site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवैध आयात नियन्त्रणमा, भन्सार बिन्दुमार्फत् हुने आयात ३ सय प्रतिशतसम्मले वृद्धि

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै भारतीय सीमामा सुरक्षा गतिविधि बढाउँदा अवैधानिक तथा चोरी आयात (पैठारी) नियन्त्रणमा सहयोग पुगेको पाइएको छ । सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने क्रममा भारतसँगको सीमामा अस्थायी सशस्त्र क्याम्प खडा गर्दा भन्सार छली गरी वस्तु आयात हुने क्रम नियन्त्रणमा आएको तथ्यांकले देखाउँछ ।

गत चैतमा सीमामा स्थापना भएका १२ सय अस्थायी सशस्त्र प्रहरी बलको पोस्टले भन्सार छली नियन्त्रण गरेको हो । भन्सार बिन्दुभन्दा टाढा रहेको ती अस्थायी पोस्टले अवैध ओसारप्रसार नियन्त्रण गर्दा साना भन्सारमार्फत् आयात हुने वस्तु ३ गुणासम्मले वृद्धि भएको पाइएको छ । जबकि ठूला भन्सारमार्फत भएको र देशको समग्र आयात नै घटेको  छ ।

चैतमा स्थापना भएका ती पोस्ट हालसम्म पनि कायम छन् । जसको प्रत्यक्ष लाभ राज्यले पाएको भन्सार विभागको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा भारतीय सीमामा रहेका एक दर्जन भन्सारमार्फत् हुने आयात बढेको देखिन्छ । 

भारतीय सीमामा रहेका १२ भन्सार कार्यालयमार्फत् गतवर्षको साउन र भदौको भन्दा बढी आयात भएको हो । जसमध्ये सती र महेशपौर भन्सार कार्यालयमार्फत् भएको आयात गतवर्षको यही अवधीको भन्दा ३ सय प्रतिशत बढी हो ।

कुन सानो भन्सारमार्फत् कति आयात ? गत वर्षभन्दा कति बढी ?

सती भन्सार कार्यालयमार्फत् गत आवको पहिलो २ महिनामा २ करोड ६३ लाख रुपैयाँ बराबरको वस्तु आयात बढेकामा चालु आवको साउन र भदौमा १० करोड ५८ लाख रुपैयाँ (गत आवको भन्दा ३०२ प्रतिशत बढी)को वस्तु आयात भएको छ । यस्तै महेशपौर भन्सार कार्यालयको तथ्यांकले गत आवमा ५ करोड २८ लाखको आयात भएकामा यो वर्ष २१ करोड १८ लाख (गत आवको तुलनामा ३०१ प्रतिशत बढी) आयात भएको छ ।

ठाडीबाट भएको आयात ७ करोड ९ लाख रुपैयाँबाट २५४ प्रतिशतले बढेर २५ करोड ५ लाख पुगेको छ । यस्तै, सुथौलीमार्फत् भएको आयात ४९ करोड ६९ लाखबाट २२० प्रतिशतले बढेर १ अर्ब ५९ करोड १३ लाख पुगेको छ ।

भन्सार विभागका अनुसार सर्लाही भन्सारबाट भएको आयात पनि साढे ९५ प्रतिशतले बढेको छ अर्थात् ५२ करोड ८० लाखबाट १ अर्ब ६७ करोड ६१ लाख पुगेको छ । विभागका अनुसार भद्रपुर भन्सार कार्यालयमार्फत् भएको आयात १३५ प्रतिशत, सिराहाबाट साढे ९५ प्रतिशत, कैलालीबाट ५५ प्रतिशत, गौरबाट साढे ५१ प्रतिशत, नेपालगञ्जबाट १७ प्रतिशत, जनकपुरबाट ४ र कृष्णनगर भन्सार कार्यालयमार्फत् भएको आयात ३ प्रतिशतले बढेको छ ।

यद्यपि केही भन्सार बिन्दुबाट भएको आयात गत वर्षको भन्दा घटेको पनि छ । देशको वैदेशिक व्यापारको तथ्यांकमा समग्र आयात घट्दा केही भन्सार बिन्दुबाट भएको आयात पनि घटेको देखिएको हो । भन्सार विभागका अनुसार साना भन्सारमध्ये राजबिराज, कञ्चनपुर, जलेश्वर, सुनसरी र मेची भन्सार कार्यालयमार्फत् भएको आयात घटेको देखाउँछ ।

के भन्छन् भन्सार विभाग र सशस्त्र प्रहरी बल ?

भन्सार विभागका महानिर्देशक सुमन दाहाल सीमामा सुरक्षाकर्मी बस्दा नेपाल भित्रिने सबै सामान भन्सारमाध्यम हुँदै आएको दाबी गर्छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा सुरक्षा गतिविध बढाउँदा अर्थतन्त्रलाई पनि फाइदा पुगेको उनको जिकिर छ ।

दाहालले भने, “तथ्यांकले खुला सीमानका कारण हुने भन्सार छली तथा अवैधानिक ओसारप्रसार नियन्त्रणमा आएको हो भन्ने अनुमान गर्न मिल्ने देखाउँछ ।”

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्याल राज्यले कोभिड जोखिम कम गर्न सीमानामा आवतजावत कडाइ गरेकामा सीमानाकामा हुने चोरी निकासी, भन्सार छली पनि उल्लेख्य नियन्त्रण भएको बताउँछन् । राज्यको निर्देशनअनुसार सशस्त्र प्रहरी बलले सीमामा अस्थायी उपस्थिति बढाउँदा बलको उपस्थितिले भन्सार बिन्दुबाटै सामान नेपाल भित्र्याउन सहयोग गरेको उनले जिकिर गरे ।

चोरी पैठारी नियन्त्रण भएको छ भने केही सामग्री बरामद पनि गरिएको दाबी गर्दै अर्यालले भने, “पोस्ट जति बढी भयो अर्थात् हाम्रो उपस्थिति जति बढी भयो, त्यति नै बढी वैधानिक बाटोबाट आयात हुने रहेछ भन्ने अनुभव सीमानाकामा उपस्थिति बढाउँदा भयो ।”

नेपाल–भारत १९ सय किलोमिटर सीमामा १ सय ६० बोर्डर आउट पोस्ट छन् भने कोरोना भाइरसको माहामारीका कारण दुवै देशको सीमा सिल भएको अवस्थामा घूसपैठ हुनसक्ने भन्दै लकडाउनको अवधिमा १२ सयको संख्यामा अस्थायी पोस्ट निर्माण गरिएको छ ।

१२ सयको संख्यामा रहेको अस्थायी पोस्ट ५ सयमा झार्ने तयारी सरकारी पक्षबाट भइरहेको छ । यसरी संख्या घटाउँदा अवैध पैठारी फेरी मौलाउने डर सरोकारवालाको छ । 

सीमामा सुरक्षा उपस्थिति बढाउँदा सिमा सुरक्षासँगै अर्थतन्त्रलाई पनि लाभ हुने भन्सार र सशस्त्रका अधिकारीहरूको भनाइ छ र राज्यलाई पनि सोही आवश्यकता छ । भारतसँगको सीमामा सशस्त्रको स्थायी उपस्तथिति अहिले १ सय ६० स्थानमा छ र त्यसलाई चालु आवमा बढाएर २ सय ३० बनाउने योजना सरकारको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro