काठमाडौं । त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा आइतबारबाट ब्याडमिन्टनको प्रशिक्षण सुरु भयो । कोरोना भाइरसका कारण साउन अन्तिम साताबाट स्थगित भएको प्रशिक्षण पुनः सञ्चालनमा आएको हो । लामो समयपछि प्रशिक्षणमा फर्केका खेलाडी अभ्यासमा फर्किन पाउँदा उत्साही छन् । तर, खेलाडीलाई आफ्नो पुरानो लयमा कहिले फर्कने भन्ने प्रश्न आइरहेकै छ ।
पछिल्लो पाँच दिनको प्रशिक्षणमा खेलाडीहरुले फिजिकल फिटनेसलाई मात्र ध्यान दिएका छन् । अन्तर्राष्ट्रिय क्यालेन्डर नआएको समयमा खेलाडीलाई अहिले केही सहज छ । तर, पनि खेलाडीहरु फिजिकल रुपमा पूर्ण तयार भएका छैनन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा प्रशिक्षण गरिरहेकी रशिला महर्जनलाई आफू कहिले पुरानो लय (फर्म) मा आउने भन्ने चिन्ता छ । लामो समय कोर्टबाहिर बसेकी उनी पुनः प्रशिक्षणमा फर्कंदा जति खुसी छन् त्यतिकै चुनौती पुरानो लयमा फर्कन छ ।
उनीसँगै प्रशिक्षण गरिरहेका अरु खेलाडीहरुलाई पनि पुरानो फर्ममा कसरी फर्कने भन्ने चिन्ता छ । खेलको प्राविधिक कुरामा फममा फर्कन सहज हुने भए पनि फिजिकल रुपमा पूर्ण तयार हुन समय लाग्छ । लकडाउनताका सामान्य रुपमा सेल्फ प्रशिक्षण गरेका खेलाडीका लागि भने अहिले केही चुनौती छ । लामो समय घरमा गरेको प्रशिक्षणले उनीहरुलाई खेलमा फर्कन उपयुक्त छैन । त्यसैले प्रशिक्षकसहितको अफिसियल प्रशिक्षणको ढाँचामा आउन केही समय लाग्नेछ ।
“लामो समय घरमा बस्यौं । त्यसपछि प्रशिक्षणमा फर्कंदा केही असहज हुने रहेछ । प्रशिक्षणमा हुँदा प्राविधिक कुरामा राम्रो ज्ञान भए पनि त्यसलाई फिजिकल रुपमा बलियो हुँदै पुरानो ढाँचामा ल्याउन भने केही समय लाग्नेछ । म अहिले नै प्रतियोगिताका लागि तयारी छैन,’’ महर्जनले बाह्रखरीसँग भनिन्, ‘‘यदि म पुरानै फर्ममा आउनुपरे समय भने लाग्नेछ । हामीलाई पुरानो ढाँचामा ल्याउन प्रशिक्षकहरु पूर्ण रुपमा लागि पर्नुभएको छ ।”
खेलाडीहरुलाई अहिले कोरियन प्रशिक्षक चोई सिउन कुकले प्रशिक्षण दिइरहेका छन् । उनीसँगै नेपालका मुख्य प्रशिक्षक सुदीप योन्जन पनि प्रशिक्षणमा व्यस्त छन् । राखेपको कभर्डहलमा भइरहेको प्रशिक्षणमा भने अहिले सिनियर खेलडीहरु उपस्थित छैनन् । अहिले १०/१२ जना खेलाडीले मात्र प्रशिक्षण गरिरहेका छन् । सबैलाई छिटै प्रशिक्षणमा फर्काएर पुरानो लयमा फर्काउने योजना प्रशिक्षक चोईको छ । उनीसँगै प्रशिक्षण गराइरहेका सुदीप पनि खेलाडीको फिजिकल फिटनेसका विषयमा चिन्तन गरिरहेका छन् ।
पहिलो दिन त खेलाडीहरुले प्रशिक्षकलाई आफूहरु धेरै प्रशिक्षण गर्न सक्ने अवस्थामा नरहेको गुनासो पनि गरे । खेलाडीको प्राविधिक ज्ञानको विषयमा भने सुदीपलाई त्यति धेरै चिन्ता छैन जति उनीहरुलाई शारीरिक रुपमा बलियो बनाउने विषयमा छ । त्यसैले उनीसँगै प्रशिक्षक चोईले पनि खेलाडीको फिजिकल फिटनेसमा ध्यान दिइरहेका छन् ।
“खेलाडीहरु फिजिकल रुपमा धेरै कमजोर भएका छन् । उनीहरु पुरानो लयमा आउन कम्तिमा दुई महिनाजति लाग्छ । जति सक्यो हामी खेलाडीलाई फिजिकल रुपमा पनि बलियो बनाउने प्रयास गर्छौं । त्यसका लागि अहिले खेलाडीको प्राविधिक कुराभन्दा पनि फिजिकल कुरामा धेरै जोड दिइरहेका छौं । खेलाडीका लागि पनि अहिलेको मुख्य आवश्यक कुरा भनेको नै त्यही छ । जबसम्म खेलाडी फिजिकल रुपमा बलियो हुँदैनन् त्यो बेलासम्म अन्य कुरा सिक्न पनि समस्या हुन्छ,” सुदीपले बाह्रखरीसँग भने ।
भौतिक दूरी कायम गरेजस्तै हुने ब्याटमिन्टनको प्रतियोगिता सुरु गर्दा खेलाडीलाई सहज हुने प्रशिक्षक सुदीप बताउँछन् । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्यालेन्डर नआएकाले घरेलु प्रतियोगिता गर्दा खेलाडी मनोबल भने बढ्ने उनको बुझाइ छ । कोरोना भाइरसबाट ठप्प भएको नेपालको खेलकुद अझै चलायमान हुन सकेको छैन ।
ब्याटमिन्टनजस्तै अन्य खेलका खेलाडी पनि पुरानो लय खस्कने चिन्तामा छन् । कोरोनाका कारण राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीहरुलाई मैदान फर्कने वातावरण मिलाउने बताएको छ । स्वास्थ मापडण्ड अपनाउँदै ब्याटमिन्टनको प्रशिक्षण सुरु भए पनि हाल अन्य खेलको प्रशिक्षण सुरु भएको छैन । फुटबल पनि सरकारको अनुमतिको पर्खाइमा छ । सरकारले अनुमति दिए अन्य खेल पनि नियमित हुनेछन् ।