site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
धुन

कर्मसही घर्ती मगर


बिहानीपखको अर्धनिद्रित कानमा सिँगारु गीतको धुन बजिरह्यो । जसमा बसबहादुर पुनले गाउँदै गरेको सुनियो । मादलको मधुर आवाज घन्किरह्यो । मादललाई डुँडी, झ्यालीले साथ दिइरहेको थियो । आनन्दमय छाएको थियो एकतमास मनमा । एकछिनमा म चेतन मनमा फर्किएँ । सुमधुर धुनले मेरा अर्धनिद्रित नयनको ढकनी उघारिए । नभन्दै श्रीमती मायाले सिँगारु गीतको भिजुअल हेर्दै रहिछिन् । उनले पालैपालो पैसेरु, डिग्रे, गरुवा, नाली ला र झ्होलाका भिजुअल हेरिन् । मैले पनि उनीसँगै केही क्षण हेरेँ ।

कला संस्कृतिबारे केही लेखुँला भनेर नै मैले यी भिजुअल जोगाएर राखेको थिएँ । ‘आफ्नो संस्कृति’ शीर्षकमा करिब एक वर्षपहिला मैले फेसबुक वालमा टाँसेको कविता सहर्ष याद आयो–
औंला सास मिलेर बज्छ सजिलै यो बाँसुरीको धुन
डिग्रेमा अझ जम्छ मादल सदा घिन्ताङ ताताघिन
गोलाकार भएर ताल लयमा नाच्छन् सबै साथमै
आफ्नो संस्कृति छोड्नु हुन्न कहिल्यै वाचा गरौं आज नै ।।

Argakhachi Cement Island Ad

खुट्टा कम्मर हात चाल सबको तादात्म्य राम्रो भए
राम्रो हुन्छ मयूर नृत्य सहसा लठ्ठी नचाई दिए
आफ्नै ताल विधान हुन्छ गरुवा अर्को मीठो नाम है !
आफ्नो संस्कृति छोड्नु हुन्न कहिल्यै वाचा गरौं आज नै ।।

यौटाले लय हाल्छ गाउँछ जसै भाका मिलाई जब
सारा कोरश गाउँछन् मृदुलता घन्किन्छ गाना तब
चाल्छन् हात र पाउ ताल लयमा झ्होला खुबै जम्छ है
आफ्नो संस्कृति छोड्नु हुन्न कहिल्यै वाचा गरौं आज नै ।।

यो प्रख्यात सिँगारु नृत्य सबको आजन्म प्यारो भयो !
जोगी खप्पर साथ आज सजियो लौ हास्यको रास भो
डुँडी मादल बज्छ ताङ घिनताङ मीठो छ गाना अझै
आफ्नो संस्कृति छोड्नु हुन्न कहिल्यै वाचा गरौं आज नै ।।

सालम्बो अनि झ्याउरे अझ कहीँ टप्पा र ख्याली पनि
सालैजो अनि देउडा अझ कहीँ तामाङ सेलो छ नि
आफ्नै नाच बगानमा फनफनी प्यारो उभौली छ है
आफ्नो संस्कृति छोड्नु हुन्न कहिल्यै वाचा गरौं आज नै ।।

(शार्दूलविक्रीडित)

आफ्ना राम्रा संस्कृतिको सदा जगेर्ना गर्नुपर्ने कुरामा म अडिग छु । एकैछिन यादहरूको संग्रहालयबाट म बाहिर निस्किएँ ।

बिहानको ५ः१५ भएको थियो । म बाहिर निस्किएँ । केही हुस्सुका टुक्रा सल्बलाएजस्तो देखियो अँधेरोमा । नभन्दै बिहानीपख चट्याङका साथ पानी बर्सियो । वर्षायाम बाँकी नै थियो । 

मेरो बानी बिग्रिसकेको थियो लेखनीमा । तैपनि लेख्नुपर्ने विषयवस्तु मनग्ये थिए । कहिलेकाहीँ अल्छी लाग्नु अस्वभाविक होइन । परन्तु यसपालि धेरै नै अल्छी लाग्यो । कुन विषयवस्तुमा पोखिने भन्ने चञ्चलताले मन निमोठ्यो । चञ्चल मन चारतिर दौडियो । मन एकाग्र हुनै सकिरहेको थिएन । 

