा प्रतियोगिता हुँदा ठूलो आशा जागेको थियो । तर, सकिनँ ।”