site stats
बाह्रखरी :: Baahrakhari
देश
कोरोना संक्रमितको तथ्यांक फरक ! 

जनकपुर । सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले शनिबार प्रदेश २ का विभिन्न जिल्लामा दुई सय २७ जना नयाँ संक्रमित थपिएको तथ्यांक विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । 

उक्त विज्ञप्तिअनुसार बर्दिबासमा एक सय १३ जनासमेत महोत्तरीमा एक सय २५ जना संक्रमित थपिएका छन् । 

Argakhachi Cement Island Ad

बर्दिबासस्थित सशस्त्र प्रहरीको गणमा पाँच जना, बर्दिबास अस्पतालमा दुई्जना, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा एकजना र लक्ष्मी बैंकको बर्दिबास शाखामा एक जना र बर्दिबास नगरपालिकाको वडा नम्बर १ देखि १४ सम्म एक सय चार जना संक्रमित थपिएको विज्ञप्तिमा उल्लेख छ । 
बर्दिबासका स्वास्थ्य संयोजक रामबाबु यादवले भने शनिबार बर्दिबासमा सातजना मात्र संक्रमित पुष्टि भएको दाबी गरेका छन् । 

“प्रदेशको निर्देशनालयले कहाँबाट कसरी आजको मितिमा बर्दिबासमा एक सय १३ जना संक्रमित भएको तथ्यांक सार्वजनिक गर्‍यो, मलाई थाहा भएन,” यादवले बाह्रखरीसँग भने, “मसँग भएको तथ्यांकअनुसार हिजो (शुक्रबार) अपरान्हदेखि आज (शनिबार) अपरान्हसम्म जम्मा सातजना संक्रमित थप भएका छन् ।” मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयका उपनिर्देशिक विजयकुमार झाले निर्देशनालयबाट जारी गरिएको विज्ञप्तिमा बर्दिबासमा अहिलेसम्म संक्रमित भएका व्यक्तिहरुको तथ्यांक एकैपटक समेटिएको हुन सक्ने अनुमान गरे । 

विज्ञप्तिमा भने कात्तिक १ गतेको तथ्यांक भनेर बर्दिबासमा ११३ समेत महोत्तरीमा १२५ जना नयाँ संक्रमित थपिएको स्पष्ट उल्लेख गरेको छ ।  शनिबार धनुषामा १८ जना, सिरहामा सातजना, बारामा १२ जना, पर्सामा २२ जना, सर्लाहीमा १२ जना, रौतहटमा १० जना, सप्तरीमा १० जना र जिल्ला यकिन हुन नसकेको अन्य ११ जना संक्रमित थपिएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

शनिबार सप्तरीको तिरहुत गाउँपालिका –३ घर भई चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका ५० वर्षीय एक जना पुरुषको कोरोनाको कारण मृत्यु भएको विज्ञप्ती मार्फत जनाइएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १८:४३
प्रतिक्रिया दिनुहोस्