महान् साहित्यकारलेजस्तो महान् साहित्य लेख्न पक्कै कठिन छ परन्तु सौखिन लेखकले जसरी लापर्बाह तरिकाले लेख्नु पनि शोभनीय हुन्न । किनकि लेख्नु सामान्य कुरा होइन । सौखले लेख्नु र आवश्यकतामा पोखिनु फरक हुँदोरहेछ । मलाई यस्तै लाग्छ । मेरो निम्छरो अनुभवले यही भन्छ । 

२०४८ सालतिरको सायरी लेखन र २०५२ सालतिरको कविता लेखनी मेरा सौखिनकालका नमुना थिए । ती सिकारु युगका पहिला पाइला थिए । म त्यही सिकारु युगमै रमाउँथेँ पनि । लेख्दै जाँदा सौखिन युगको समाप्ति हुन लाग्यो । त्यसपछिको लेखनी आवश्यकताले भरिएको हुन्थ्यो । परन्तु सौखिन लेखनी अद्यापि कायमै छ । 

पछिल्लो चरणमा कोरोना कहरको उद्गम चरणको बेला काठमाडांैंमा लकडाउनमा फँसे पनि लेखनी भने केही साता जमेकै थियो । चियालय किताबको तयारीमा लागेदेखिन् फेरि लेखनी सुस्ताएको पक्का हो । 

काठमाडांैंदेखि जब म मैकोट फर्केँ तब ’ताजगीपन’ शीर्षकमा एउटा नियात्रा लेखिएको हो । जुन नियात्रा २०७७ साउन २४ गते शनिबार बिहानको ९ः४९ मिनेट जाँदा १२खरी अनलाइनमा प्रकाशित भयो । त्यसपछिका मेरा दिन चियालय नियात्रा र निबन्धको वितरणमा खर्चिइए । 

भदौको अन्तिम साता बसबहादुर पुन एक साँझ मेरो कुटीमा सवारी भए । उनी आउनासाथ मेरो मनमा लोक धुन गुन्जियो । उनी हाल मैकोटका लोक संस्कृतिका गुरुबा हुन् । उनले मलाई काल्दुङ्गमा जम्मा हुन लागेका लोकसंस्कृतिका धरोहरहरूको अनौपचारिक भेटघाटमा मौखिक निमन्त्रणा गरे । मैले उनको अनौपचारिक निमन्त्रणालाई सहर्ष स्वीकार गरेँ ।

तेर्सो बाटो हुँदै धर्मशालाको पुरानो स्कुलको मैदान हुँदै पौने ६ बजे म काल्दुङ गएँ । कोही थिएनन् । साँझको सवा ६ बजेतिर बसबहादुर पुन र सोमबारे पुन आए । कोही जम्मा नभएको देखेर बसबहादुर पुन जंगिए । एकछिन पछि पल्लो घरबाट धारागाउँका कर्मराज पुन आए । उनले तुल पुन र आफू उतापट्टि रहेको बताए । जित पुन सबैलाई ५ बजेदेखि पौने ६ बजेसम्म पर्खिएर घर हिँडेछन् । म उनलाई बोलाउन गएँ । तेर्सो बाटो तर घुम्ती र खोल्सी पार गर्दै जित पुनको घर गएँ । उनी कान्छी छोरीसँग रहेछन् । श्रीमती र कान्छा छोरा जडीबुटीका लागि बुकी गएका रहेछन् । जेठा छोरा बाटो खन्न दुले गएदेखि आफू बाबुछोरी मात्र घरमा रहेको उनले बताए । उनी अनौपचारिक भेटमा साँझ उपस्थित हुन नसक्ने बताएपछि म काल्दुङ फर्केँ । त्यही कुरा त्यहाँ राखेँ । त्यहाँ बसबहादुर, सोमबारे, तुल, कर्मराज र पुनिराज पुन जम्मा थिए । 

कुरा बुझ्दै जाँदा उनीहरूले लोकसंस्कृतिमार्फत जीवनभर योगदान गरे पनि, गाउँको नाम उँचो राखे पनि र लोकसंस्कृतिको बचाउ गरे पनि कहीँ कतैबाट यसको मूल्याङ्कन नभएकामा दुखेसो पोखे । उनीहरूको आशय थियो– हाम्रो योगदानको लाइक गरियोस् । हाम्रा गुम्सिएका पीडाहरूको यथोचित सब्स्क्राइब गरियोस् । सबैलाई सेयर गरियोस् ! लोकको सामुन्ने हामीले जगेर्ना गरेको लोकसंस्कृतिको भरपुर उपयोगिताको महसुस होओस् !

