
काठमाडौं । दसैंको मुखमा आयात करिब एक चौथाइले घटेको छ । चालु आर्थिक वर्षको भदौ महिनामा आयात ९३ अर्ब ४ करोड भएको छ । गत वर्ष सोही अवधिमा १ खर्ब २२ अर्ब ७८ करोडको वस्तु आयात भएको थियो । समीक्षा अवधिमा आयात २४.२२ अर्थात करिब एक चौथाइले घटेको हो ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनामा १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्ष सोही अवधिमा दुई खर्ब २९ अर्ब ५० करोडको सामान आयात भएको थियो । गत वर्षको भदौसम्मको तुलनामा आयात २२.०७ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा निर्यात १०.४८ प्रतिशतले बढेको छ भने भन्सार राजस्व भने २३.९६ प्रतिशतले घटेको विभागको तथ्यांक छ । गत वर्षको भदौसम्म १८ अर्ब ५० करोडको वस्तु निर्यात भएकामा यस वर्षको भदौसम्म बढेर २० अर्ब ४४ करोड पुगेको छ ।
विभागको तथ्यांकअनुसार आयात कम हुँदा भन्सार राजस्व घटेको छ । अघिल्लो वर्ष ६२ अर्ब ९१ करोड भन्सार राजस्व संकलन भएकोमा यस वर्षको भदौसम्म ४७ अर्ब ८४ करोड मात्रै संकलन भएको छ ।
आयातमा कमी तथा निर्यातमा सामान्य वृद्धि आउँदा व्यापार घाटा घटेको छ । समीक्षा अवधिमा गत वर्ष २ खर्ब ११ अर्बको व्यापार घाटा हुँदा चालु वर्षको भदौसम्म १ खर्ब ५८ अर्ब ४० करोडमा झरेको छ । चालु आर्थिक वर्षको दुई महिनामा कुल वैदेशिक व्यापार १ खर्ब ९९ अर्ब २८ करोड भएको छ । गत वर्ष सोही अवधिमा २ खर्ब ४८ अर्ब भएको थियो । -फाइल तस्बिर