site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य निर्देशनालयले सच्यायो कोरोना संक्रमितको तथ्यांक

जनकपुर । प्रदेश २ सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले शनिबार संक्रमित भएको भनिएको तथ्यांक सच्याएको छ । 

शनिबार एकैदिन बर्दिबास नगरपालिकामा ११३ जना संक्रमित थपिएको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको थियो । उक्त विज्ञप्तीमा उल्लेख गरिएको तथ्यांकलाई बर्दिबास प्रयोगशालाबाट प्रमाणित गरेपछि गलत तथ्यांक सार्वजनिक गरिएको भन्दै बाह्रखरीले समाचार सम्प्रेषण गरेपछि निर्देशनालयले अर्को विज्ञप्ती मार्फत तथ्यांक सच्याएको हो ।
 
गलत तथ्यांकसम्बन्धी समाचार आइसकेपछि निर्देशनालयका सूचना व्यवस्थापक प्रकाश शर्माले अर्को विज्ञप्ती जारी गर्दै बर्दिबास प्रयोगशालाबाट प्राप्त पुरानो तथ्यांक त्रुटिवश एकैदिनको भनेर सार्वजनिक हुन पुगेको प्रष्ट्याएका छन् । 

Argakhachi Cement Island Ad

“बर्दिबास प्रयोगशालाबाट हिजो (शुक्रबार) असोज २ गतेदेखि महिनाभरको तथ्यांक एकैदिन प्राप्त भएको थियो । उक्त तथ्यांकलाई एकै दिनको भनेर सार्वजनिक हुन पुगेकोमा सच्याएर पुरानो तथ्यांकसमेत समावेश हुन पुगेको जानकारी गराउन चाहन्छौं” शर्माले जारी गरेको अर्को विज्ञप्तीमा उल्लेख गरिएको छ । 

कोरोना संक्रमितको तथ्यांक फरक ! 

प्रदेश २ मा शनिबारसम्म १४ हजार ८ सय ४७ जना संक्रमित भएका छन् । ती मध्ये १ सय ६० जनाको मृत्यु भएको छ भने १२ हजार ७ सय ९४ जना कोरोनामुक्त भइसकेका छन् । १ हजार ८ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् । 

सक्रिय संक्रमितहरु प्रदेशका विभिन्न जिल्लासँगै केही राजधानी लगायत देशका अन्य अस्पताल र केही होम आइसोलेशनमा बसेर उपचार गराइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका उप निर्देशक विजय कुमार झाले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  २०:०६
प्रतिक्रिया दिनुहोस्