मैले उनीहरूको मनमा लोकसंस्कृतिप्रतिको गहिरो चिन्ताग्नि दन्किएको महसुस गरेँ । सोचेँ, अब म कमसेकम यिनीहरूलाई साथ समर्थन गर्नुपर्छ । म आफैं पनि विगत केही वर्षदेखि यसबारे कलम चलाउन तम्सिएको हुँ । परन्तु यसबारेको लेखनी कसरी सुरुवात गर्ने मेलोमेसोको खोजीमा मेरा केही थान आयु अनाहकमा सकिए । 

रात बिते पनि संस्कृतिकर्मीहरूको गरमागरम ताजा थियो । उनीहरूको मुख्य ध्येय भन्नु पनि आफ्नो संस्कृति संरक्षणबारे केही महत्त्वपूर्ण कुराहरू लिपिबद्ध गरिनु थियो । आफ्नो समूहको वाद्ययन्त्र खरिददेखि व्यवस्थापनसम्मका कुरा गरे ।

लोकसंस्कृतिको कुरा गर्दा मैले यसैसँग मेल खाने नेपालका लोक धुनहरूको सम्मानमा ‘लोक धुन’ शीर्षकमा एउटा कविता शार्दूलविक्रीडित छन्दमा लेखेको सम्झिएँ–
नेपाली समुदायका विविध छन् बाजा बजानाहरू
थुप्रै जात र जाति माझ अझ छन् आफ्नै चिनारीहरू
यी लोकप्रिय वाद्यवादन सबै प्रख्यात छन् गाउँमा
हाम्रो संस्कृति बज्छ लोक धुनमा प्यारो छ यो देशमा ।।

मुर्चुङ्गा, सनई, धिमे, नरसिँगे, कर्नाल, टुङ्ना, जुरी
सारङ्गी, मुरली, मृदंग, पिपिरी, वीणा, झुली, ढोलकी 
झ्याली, मादल, खैंजडी र तबला, डम्फू, बिनायो अनि
हाम्रो संस्कृति बज्छ लोक धुनमा टाम्के, दमाहा पनि ।।

ढ्याङ्ग्रो, बालुन, बाँसुरी, विन, डुँडी, पैंता, मुहाली, नकु
कान्ता, च्याब्रुङ, जाँघिया, पुङ, दुमा, झाँझू, तिरीयो, वभू
घोटो, मेदिन, प्रेमताल, मनरा, फाक्वा, थनौरो अनि
हाम्रो संस्कृति बज्छ लोक धुनमा रासा, तमौरा पनि ।।

कौरा, फामुक, दोदरा, डुगडुगी, ढुल्की, गलम्वे, धनु
लावा, भोंक्कर, तिन्छु, च्योदर, छुस्या, घप्राङ, कार्खा, पुङ
गोल्की, चालिङ, खन्दुली, दुपडिया, घण्टी, खवाडी अनि
हाम्रो संस्कृति बज्छ लोक धुनमा पुङ्गी सपोक्सा पनि ।।

मौरी, काङ्लिङ, डोङमेन, पिउँरा, काहाल, ह्याल्मो, डिगा
अर्बाजो, वमचा, पिवाङ, ढलकी, पोङ्गा, मुस्याहा, घडा
फेन्जे, झाइल, सोरठी, डमरु या डौंरी र झर्की अनि
हाम्रो संस्कृति बज्छ लोक धुनमा हो एकतारे पनि ।।

रात अँध्यारिँदै गयो । कुरा लम्बेतान भयो । उनीहरूलाई मेरो जतिसक्दो साथ रहनेछ भनेर बिदा लिएँ । 

घरमा जहानबच्चा खाना खाएर ओछ्यानमा पल्टिएका थिए । मेरो खाना चुलो छेउमा राखिए पनि हल्का चिसो भएछ । चिसो न चिसो खाना खाएँ । 

भोलिपल्ट साँझ म बसबहादुरको घर गएँ । उनी मसँग बिहान भेट्न आउने कुरा गरे ।

बिहान भेट्न आउँछु भनेका बसबहादुर पाँच दिन बित्यो, आएनन् । 

एक साँझ वडा कार्यालयबाट घर फर्किने क्रममा पुनिराज पुनको घर पसेँ । पुनिराजले जसरी भए पनि लोकसंस्कृतिबारे कलम चलाउन भने । उनले बसबहादुर बिमारी भएको जानकारी गराए । हामी दुई बसबहादुरलाई भेट्न जाने भयौं । दिनभर मसँग रहेका छोरा क्रिस्टल पनि सँगै गए । 

भर्याङ उक्लिएर माथि गयौँ । बसबहादुरका जेठा छोरा बिर्जमान बीचको कोठामा पकाउनमा व्यस्त थिए । हामी बसबहादुरको घरभित्र छिर्यौं । उनी भित्री कोठाको आफ्नै ओछ्यानमा उत्तानो परेर टोलाउँदै गरेका भेटिए । 

थोरै बिमारको कुरा भए । उनले बिमार भएर आउन नसकेको जानकारी दिए । त्यो साँझको निचोडअनुसार मैले असोज १ गतेदेखि लेख्न शुरु गर्नुपर्ने भयो । 

२०७७ असोज १ गते बिहानको ६ः४३ बजे म बसबहादुरको घर छिरेँ । बिर्जमानलाई पनि यस्तो लेखिँदै छ भनेर जानकारी गराइयो । वडा–सदस्य मगबहादुर कामीलाई बोलाउन मन लाग्यो । आफैं गएर बोलाई ल्याएँ । 

हामी बसबहादुरको घरमा चारजना बस्यौं । मगबहादुरले रक्सी मगाए । रक्सी तीनजनाले बाँडेर पिए । मैले ब्ल्याक कफी पिएँ । 
यो लेखनीसम्बन्धी मगबहादुरलाई जानकारी गराइयो । कुरैकुरामा उनले जनजातिका लागि छुट्याइएको दाँप्लाप गोरेटो बाटो लोक संस्कृतिकर्मीहरूले नै खन्नू, मेरो तर्फबाट ग्यारेन्टी भयो भने । लोकसंस्कृतिकर्मीमा केही नयाँ आशाको सञ्चार भयो । 

‘तपाईं निर्धक्कसाथ लेख्नू काका !’ वडा–सदस्य मगबहादुरले मतिर फर्केर भने । 

लोकसंस्कृतिको पुस्तान्तरण हुन नसक्दा भोलिका दिनमा यो लोप हुने उनीहरूको ठम्याई थियो । वडा–सदस्य मगबहादुर कामीको वचनमा मुग्ध त्यहाँ उपस्थित संस्कृतिकर्मीमा केही आशाको धुन बज्यो । 
असोज २ गते बिहान वडा–प्रतिनिधि मगबहादुर कामी, बमबहादुर शाहीको पसलबाट निस्कने क्रममा मसँग भेटिए । 

‘हिजो बिहान तपाईंहरूसँग गरेको वाचाप्रति म क्षमाप्रार्थी छु काका !’ मगबहादुरले भने ।
‘किन के भयो ?’ मैले सोधेँ ।

‘त्यो जुन जनजाति दाँप्लाप घोडेटो बाटो कान्छाबारा टोलले खन्ने माग रहेछ ।’ उनले भने– ‘बरु संस्कृतिकर्मीलाई अर्कै राम्रो बजेट दिने सल्लाह कावा अध्यक्ष नन्दजित पुनसँग सल्लाह भएको छ ।’
मैले वडाको बजेट सिलिङ खिचेको थिएँ । बाटैमा हेर्न थाल्यौँ ।

‘जोर्बेँ संरक्षणमा दुई लाख रहेछ ।’ मैले भनेँ ।
‘हो, त्यही गर्न पठाउँला काका !’ उनले हिजोको आश्वासन बदर गरेर भने ।

साँझ म बसबहादुरको घरमा पुनिराजलाई लिएर गएँ । बसबहादुर र उनका जेठा छोरा बिर्जमान पुनलाई मगबहादुरले भनेको कुरा सबिस्तार भनेँ ।
‘हामीलाई आश्वासन मात्र नदेऊन् !’ सबै क्रोधित थिए । लाग्यो, सबैको मनमा बेसुर बेसुरको धुन बजिरहेको छ ।

‘तथापि हामी केही गर्नेछौँ । प्रतिनिधिहरूको भर नभए पनि...!’ उनी हल्का जङ्गिए ।
 

प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  ०८:४९
प्रतिक्रिया दिनुहोस्